खस भाषाको शब्दकोष लेख्न सरकारले बजेट दिने

जुम्ला, १७ असार ।

खस संस्कृतिका जानकार एवं भाषाविद् रमानन्द आचार्य (७३) ले एक दशकअघि सुरु गरेको ‘खसिया आखर’ अर्थात् ‘बृहत् नेपाली खस शब्दकोष’को कामले पूर्णता पाउने भएको छ । कर्णाली प्रदेश सरकारले खस शब्दकोष लेखनका लागि बजेट विनियोजन गरेपछि एक दशकदेखि लेखिँदै आएको ‘खसिया आखर’ को काममा आशा पलाएको हो ।

आचार्यले २०६५ सालदेखि झरी, हिउँ, सञ्चो, बिसञ्चो नभनी काम गरिरहेका छन् । दराज र राउन्डटेबल भएको साँघुरो कोठाको बीचमा रहेको सानो कुर्चीमा बसेका उनका वरिपरी पाठ्यसामग्री असरल्ल थिए । तर उनको एक्लो प्रयासले मात्रै समयमै शब्दकोष लेख्न सम्भव नभएपछि अब प्रदेश सरकारले सहयोग गर्ने भएको हो ।

जुम्ला चन्दननाथ नगरपालिका आचार्यबाडाका उनी घरबाट दैनिक आधा घण्टाको बाटो हिँडेर सदरमुकाम खलंगास्थित शब्दकोषका लागि काम गर्ने कोठामा पुग्छन् । दिनदिनै खस शब्दकोष लेख्न बिना सेवासुविधा, बिहान घरमा खाएको खानाकै भरमा दिनभर काममा व्यस्त रहने उनलाई खाने पानीको समेत व्यवस्था छैन ।


आफ्नै हातले खस शब्दकोष लेखेर प्रकाशन गर्ने उनको अठोट कहिल्यै हटेन । उनको लेखन अभियानमा धेरैबाट असहयोग पाए पनि आचार्यको सपना पूरा हुने भएको छ । कर्णाली प्रदेश सरकारले आर्थिक वर्ष २०७७÷०७८ को बजेटको बुँदा नम्बर एकसय ३० को पहिलो बुँदामै खस शब्दकोष लेखनका लागि चाहिने आवश्यक बजेटको व्यवस्था गरको हो ।

कर्णाली प्रदेश सरकारले खस शब्दकोष लेखनका लागि आवश्यक बजेट विनियोजन गरेपछि एक दशकदेखि लेखिँदै आएको ‘खसिया आखर’ ले पूर्णता पाउने भएको छ । ढिलै भए पनि प्रदेश सरकारले खस शब्दकोष प्रकाशनका लागि बजेटको व्यवस्था गरेपछि लेखक आचार्यले खुसी व्यक्त गरे । बजेट अभावकै कारण शब्दकोष लेखनमा निकै ढिलाइ भएको समाचार प्रकाशन भएपछि प्रदेश सरकारको ध्यानाकर्षण भएको थियो । शब्दकोषको नाम खस भाषाबाटै ‘खसिया आखर’ राखिएको छ । खस भाषामा खसिया भनेको खस र आखर भन्नाले शब्दभण्डार भन्ने बुझिन्छ । शब्दकोष प्रकाशनपछि यो नै खस भाषाको पहिलो पाण्डुलिपि बन्नेछ ।

विसं १८४६ पूर्वको शक्तिशाली ‘खस’ राज्यको पहिचान विलय हुन नदिन र यहाँको सामाजिक, सांस्कृतिक, ऐतिहासिक तथा पुरातात्तिक महत्वलाई जीवन्त राख्न शब्दकोषले मद्दत गर्ने लेखक आचार्य बताउँछन् । उनका अनुसार एक हजार पृष्ठ लामो ‘खसिया आखर’ मा ४० हजार बढी खस शब्द समेटिनेछन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *


ताजा समाचार