सुर्खेत, २० असार ।
जिल्लाको निर्वाचन क्षेत्र नम्बर १ र २ मा सांसद विकास कोषको एक करोड ६० लाख रकम कृषि तथा पशुपालनमा खर्च गरिएको छ ।
निर्वाचन क्षेत्र नम्बर १ मा कर्णाली प्रदेशसभा सदस्यहरु ठम्मर बिष्ट, अमृता शाही र सीताकुमारी नेपालीले सांसद विकास कोषबाट ४० लाखका दरले एक करोड २० लाख रकम कृषि तथा पशुपालनमा खर्च गरिएको हो । क्षेत्र नम्बर २ मा कर्णाली प्रदेशसभा सदस्य यज्ञबहादुर विसीको छनोटमा ४० लाख रकममा बाख्रा र तरकारी खेतिका लागि टनेल निर्माणमा खर्च गरिएको छ ।
सांसदहरुको छनोटमा विनियोजित रकम कृषि विकास निर्देशनालय कर्णाली प्रदेशमार्फत खर्च गरिएको हो । निर्देशनालयले कृषि तथा लक्षित वर्ग कार्यक्रम अन्र्तगत कृषकलाइ बोयर बाख्रा वितरण र तरकारी उत्पादनका लागि टनेल निर्माण गरेको छ । सांसदको छनोटमा निर्देशनालयले लक्षित वर्गलाइ पशुपालनतर्फ बाख्रा वितरण गरेपछि पशुपंक्षी कार्यक्रम सञ्चालन गर्न अनुमति पाएका सरकारी तथा गैरसरकारी संस्थाले आलोचनासमेत गरेका छन् ।
आफैले छनोट गरेका कार्यक्रमकृषकले अपनत्व नलिदाँ प्रभावकारी हुने होइनन् की भन्ने सांसदहरुलाइ शंका लागेको छ । पछि बदनाम नहोस् भनेर कार्यक्रम प्रभावकारी, पारदर्शी र कृषकलाइ फाइदादायी होस् भन्ने सांसदहरुले अपेक्षा गरेका छन् । लाभान्वित कृषक भने खुसी छन् । सांसदको छनोटमा निर्देशनालयले जिल्लाको लेकवेशी, भेरीगंगा, गुर्भाकोट नगरपालिका र बराहताल गाउँपालिकाका विभिन्न वडामा कृषकलाइ तरकारी बीउ, टनेल निर्माण र बाख्रा वितरण गरेर कृषकको जीविकोपार्जनमा सुधार ल्याउने प्रयत्न गरिएको छ ।
यस कार्यक्रमबाट कृषकलाई बोयर बोका, बयर पाठी र तरकारी खेतीमा अनुदान दिइएको हो । निर्देशनालयले चालु आर्थिक वर्षमा सञ्चालन गरेका कार्यक्रमको अनुगमनका क्रममा लाभान्वित कृषकसँग भेटघाट तथा छलफल पनि गरिएको छ । लेकबेशी नगरपालिका ३÷४ को लक्षित वर्ग अर्गानिक कृषि पवद्र्धन कार्यक्रम र गुर्भाकोट नगरपालिका–१३ सेराघारीमा वेतेनी खोला सेराघारी सिंचाई कुलो तथा लक्षित वर्ग कार्यक्रम र भेरी गंगा नगरपालिका–१० मा स्थापना हुदै गरेको कोल्डटोर जस्ता कार्यक्रमबाट कृषकले फाइदा लिन सुरु गरेका हुन् ।
तरकारी बिक्री नहुँदा समस्या
बराहताल गाउँपालिका–६ मा कृषकको बारीमा लटरम्म फलेको टमाटर बारीमै कुहिएको छ । सांसद यज्ञबहादुर विसीको छनौटमा कृषि विकास निर्देशनालयले अति विपन्न दलित लक्षित कार्यक्रम अन्र्तगत बुटी गाउँका १० जना कृषकलाई तरकारी खेतिका लागि टनेल निर्माण गरिएको छ । तर लकडाउनका कारण तरकारी बिक्री नहुदाँ कृषक मर्कामा परेका छन् ।
सोही कार्यक्रममा बुटी गाउँमा एक सय ७३ वटा बाख्रा वितरण गरिएका छन् । ‘हामीले मेहनत गरेर टनेलमा टमाटर फलायौं । तर लकडाउनले बिक्री भएन’ कृषक मिना विश्वकर्माले भनिन्, ‘तीन क्वीन्टल भन्दा बढी टमाटर बोटमै सड्यो । एक क्वीन्टल टमाटर गाउँलेलाई बाँडे ।’ उनी जस्तै गाउँका अन्य कृषकलाइ पनि समस्या भएको हो ।
कृषक पूर्णा थापाले स्थानीय र प्रदेश सरकारले उत्पादन भएको तरकारी खरिद गरी बजारिकरणमा भूमिका खेलिदिनुपर्ने बताइन् ।ब राहताल गाउँपालिकाका उपाध्यक्ष शोभा शर्माले आगामी दिनमा तरकारी खरिद गर्ने व्यवस्था मिलाउने बताएकी छछन् । सांसद यज्ञबहादुर विसीले कृषकलाइ तरकारी र बाख्रा पालनबाट आतमनिर्भर बन्न अँझै मेहनत गर्नुपर्ने बताए । सितैमा आएको भनेर सेवाको दुरुपयोग नगर्न उनको सुझाब छ ।
