मेसिन बिग्रीदा कोरोना परीक्षणमा सकस

पुरानो बनेन, नयाँ सिंगापुरमै रोकियो

सुर्खेत, १९ असार ।

सुर्खेतमा रहेको आरटी पीसीआर मेसिन बिग्रीएपछि कोरोना परीक्षणमा समस्या भएको छ । मेसिन बिग्रीएको हप्तादिन बितिसक्दा पनि अँझै कहिले बन्छ भन्ने कुनै टुङ्गो छैन । प्रदेश अस्पताल सुर्खेतले कोरोना परीक्षणका लागि प्रयोग गर्दै आएको आरटी पीसीआर मेसिन गत शुक्रबारदेखि बिग्रीएको हो । पशुपन्छि रोग अन्वेषण प्रयोगशालामा सञ्चालनमा ल्याइएको मेसिनमा समस्या देखिएको छ ।

प्रयोगशालामा काम गर्दै स्वास्थ्यकर्मी । फाइल तस्विर

मेसिनमा समसया देखिएपछि प्रयोगशालामा सेम्पल एक्सट्क्याक्सनको काम मात्रै हुँदै आएको छ । सुर्खेतमा एक्सट्क्याक्सन गरिएका सेम्पलहरु मास्टर मिक्सिङ र रिडिङका लागि नेपालगञ्ज पठाउनुपर्ने बाध्यता छ । मेसिन बिग्रीदा कोरोना संक्रमितका परिवारको समेत पीसीआर परीक्षण हुन सकेको छैन । केही दिनअघि वीरेन्द्रनगरका एक व्यक्तिमा कोरोना पुष्टि भएको हप्तादिन पुग्न लाग्दा पनि उनका परिवारको पीसीआर परीक्षण हुन नसकेको हो । ‘हाम्रो स्वाब संकलन गरेको चार दिन भइसकेको छ, तर रिपोर्ट आएको छैन’ कोरोना संक्रमितका परिवारले भने ‘रिपोर्ट आउन ढिलाई भएपछि समुदायको बहिस्कार सहनु परेको छ ।’

यता मेसिन बन्ने टुङ्गो नभएपछि स्वाब परीक्षण रोकिएको प्रदेश अस्पताल सुर्खेतका सूचनाअधिकारी विनोद बस्नेतले बताए । ‘हामीले सप्लार्यस कम्पनीसँग निरन्तर सम्पर्क गरेका छौँ । तर नेपालमा मेसिन बनाउने इन्जिनियर पाइएको छैन’ उनले भने, ‘सप्लार्यस कम्पनीले भारतबाट इन्जिनियर ल्याउने भनेको छ । तर हवाइ उडान नहुँदा समस्या भयो ।’ प्राविधिक नेपाल आउन अनिवार्य रुपमा पीसीआर परीक्षण गर्नुपर्ने भएका कारण पनि प्राविधिक आउन अझै समय लाग्ने उनले बताए ।

पुरानो मेसिन नबन्दासम्म अर्काे मेसिन उपलब्ध गराउन समेत अस्पतालले सप्लार्यस कम्पनीसँग अनुरोध गरेको छ । तर न मेसिन बनाउन प्राविधिक आउने टुङ्गो लागेको छ । नत सप्लार्यस कम्पनीले अर्काे मेसिन उपलब्ध गराएको छ । ब्रिग्रीएको मेसिन अस्पतालले अनुदान स्वरुप प्राप्त गरेको हो । केही समयअघि त्रिभूवन विश्वविद्यालयले खरिद गरेका मेसिन नविल बैंकले अनुदान स्वरुप अस्पताललाई उपलब्ध गराएको थियो ।

सिङ्गापुरमै रोकियो मेसिन

प्रदेश अस्पतालले खरिद गरेको नयाँ मेसिन सिंगापुरमै रोकिएको छ । हेलिक्स इन्टरप्राइजेज मार्फत अमेरिकाबाट खरिद गरेको आरटी पीसीआर मेसिन सिंगापुरमा रोकिएको हो ।

अस्पतालले भ्याट बाहेक २४ लाख ९० हजारमा मेसिन खरिद गरेको छ । तर बाह्य उडान रोकिएका कारण मेसिन नेपाल भित्रन सकेको छैन । ‘खरिद गरेको मेसिन सिङ्गापुरमै रोकियो, शनिबारसम्म नेपाल आइपुग्ला भन्ने अनुमान छ, तर बाह्य उडान रोकिएकाले अहिले नै भन्नसकिने अवस्था छैन’ उनले थपे, ‘अस्पतालले बिग्रेको मेसिन बनाउन र खरिद गरेको मेसिन छिटो झिकाउन हारगुहार गरिरहेकै छ ।’

रि–चेकमै समस्या

सुर्खेतमा पीसीआर मेसिन बिग्रदा दैलेखमा परीक्षण गरिएका रिपोर्ट रि–चेकमा समस्या भएको छ । दैलेखको प्रयोगशालाले परीक्षण गरेको रिपोर्टहरु रि–चेकमा समस्या भएको हो ।

स्वास्थ्य सेवा कार्यालय दैलेख कोरोना फोकलपर्शन थिरप्रसाद रेग्मीका अनुसार रि–चेक र मेसिनको भ्यालिटेसन मापनमा ढिलाइ हुँदा रिपोर्ट सार्वजनिक गर्न सकिएको छैन । दैलेखमा परीक्षण गरिएको पीसीआर रिपोर्ट भेरी अञ्चल अस्पताल नेपालगञ्जले रि–चेक गर्नुपर्दछ । रि–चेकपछिमात्रै रिपोर्ट सार्वजनिक गरिने छ ।

