दैलेख प्रयोगशालालाई मान्यता प्राप्त

सञ्चालनमा कठिनाई

अमर सुनार ।

दैलेख, १९ असार ।

दैलेखमा जडान पीसीआर मेसिनमा जाँचिएका कोरोना भाइरस नमूना पुनः परीक्षण गराउँदा रिपोर्ट हुबहु आएको छ । रिपोर्ट हुबहु आएपछि दैलेख प्रयोगशालालाई मान्यता प्राप्त भएको छ । १०–१० वटा पोजेटिभ र नेगेटिभ रिपोर्टहरु हुबहु आएपछि राष्ट्रिय प्रयोगशालाबाट मान्यता प्राप्त भएको इञ्चार्ज शंकर शाहीले जानकारी दिए ।

मेसिनको बिश्वसनीयता जाँच्न १०–१० वटा पोजेटिभ र नेगेटिभ पुनः परीक्षण गर्ने बिश्वव्यापी नियम अनुसार दैलेख प्रयोगशालाले परीक्षण गरेका नमूनाहरु नेपालगञ्ज प्रयोगशालामा बिहीवार पुनः परीक्षण गराउँदा हुबहु रिपोर्ट आएको शाहीले बताए ।

राष्ट्रिय प्रयोगशालाले मान्यता दिइसकेकोले अब दैलेख प्रयोगशालाको रिपोर्टलाई जिल्लाले नै प्रकाशन गर्न पाउने भएको छ । कोभिड संकट व्यवस्थापन समितिलाई जानकारी गराएर स्वास्थ्य सेवा कार्यालयले शुक्रवारदेखि रिपार्ट सार्वजनिक गर्ने अधिकार प्राप्त भएको स्वास्थ्य सेवा कार्यालयका इञ्चार्ज डा. निरञ्जन पन्तले जानकारी दिए ।

मेडिसोलुसन इण्टरनेशनल प्रालि काठमाण्डौंले पाएको टेण्डरमा ‘माइक्रोपेट्टे प्लस डी–ल्याब’ ब्राण्डको उक्त पीसीआर मेसिन १२ घण्टा चलाउँदा तीन सय वटा कीटको रिपोर्ट निकाल्न सक्ने क्षमता रहेको कर्णाली प्रदेश प्रयोगशालाका बायोमेडिकल इञ्जिनियर राकेशकुमार साहले जानकारी दिनुभयो । आरएनए एक्सट्याक्रेसन मेसिन थपे एकै दिन पाँच सय जनाको परीक्षण गर्न सकिने उनले जानकारी दिए ।

हाललाई कोरोना संक्रमण छ–छैन भनी परीक्षणको मात्र काम गरिरहेको पीसीआर मेसिनले बंशानुगत जिवाणु (डीएनए) पहिचान, एचआईभी–एड्स, हेपाटाइटिस, इन्फुलुञ्जा परीक्षणदेखि बिरुवाको प्रजाति समेतको परीक्षण लगायतका बहुउपयोगी काम गर्ने कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयको स्वास्थ्य महाशाखा प्रमुख डा. लक्ष्मीनारायण तिवारीले बताए ।

संक्रमणको अवस्था

दैलेखको नारायण नगरपालिकामा सबैभन्दा धेरै कोरोना संक्रमित देखिएका छन् । दैलेखको तथ्यांकमा ११ वटा स्थानीय तह मध्ये नारायण नगरपपालिका जिल्लामा सबै भन्दा धेरै दुई सय २७ जनामा संक्रमण देखिएको हो ।

जिल्लामा संक्रमित पुष्टि भएका महाबु गाउँपालिकामा एक सय ६६, नौमूले गाउँपालिकामा एक सय ४६, दुल्लू नगरपालिका ९२ जना र डुङ्गेश्वर गाउँपालिकामा ७० जना संक्रमित पुष्टि भएका छन् । स्वास्थ्य सेवा कार्यालले दिएको विवरण अनुसार बिहीवारसम्म कोरोना संक्रमितहरुको अध्यावधिक विवरणले कुल संक्रमित सात सय ७१ मध्ये सात सय १९ जना पुरुष र ५२ जना महिला रहेका छन् । ती मध्ये ६ सय ५० जना निको भएर घर फर्र्किएका र अब एक सय २१ जना आइसुलेसनमा छन् ।

आइसुलेनमा बसेको संख्या नेपाली सेनाका ४, जनपथ प्रहरीका ९ र सशस्त्र प्रहरीका २० समेत ३३ जना आआफ्नै कार्यालय हातामा निर्माण गरिएका आइसुलेसनमा बसेका छन् । कुल ८८ जना नागरिकहरु स्थानीय तहहरुले विद्यालयहरुमा निर्माण गरेका आइसुलेनमा बसेका छन् ।

पीसीआर रिपोर्ट आउन ढिलाई भएको भन्दै जेठ ३० गते त्रिभुवन मावि दैलेख बजार आइसुलेसनमा राखिएका एक सय १२ जना कोरोना संक्रमितहरुले २७ दिन रोकेको भन्दै हातमा लाठी र छड लिएर जुलुस गरेपछि प्रहरीले लाठी चार्ज गर्दा तीन जना घाइते भएका थिए । लाठी चार्जमा संलग्न सशस्त्र प्रहरी र जनपथ प्रहरीका धेरैलाई कोरोना पोजेटिभ भएको छ ।

सञ्चालन कठिनाई

पीसीआर रिपोर्ट ढिलो आएको भन्दै विभिन्न क्वारेन्टाइन र आइसोलेसनमा बसेका संक्रमित आक्रोशित बनेका छन् । दैलेखमा क्षेत्र नं. १ को संसदीय क्षेत्र पूर्वाधार विकास साझेदारी कार्यक्रमको बजेटबाट पीसीआर मेसिन खरिद गरिएपनि रिपोर्ट ढिलो आएको भन्दै संक्रमितहरु ऋाक्रोशित बनेका हुन् ।

सदरमुकामको काँडाचौरदेखि भैसेखोर सडक कालोपत्रे गर्न बिनियोजन गरिएको ६ करोड मध्येबाट एक करोड ६ लाख रुपैंयाँमा पीसीआर मेसिन खरिद गरिएको नारायण नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत छविलाल नेपालीले जानकारी दिए ।

दैलेख अस्पताल व्यवस्थापन समितिका अध्यक्ष लोमन शर्माले पीसीआर खरिदपछि बिना बजेट प्रयोगशालाका निम्ति आवश्यक जनशक्ति, उपकरण र रासायनिक पदार्थ आफैले जोहो गर्नुपरेको बताए । उनले प्रयोगशाला सञ्चालन गर्न जिल्लालाई व्यय थपिएको बताए ।

प्रदेश अस्पताल सुर्खेतमा रहेको पीसीआर मेसिन असार दोश्रो साता बिग्रिएपछि सुर्खेत प्रयोगशालाले स्वाव परीक्षणका लागि दैलेख पठाउन थालिएको छ । दैलेख प्रयोगशालामा हालसम्म चार सय ४१ जनाको स्वाव परीक्षण गरिएको छ ।

तपाईको प्रतिक्रिया