सुर्खेत, १९ असार ।
सुर्खेतमा आज (शुक्रवार) देखि पुनः लकडाउनमा कडाइ गरिने भएको छ । लकडाउन खुकुलो हुँदा जोखिम बढेको भन्दै सुर्खेतमा पुनः कडाइ गरिने भएको हो ।
कोरोना संक्रमण दर बढ्दै गएपछि लकडाउनलाई पुनः कडाइ गर्ने निर्णय गरेको जिल्ला प्रशासन कार्यालय सुर्खेतले जनाएको छ । बन्दाबन्दी खुकुलो भएयता प्रदेश राजधानी वीरेन्द्रनगरमा चहलपहल निकै बढेको थियो । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठकले शुक्रवारदेखि पसलहरु खुला गर्ने समय तथा सवारीसाधन स ञ्चालनमा कडाइ गर्ने निर्णय गरेको हो ।
कोरोना भाइरसको संक्रमण फैलिन नदिन तीन पाङ्ग्रे सवारी साधन अर्थात अटो सञ्चालनलाई रोक लगाइएको छ । जिल्ला प्रशासन कार्यालय सुर्खेतले रोकथामका लागि कोरोना भाइरसको संक्रमण रोकथामका लागि जोर– विजोर प्रणालीलाई यथावत राख्दै तीन पाङ्ग्रे सवारी साधनलाई पूर्णरुपमा बन्द गर्ने निर्णय गरेको हो ।
त्यस्तै, होटल, रेष्टुरेन्ट लगायतका खाजा, नास्ता पसलहरु (होमप्याक बाहेक), सैलुन तथा व्युटी पार्लर पनि पूर्णरुपमा बन्द गर्न प्रशासनले निर्देशन दिएको छ । कार्यालयका प्रशासकीय अधिकृत पदमलाल लामिछानेका अनुसार फलफुल, तरकारी, दुध, औषधी पसललगायतका अत्यावश्यक सेवा बाहेकका पसलहरु विहान सात बजेदेखि साँझ पाँच बजेसम्म मात्र खुल्ला गर्न पाइने भएको छ । अत्यावश्यक सेवा पसलहरु भने हप्तामा एक दिन अर्थात शनिबार पूर्णरुपमा बन्द गर्नुपर्ने छ ।
युग संवाददाता । । १९ असार २०७७, शुक्रबार ०८:१८