प्रचण्ड खत्री ।
रुकुम पश्चिम, १७ असार ।
रुकुम पश्चिम मुसिकोट नगरपालिकाले युवाहरुलाई काठको ठेकी बनाउने तालिम दिएको छ । स्थानीय स्तरमा युवालाई रोजगारी सिर्जना गर्नका लागि नगरपालिकाले युवाहरुलाई ठेकी बनाउने तालिम दिएको हो ।
गाउँमा पाईने गिठा नामको रुखबाट ठेकी निर्माण गरिन्छ । नगरपालिकाले वडा नम्बर १ देखि १० सम्मका १÷१ जना गरी १० जनालाई ठेकी बनाउन सिकाइएको छ । रातामाटाका ६९ बर्सिय चन्द्र बहादुर चनाराले प्रशिक्षण दिएका छन् ।
ठेकी भैसी र गाईको दुधबाट दही, मोही, ध्यु बनाउन प्रयोग हुने गर्छ । पछिल्लो समय ठेकीको प्रयोग कम हुँदै गएको छ । रुकुम पश्चिममा भने लोप हुन लागेको ठेकीको संरक्षण र युवालाई रोजगारीका लागि नगरपालिकाले ठेकी बनाउने तालिम दिएको नगर उपप्रमुख प्रेम कुमारी सुनुवारले जानकारी दिइन् ।
नगरपालिकाको दलितको बजेटबाट ठेकी बनाउने तालिम सुरुवात गरिएको नगर उपप्रमुख सुनुवारको भनाई छ । उनले पछिल्लो समय लोप हुँदै गएको ठेकी स्थानीय स्तरमा बनाइउने र ठेकी उत्पादन उद्योग संचालन गर्ने योजना रहेको बताइन् । ठेकी उत्पादनमा नगरपालिकाले तीन लाख रुपैयाँ बजेट छुट्याएको छ ।
युग संवाददाता । । १७ असार २०७७, बुधबार १४:०९