सल्यान, १८ असार ।
सल्यानमा एक वडाध्यक्ष मध्यरात वडा कार्यालयमै अर्काको श्रीमतीसँग अनैतिक कार्य गरेको अबस्थामा स्थानीयहरुले फेला पारेका छन् । जिल्लाको त्रिवेणी गाउँपालिका ४ का वडाध्यक्ष छविलाल शर्मा बुधबार राती स्थानीय एक महिलासँग वडा कार्यालयमै अनैतिक कार्य गरिरहेको अवस्थामा स्थानीयहरुले फेला पारेपछि प्रहरीको जिम्मा लगाइदिएको बताएका छन् ।
रातीसम्म वडाध्यक्षले कार्यालयमा महिलासँग बसिरहेको सुचना पाएपछि स्थानीयहरुले कार्यालय घेराउ गरेको थिए । स्थानीयले कार्यालय घेराउ गरेपनि वडाध्यक्षले भित्रबाट ताला लगाएर बसेको स्थानीय युवा कुल बहादुर भण्डारीले लेकाली अनलाइनलाइ बताए । कुरा गर्दै उनले भने, ‘वडाध्यक्ष गाउँकै महिलालाई लिएर कार्यालय गएको र रातीसम्म बसिरहेको थाहा भएपछि युवाहरु गएर कार्यालय घेराउ गरे । म पनि त्यहाँ गए, पछि प्रहरी आएर वडाध्यक्ष र महिलालाई राती १ बजे लिएर इप्रका लुहाम गयो । महिलाको श्रीमान बिदेश हुनुहुन्छ ।’ यसबारे आवश्यक कारबाहीको लागि विहिबार इप्रका लुहामले आफुहरुलाई बोलाएको उनको भनाई छ ।
यता जिल्ला प्रहरी कार्यालय सल्यानका सुचना अधिकारी उमाकान्त जोसीले वडाध्यक्ष पक्राउ परेको बारे अहिलेसम्म आफुलाई कुनै जानकारी नभएको बताएका छन् । त्यस्तै प्रहरी प्रमुख डिएसपी ढकेन्द्र खतिवडासँग सम्पर्क हुन सकेको छैन भने इलाका प्रहरी कार्यालय लुहामका इनिस्पेक्टरको फोन बिहानैदेखि उठेको छैन । उता स्थानीयहरुले सम्बन्धित निकायले घटनाको छानबिन नगरे गाउँलेहरु सबै आन्दोलनमा उत्रिने र वडा कार्यालयमा तालाबन्दी गर्ने स्थानीय लोकेन्द्र खड्काले बताए । उनले भने, ‘म पनि केहिबेरमा इप्रका लुहाम जाँदै छु, हामी सबै बसेर कारबाहीको प्रकृया अगाडी बढाउने तयारी छ ।’
युग संवाददाता । । १८ असार २०७७, बिहीबार २२:२१