सम्पादकीय : सतर्कता अपनाऊ

असार महिना लागेसँगै कर्णालीमा विपदको समय सुरु हुन्छ । यो वर्ष पनि सुरुवातमै बाढीले जाजरकोटका र सुर्खेतमा अशुभ संकेत गरिसकेको छ । बाढीका कारण भेरी नगरपालिका–११ जगतिपुर जाजरकोटका पुष्कर विक र पञ्चपुरी नगरपालिका ६ भावर सुर्खेतका नन्दा पुलामीले अकालमै ज्यान गुमाइ सकेका छन् । उनीहरुमात्रै होइन हरेक वर्ष असारे भेलले कयौँ कर्णालीवासीका सपनाहरु बगाउँदै आएको छ । वर्षेनी बाढीपहिरोले कर्णालीमा एक प्रकारको विपत्ति नै निम्त्याउँछ । लाखौंको क्षति हुन्छ । सयौं नागरिकले ज्यान गुमाउँछन् । हजारौँ पीडित हुन्छन् । अझ भनौँ पूर्वनिर्धारित जस्तै गरी विपद्ले वितन्डा मच्चाउँछ । तर पनि विपद् न्यूनिकरणमा भने कसैको ध्यान पुग्दैन । घटनापछि उद्दार गर्ने बाहेक त्यसलाई रोक्नका लागि पूर्वतयारी र सावधानी न सरकारले अपनाउँछ न नागरिकले नै ।

 


हुन त देशमा तीन तहका सरकार छन् । तीन तहका सरकारले आपत्तमा हारगुहार गर्छन् तर विपद् व्यवस्थापनमा भने चासो नै दिँदैनन् । यही कारण कर्णालीमा बर्सेनी बाढी र पहिरोका कारण धेरै धनजनको नोक्सान भइरहेको छ । बाढी पहिरोले जनधनको क्षती हुनेक्रम रोकिएको छैन । अव्यवस्थीत बसोवास र विकासे गतिविधिकै कारण धेरै स्थानमा बाढी पहिरो जादाँ क्षति हुने गरेको छ । स्थानीयदेखि प्रदेश सरकारसँग सम्भावित क्षतिलाई न्यूनिकरण गर्ने पूर्वतयारीका कार्यक्रम छैनन् । बाढी पहिरोबाट निम्तिने जोखिम न्यूनिकरणबारे सरकारहरु बेखबर छन् । भएका पूर्वतयारीका कार्यक्रमसमेत प्रभावकारी कार्यन्वयन भएका छैनन् । वडादेखि प्रदेश स्तरसम्म विपद् व्यवस्थापन तथा दैवी प्रकोप उद्दार समिति गठन भएका छन् । ती समितिले प्रकोप व्यवस्थापनमा भूमिका खेल्न सकेका छैनन् । परिणामतः बाढीले दिने पीडा सहनुको विकल्प कर्णालीका लागि ।

तर हरेक वर्ष विपत्तिको सामना गर्नुको सट्टा अव भने विपद न्यूनिकरणका उपायहरु खोजी गरौँ । असारे भेलसँगै बग्ने विकास निर्माण र अव्यवस्थित बसोबासको परिपाटी अत्य गरौँ । खोला नालामा तटबन्ध निर्माण गरौँ । बाढीबाट हुने क्षति न्यूनिकरणका लागि नागरिक नै सचेत बनौँ । वडादेखि प्रदेश स्तरसम्म विपद् व्यवस्थापन तथा दैवी प्रकोप उद्दार समितिलाई सक्रिय बनाऔँ । जनप्रतिनिधिसँग विपद् न्यूनिकरणका कार्यक्रमहरु माग गरौँ । विपद् व्यवस्थापनमा तीन तहका सरकारलाई हातेमालो गर्न बाध्य परौँ । किनकी नागरिक, सरकार र जनप्रतिनिधिको सामूहिक प्रयासबाटै विपद न्यूनिकरण सम्भव छ । तसर्थ अव विपद्को शिकार होइन, सचेतना अपनाऊ । तर असारे भेलसँगै कर्णालीवासीका सपनाहरु नबगाऔँ । (२०७७ असार १८ गते बिहीबार युगआव्हान राष्ट्रिय दैनिकमा प्रकाशित)


Leave a Reply

Your email address will not be published. Required fields are marked *


ताजा समाचार