तीन जनाको भरमा परीक्षण

दैलेखमा जडान गरिएको आरटी पीसीआर मेसिनले एक पटकमा ९६ जनाको कोरोना परीक्षण गर्न सम्भव हुन्छ । ९६ जनाको कोरोना परीक्षण गर्न मेसिनलाई फूलफेजमा सञ्चालन हुनुपर्छ ।

जसका लागि कम्तिमा १२ जना ल्याव टेक्नीसियन आवश्यक हुन्छ । १२ देखि २० जना कर्मचारी भएको खण्डमा मेसिनलाई तीन सिफ्टमा सञ्चालन गर्न सकिन्छ । मेसिन तीन सिफ्टमा सञ्चालन गरेको खण्डमा दैनिक तीनसय बढीको कोरोना परीक्षण गर्न सकिन्छ ।

क्वारेन्टाइनबाट ७० जना भागे

रिपोर्ट आउन ढिलाइ भएपछि सल्यानको बनगाड कुपिण्डे नगरपालिकाको एक क्वारेनटाइनमा बसेका ७० जना घर भागेका छन् । नगरपालिकाको वडा न २ स्थित आधारभूत विद्यालय लाहाघाटको क्वारेनटाइनमा बसेका उनीहरु बिहीबार दिउँसो घर भागेको नगरपालिकाले जनाएको छ । स्वाब संकलन गरेको एक हप्तामा पनि रिपोर्ट नआएको तथा लामो समयदेखि क्वारेनटाइनमा बस्नुपरेको भन्दै सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्दै ६९ जना भागेका हुन् । नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख बासु पोखरेलका अनुसार गत जेठ १९ गते भारतको गुजरात र गडवालबाट आएका उनीहरुको १४ दिनपछि आरडिटी परीक्षण गर्दा तीन जनामा पोजेटिभ देखिएको थियो । पुनः असार १२ गते पीसीआर परीक्षणका लागि स्वाब संकलन गरिएको थियो । तर रिपोर्ट आउन ढिला भएको भन्दै उनीहरु घर भागेको पोखरेलले बताए । कर्णाली प्रदेशको पीसीआर मेसिन बिग्रिएको र स्वाब नेपालगन्ज पठाइएको थियो । एक दुई दिनभित्रमा रिपोर्ट आउने भन्दै उनीहरुलाई विश्वस्त तुल्याउन खोज्दा पनि नमानेर घर भागेका हुन् । क्वारेनटाइनमा बसेका सबै भागेसँगै गाउँमा भने त्रास फैलिएको छ ।

कोरोना प्रतिकार्यमा झण्डै नौ करोड सकियो

कर्णाली प्रदेशमा कोरोना प्रतिकार्यमा झण्डै नौ करोड बजेट खर्च भएको छ । कोरोना प्रतिकार्यका लागि प्रदेश सरकारले छुट्याएको १६ करोड २५ लाख रुपैयाँमध्ये असार ५ गतेसम्म झण्डै नौं करोड अर्थात आठ करोड ९९ लाख ४८ हजार दुईसय रुपैयाँ खर्च भएको हो । जसमध्ये औषधि खरिदमा ६८ लाख ३१ हजार, पूर्वाधार निर्माणमा दुई करोड १८ लाख ८७ हजार, जनशक्ति व्यवस्थापनमा ५३ लाख ४५ हजार, प्रबर्धनात्मककार्यमा १४ लाख ३४ हजार र प्रशासनिक, खाना, खाजा र हेल्थडेक्स स्थापनामा ५४ लाख ७८ हजार रुपैयाँ खर्च भएको छ ।

कोरोना प्रतिकार्यका लागि सामाजिक विकास मन्त्रालयले प्रदेशभरका १७ वटा अस्पताललाई बजेट उपलब्ध गराएको थियो । जसमध्ये कोरोना अस्पतालका रुपमा तोकिएका कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला र चौरजहारी अस्पताल रुकुमपश्चिमले शतप्रतिशत बजेट खर्च गरिसकेका छन् । प्रदेशले प्रतिष्ठानका लागि एक करोड ७५ लाख र चौरजहारीका लागि एक करोड ५० लाख रुपैयाँ उपलब्ध गराएको थियो । त्यस्तै जनस्वास्थ्य कार्यालय हुम्ला, मुगु र प्रदेश आयुर्वेद अस्पतालले भने शतप्रतिशत बजेट खर्च गरेका छन् ।

सरकारले मुगुका लागि २७ लाख, हुम्लाका लागि २५ लाख र प्रदेश आयुर्वेद अस्पतालका लागि दुई लाख रुपैयाँ कोरोना प्रतिकार्यका लागि उपलब्ध गराएको थियो । मन्त्रालयका अनुसार कोरोना विशेष अस्पतालका रुपमा रहेको प्रदेश अस्पतालले २१ प्रतिशत अर्थात ९४ लाख ८० हजार रुपैयाँ मात्रै खर्च भएको छ । सरकारले अस्पतालाई चार करोड ६२ लाख रुपैयाँ कोरोना प्रतिकार्यका लागि उपलब्ध गराएको थियो । जसमध्येतीन करोड ६७ लाख २० हजार रुपैयाँ खर्च हुन बाँकी छ ।

तपाईको प्रतिक्रिया