दुर्गा विसी ।
सल्यान, १८ असार ।
सल्यानको बनगाड कुपिण्डे नगरपालिकाका विभिन्न क्वारेन्टाइनमा बसेका नागरिक रिपोर्ट ढिला आएको भन्दै भाग्न थालेका छन् । आधारभुत विद्यालय लाहाघाटबाट विहीवार ७१ जना भागेका छन् ।
उक्त क्वारेन्टाइनमा ७४ जना थिए । जसमध्ये ३ जनाको आरडीटी र पीसीआर रिपोर्ट पोजेटिभ आएपछि उनीहरुलाई आइसोलेसनमा राखिएको छ ।
७१ जनाको स्वाब परीक्षण गरिएको थियो । परीक्षणको एक हप्तासम्म पीसीआर रिपोर्ट नआएको भन्दै उनीहरु भागेका हुन् । केही दिन अघि भानुभक्त प्रावि खनियाखर्कबाट पनि ६ जना भागेका थिए ।
त्यस्तै, बनगाड क्याम्पस सल्यानको क्वारेन्टाइनबाट एक जना पीसीआर रिपोर्ट पोजेटिभ आएपछि भागेका थिए । उनलाई सुरक्षाकर्मीले घरबाटै पुन क्वारेन्टाइन फर्काएको थियो ।
अहिलेसम्म विभिन्न क्वारेन्टाइनबाट ७८ जना भागि सकेका छन् । भागेर घर पुगेका कोरोना पोजेटिभलाई समेत परिवारले लुकाउने गरेका छन् । वडा २ का वडा अध्यक्ष प्रतिमल बुढाका अनुसार उक्त क्वारेन्टाइनमा सुरक्षा कर्मीलाई ढुङ्गा प्रहार गरेका थिए ।
युग संवाददाता । । १८ असार २०७७, बिहीबार २१:४६