रुकुमपश्चिम, २१ असार ।
रुकुम पश्चिमका किसानलाई अनुदानमा हाते ट्याक्टर वितरण गरिएको छ । परम्परागत कृषि प्रणालीलाई यान्त्रीकरण र व्यवसायीकरण गर्ने उद्देश्यले कृषि विकास कार्यालयले हाते ट्याक्टर वितरण गरेको हो ।
प्रधानमन्त्री कृषि आधुनिकिकरण कार्यक्रम अन्तर्गत उपलब्ध बजेट र किसानको मागका आधारमा जिल्लाका विभिन्न व्यक्ति, समूह, फर्म र सहकारीलाई अनुदानमा हाते ट्याक्टर वितरण गरिएको कृषि विकास कार्यालयका निमित्त प्रमुख राजेश शाहले बताए ।
उनका अनुसार आर्थिक वर्ष २०७६÷७७ को यान्त्रीकरण वितरण कार्यविधिअनुसार पकेट तथा ब्लक कार्यक्रममा आएको बजेटले २ ९ वटा हाते ट्याक्टर वितरण गरिएको छ । यसका लागि व्यक्ति तथा फर्मलाई ५०, समूहलाई ६० र सहकारीलाई ७० प्रतिशतमा अनुदान दिइएको शाहको भनाइ छ ।
यससँगै कार्यालयमार्फत यस आर्थिक वर्षभर विभिन्न व्यक्ति तथा संस्थालाई ६८ वटा हाते ट्याक्टर वितरण भएका छन् । हाते ट्याक्टरमार्फत कृषि कर्ममा लागेका किसानलाई आधुनिक कृषि प्रणालीसंग जोड्न सजिलो हुने र खेत तथा पाखोबारीमा पनि सजिलै प्रयोग गर्न सकिने बताइएको छ । पछिल्लो समय गाउँघरमा भएका युवा समेत विदेश पलायन हुने समस्याले कृषि यान्त्रीकरणका लागि हाते ट्याक्टर नै उपयुक्त हुने बताइएको छ ।
युग संवाददाता । । २१ असार २०७७, आईतवार ०८:५३