लकडाउनको आज सय दिन

भिडभाड बढ्यो परीक्षणको दायरा बढ्न सकेन

काठमाण्डौं, १७ असार । कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण नियन्त्रणको लागि सरकारले गरेको लकडाउनको आज (बुधवार) सय दिन पुगेको छ ।

चैत ११ गतेदेखि देशभर गरिएको लकडाउन असार १ गतेदेखि केही खुकुलो बनाइएको छ । साउन ७ गतेसम्म लकडाउन खुकुलो बनाउने सरकारले निर्णय गरिसकेको छ । तर सङ्क्रमण बढेमा प्रदेश र पालिकाले केन्द्रको सिफारिसमा निश्चित ठाउँमा लकडाउन कडा या खुकुलो बनाउन सक्छन् ।

पछिल्लो समय देशभर सङ्क्रमण बढ्दै गएको छ भने नागरिकमा भने डर घट्दै गएको छ । शहरी क्षेत्रमा भिडभाड बढे पनि परीक्षणको दायरा बढ्न सकेको छैन । मंगलवारसम्म देशभर संक्रमितको संख्या १३ हजार पाँच सय ६४ पुगेको छ । देशभर २९ जनाको मृत्यु भईसकेको छ । तीन हजार एक सय ९४ उपचारपछि निको भएर घर फर्किएका छन् । दश हजार तीन सय ४१ को उपचार चलिरहेको छ । देशभरका क्वारेन्टाइनमा ५३ हजार ७० जना रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

त्यस्तै, कर्णाली प्रदेशमा मंगलवार थप १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै प्रदेशमा संक्रमितको संख्या एक हजार चार सय ४३ पुगेको छ । मंगलवार आठ जना महिलासहित ७१ जना निको भएर घर फर्किएका छन् ।

प्रदेश स्वास्थ्य सेवा महाशाखाको पछिल्लो तथ्याङ्कअनुसार तीन सय ५६ जना संक्रमित आइसोलेसनमा उपचाररत छन् । कर्णालीमा कोरोना संक्रमण मुक्त हुनेको संख्या एक हजार ७२ पुगेको छ । कोरोना संक्रमणका कारण हालसम्म ६ जनाको मृत्यु भइसकेको छ ।

लकडाउन खुकुलो भएपछि सुर्खेत उपत्यकामा भिडभाड बढेको छ । अर्काे तर्फ प्रदेश अस्तपालमा रहेको पीसीआर मेसिन विग्रिएर थन्किएको छ । सुर्खेतमा कोरोना परीक्षण नहुँदा समस्या भएको छ ।

यस्तै, लकडाउन खुकुलो बनाएपछि आम नागरिकले जथाभावी हिडेको र सामाजिक दुरी कायम नगरेको भन्दै सरकारले लकडाउनलाई फेरी कडाई गर्ने जनाएको छ ।

तपाईको प्रतिक्रिया