बोयर पाएपछि कृषक मख्ख
‘कार्यक्रम के कसरी आयो भन्ने थाहाँ छैन । तर यो कार्यक्रमबाट बोयर बाख्रा पाउँदा निकै खुसी छु’ लेकबेशी नगरपालिका–३ दशरथपुरका कृषक हिक्मत पुनले भने, ‘सधै सांसद विकास कोषको बजेट बाटो बनाएर बालुवामा पानी खन्याए झै हुन्थ्यो । तर यस पटक हामी कृषक प्रत्येक्ष लाभान्वित भएका छौं । यो नै हाम्रो लागि खुसीको विषय हो ।’
कृषक जेसरादेवी पुनले स्थानीय जातको बाख्राभन्दा बोयर बाख्राबाट चाँडै फाईदा लिन सकिने भन्दै अनुदानमा पाएका बाख्राले जीविकोपार्जनमा सुधार ल्याउने अपेक्षा व्गरिन् । कृषकलाई बोयर बाख्रासँगै अनुदानमा खोर निर्माण र औषधि पनि उपलब्ध गराइएको हो । पशु प्राविधिक सिर्जना खड्काले बोयर बाख्रा पालनले कृषकको आम्दानीको स्रोत चाँडैबृद्धि हुनुका साथै जिविकोपार्जनमा थप सहयोग पुग्ने बताइन् । उनका अनुसार ४० लाख अनुदानमा दशरथपुरका ५५ घरधुरीलाई प्रतिघर दुई वटा बोयर बाख्राको पाठी उपलब्ध गराइएको छ ।
४० लाख अनुदानबाटै लेकबेशी–१ का ४२ घरधुरीलाई प्रतिघर तीन वटा बोयर पाठी र दुई वटा सामुहिक बोयरबोका हस्तान्त्रण गरिएको प्राविधिक चन्द्रबहादुर रुचालले बताए । उनका अनुसार सयप्रतिशतका बोयर बोका दुई लाख ४० हजाका दरले खरिद गरिएका हुन् । लेकबेशी–१ की कृषक नन्दी लामाले भनिन्, ‘बोयर पाठी काटेर खानका लागि होइन । हामीलाई जिविकोपार्जन गर्न हम्यहय भएपछि हाम्रै मागका आधारमा प्राप्त गरेका हौं ।
यसैबाट अब आम्दानी बढाउने हो ।’ कृषकलाई चारदेखि डेढ वर्षसम्मका बोयर पाठी उपलब्ध गराईएका छन् । त्यहाँप्रति बोयर पाठीको सरदर खरिद मूल्य १७ हजार छ । बोयर पाठीले १० महिनामै सन्तान उत्पादन गर्छ । भने अन्य जातको तुलनामा धेरै मात्रामा तौल बढ्छ । गुर्भाकोट नगरपालिका–१३ का ७४ घरधुरीलाई प्रतिघर तीन वटाका दरले बोयर पाठी उपलब्ध गराईएको छ ।
त्यहाँ १४ घरधुरीले बंगुर पालनसमेत गरेका छन् । पशु प्राविधिक निलम घर्तीमगरले मासु बिक्री गरेर आत्मनिर्भर बनाउन कार्यक्रमले सहयोग पुग्ने बताए । उनका अनुसार ४० लाख बजेटमै रहेर उपलब्ध गराईएका बोयर बाख्रा र बंगुरको खोर निर्माणका लागि प्रत्येक कृषकलाई पाँच हजार अनुदानसमेत दिईएको छ । । लाभान्वित कृषकले प्रशंसा गरेपछि कार्यक्रम छनोट गर्ने सांसद र सरोवारवाला निकायले कार्यक्रम सन्तोषजनक रहेको बताएका छन् ।
कृषकले अपनत्व लिए
कृषि विकास निर्देशनालयका निर्देशक तथा वरिष्ठ कृषि अर्थविज्ञ चित्रबहादुर रोकायाले कुनै व्यक्ति विषेश कृषक भन्दा सिंगो समुदायलाई नै फाइदा पुग्ने मोडलको कार्यक्रम रहेकाले यसलाई अन्य ठाउँमा पनि सिको गर्नुपर्ने बताए ।
कृषकले बाख्रा र तरकारी उत्पादनका लागि टनेल र वीउ पाउँदा अपनत्व महसुश गरेको उनको भनाइ छ । उनले भने, ‘यस कार्यक्रमबाट कृषकको मुहारमा खुसी र अपनत्वको भावना विकास भएको छ । यस्ता नमुनाका कार्यक्रमलाई सबैले सिको गरेर आफ्नो जीविकोपार्जनमा सुधार ल्याउन जरुरी छ ।’ उनका अनुसार दतिल विपन्न तथा लक्षित वर्ग नमूना अर्गानिक कृषि तथा पशुपालन कार्यक्रमको नीति अनुसार कृषकको जिविकोपार्जनमा सुधार ल्याउने अभियान जारी छ ।
सांसद बिष्ट, शाही र नेपालीले फाइदा लिनेगरी काम गर्न कृषकलाइ आग्रह गरे । निर्देशनालयका वागवानी विकास अधिकृत यामबहादुर रानाका अनुसार कार्यक्रममा कुनै अनियमितता हुन नदिन कृषककै छनोटका आधारमा कृषि तथा पशु प्राविधिक फिल्डमा खटाईएको छ ।
युग संवाददाता । । २० असार २०७७, शनिबार ०८:५६