कालिकोट पुग्यो सलह

कालिकोट, १९ असार ।

खाँडाचक्र नगरपालिकाका साथै आसपासका क्षेत्रमा सलह किरा देखिएका छन् । केही दिनअघि नेपाल भित्रिएको सलह किरा कालिकोटमा पनि पुगेको हो । बुधबार जिल्ला सदरमुकाम खाँडाचक्र नगरपालिका वडा नं. १ स्थित मान्मको गाँउमा मकै बालीमा सलह किरा देखिएको कृषि विकास कार्यालय कालिकोटका प्रमुख भरत बस्नेतले बताए ।

उनले भने, ‘खाँडाचक्र नगरपालिकाका केही क्षेत्रमा सलह किरा देखियो भनेर किसानले खबर गरेपछि हामीले फिल्डमा जाँदा सलह किरा भेटायौं । अहिले धेरै ठूलो झुण्ड नभए पनि फाटफुटमा सलह देखा परेको छ ।’ अमेरिकी फौजी किराको प्रकोपले पीडित भएका यहाँका किसान फेरि सलह पनि देखिन थालेपछि चिन्तित बनेका छन् । ‘केही दिन अगाडिदेखि अमेरिकन फौजी किराले खतम पार्न लागेको मकैबालीमा सलह पनि देखिएपछि थप निराश बनायो । अब खेतमा लगाएका मकै, कोदो, धान लगायतका वर्षेबाली नष्ट हुने भयो ।

बाली सबै किराले खाएपछि परिववार कसरी पाल्ने हो’, खाँडाचक्र नगरपालिका वडा नं २ का किसान अने विकले भने, ‘फौंजी किराको प्रकोप झेलिरहेका कालिकोटका विभिन्न ठाउँका किसान फेरि सलह किरा देखिन थालेपछि चिन्तित बनेका छन् ।’ जिल्लामा सलहको ठूलो झुण्ड नपुगेकाले बालीनालीमा कम क्षति हुने आकलन गरिएको छ । कृषि विकास कार्यालय प्रमुख बस्नेतले भने, ‘अहिले जिल्लामा सलह फाट्टफुट्ट देखिएको छ। तर यसको संख्या बढ्न सक्छ ।

कसानलाई सचेत हुनका लागि आग्रह गरेका छौं ।’ खाँडाचक्र नगरपालिकामा मात्र अमेरिकन फौजी किराले १ सय २० हेक्टर जमीनमा लगाएको मकैबाली नष्ट गरिसकेको उनले बताए । ‘रास्कोट नगरपालिकाका केही भागमा पनि फौजी किराको आक्रमणले मकैबाली नष्ट गरेको खबर आएको छ। यस अवस्थमा सलहको संख्या पनि बढेपछि बर्षेबालीमा ठुलो क्षेती हुने र भोकमारी हुने समस्या हुनसक्छ ।

तपाईको प्रतिक्रिया