घुस दिने शाही विरुद्ध मुद्दा दर्ता

सुर्खेत, २१ असार ।

कोहरपुर बाँकेका कमल बहादुर शाही विरूद्ध अख्तियारले विशेष अदालतमा मुदा दर्ता गरेको छ । तत्कालिन डिभिजन वन कार्यालय सुर्खेतका कार्यालय प्रमुख भक्त बहादुर लामालाई घुस दिएको भन्दै शाही विरुद्ध अख्तियारले मुद्दा दर्ता गरेको हो ।

डिभिजन वन कार्यालय वावियाचौरमा समेत कार्यरत लामा निलम्बित भइसकेका छन् ।
वन अधिकृत लामाले काँठ दाउराको छोड पुर्जीको म्याद थप गरिदिने भन्दै बाँकेका कमल बहादुर शाहीसंग चार लाख घुस मागेका थिए । तर, अख्तियारले घुस दिने शाही विरुद्ध विशेष अदाल काठमाडौंमा मुद्दा दायर ग¥यो ।

घुस खाने लामा निलम्बनमा परिसकेका छन् । तर घुस दिने शाही विरुद्ध अख्तियारले चार लाख विगो दावी गर्दै अदालतमा मुद्दा दर्ता गरेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग सुर्खेतका सुचना अधिकारी मेघनाथ सापकोटाले शाहीले विशेष अदालतमा आफ्नो बयान फेरेपछि छानविन गर्दा दोषी देखिएकाले उनी विरुद्ध मुद्दा दायर गरेको जानकारी दिए । अख्तियारका सुचना अधिकारी सापकोटाका अनुसार शाहीले मुद्दा हारेपछि चार लाख जरिवाना र कैद सजाय हुनेछ ।

शाहीले आफुसँग चार लाख घुस मागेको भन्दै लामाविरुद्ध मुद्दा दर्ता गरेका थिए । लामाले घुस मागेको रिसमा उनलाई फसाउनलाई मुद्दा दर्ता गरेको भन्दै शाहीले अदालतको बयान फेरेका थिए । शाहीको बयान फेरिएपछि अख्तियारले उनको अनुसन्धान गरेको थियो । अनुसन्धानमा शाही दोषी देखिएपछि उनी विरुद्ध यहि असार १६ गते विशेष अदालत काठमाडौंमा मुद्दा दर्ता भएको थियो ।

अख्तियारले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ५५ को प्रतिवन्धात्मक वाक्यांशको आधारमा ऐ.ऐनको दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (घ) अनुसार कैद सजाय हुने मागदाबीसहित शाही विरुद्ध मुद्दा दर्ता गरेको हो ।

तपाईको प्रतिक्रिया