नन्दु खनाल ।
सुर्खेत, १८ असार ।
सुर्खेतको चौकुने गाउँपालिकामा एक दिने निशुल्क विशेषज्ञ आयुर्वेद तथा योग शिविर सम्पन्न भएको छ । चौकुने गाउँपालिकाको समन्वयमा र कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालयको सहयोगमा उक्त शिविर बुधवार सम्पन्न भएको हो ।
शिविरमा महिला र पुरुष गरी तीन सय १५ जनाले स्वास्थ जाँच गरेका छन् । गाउँपालिकाका अध्यक्ष धीर बहादुर शाहीले स्वास्थ क्षेत्रको पहुँच बाट टाढा रहेको समुदाय र व्यक्तिहरुको स्वास्थ्य अवस्थालाई ध्यानमा राखी निशुल्क आयुर्वेद तथा शिविर संचालन गरेको जानकारी दिए ।
उनले हालै विश्वभरी महामारीको रुपमा फैलिएको कोरोना भाईरसबाट बच्न नियमित आयुर्वेद औषधी र योग तिर ध्यान दिन समेत सबैलाई आग्रह गरे । नियमित रुपमा योगा गर्ने र जडिबुटी औषधीको रूपमा आयुर्वेदलाई प्रयोगमा ल्याउन सके कोरोना भाईरस नियन्त्रणमा सहयोग हुने अध्यक्ष शाहीको भनाई छ ।
यसैगरी गाउँपालिकाका उपाध्यक्ष निर्मला मगरले आयुर्वेद औषधीले हरेक व्यक्ति स्वस्थ र तन्दुरुस्त हुने हुँदा आयुर्वेद औषधीलाई प्राथमिकतामा राखेर प्रयोग गर्न अनुरोध गरे । साथै चौकुने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हित प्रसाद पौडेलले आयुर्वेद चिकित्साले आयु बढाउन सहयोग गर्ने बताए ।
साईड इफेक्ट नहुने भएकोले महामारीमा समेत जडिबुटी प्रयोग गर्न सिफारिस हुँदै आएको छ । हाम्रो भुवनोटमा जडिबुटीको प्रशस्त सम्भावना रहेकोले आयुर्वेद चिकित्सा पद्धतिको बिस्तार गर्दै सबै स्थानीय तहमा आयुर्वेद शाखा स्थापना गर्नु पर्नेमा जोड दिए । शिविर संचालन गर्न आयुर्वेद अस्पताल सुर्खेतका डा. लक्ष्मी नारायण तिवारी सहित डा. यादव प्रसाद उपाध्याय, डा. हेमन्त शाही सहितको टोली रहेको शिविर व्यवस्थापक डिल्ली सापकोटाले जानकारी दिए ।
युग संवाददाता । । १८ असार २०७७, बिहीबार ०७:५२