आगन्तुकको पर्खाइमा प्रदेश संग्रहालय

सुनिता ढकाल

E-mail : [email protected]
प्राबिधिक सहायक, प्रदेश संग्रहालय,सुर्खेत ।

देश अहिले कोरोनाको कहरमा छ । कोरोनाको कारण देशले वन्दावन्दीको सकस सहिरहेको छ । २०७६ चैत ५ गते COVID संक्रमण रोगथाम तथा नियन्त्रण उच्च स्तरीय समन्वय समितिको निर्णयानुसार देशभरका संग्रहालय सुनसान छन् । कोरोना भाइरसको संक्रमणको जोखिमलाई ख्यालगरी नेपाल सरकारले निर्णय गरे अनुसार प्रदेश संग्रहालय सुर्खेतको विशेषगरी प्रर्दशनी कक्षहरु अर्को निर्र्देशिका नभएसम्मलाई बन्द गरिएको छ । संग्रहालय समाज सेवाका निम्ति मानव र उसको वरीपरिको वातावरणमा रहेका भौतिक र अभौतिक दुवैथरी साक्ष्यहरुको संकलन अभिलेखिकरण संरक्षण सम्वद्धन र प्रकाशन आदि कार्य गर्ने गरी अध्ययन, अनुसन्धान शिक्षा प्रदान र मनोरञ्जन समेतको उद्देश्यले स्थापित मुनाफा रहित संस्था हो ।

नेपालको कर्णाली प्रदेश पुरातात्विक ऐतिहाँसिक, सांस्कृतिक एंवम् धार्मिक विविधताको दृष्टिकोणले अत्यान्तै महत्वपूर्ण स्थल हो । यिनै पुराना लोप हुन लागेका सामग्रीहरुको पहिचान गरी संकलन संरक्षण सम्वद्र्धन तथा प्रर्दशन गर्ने उद्देश्यले यस संग्रहालयको स्थापना भएको हो । विभिन्न काल खण्डमा विकास भएको नेपाली समाजको प्रतिनिधित्व गर्ने कला संस्कृतिहरु र पुरातत्वसँग सम्वन्धित वस्तुहरुको यस संग्रहालयले विषयवस्तु अनुसार वर्गिकरण गरी विभिन्न कक्षमा प्रर्दशनी गरेको छ । मुख्यतयः दुई ओटा प्रर्दशनी कक्ष भएको यस संग्रहालयमा ९०५ सामग्री प्रर्दशनीका लागि राखिएको छ भने १०५ सामाग्री भण्डारण कक्षमा राखिएको छ । विभिन्न परम्परागत पोशाकहरु, गरगहनाहरु, वाजाहरु, मुद्राहरु, परम्परागत यन्त्रहरु, कलात्मक वस्तुहरु, भाँडाहरु, हातहतियारहरु, नापतौल काइकाइ गत सामग्रीहरुका साथै मगर, राउटे, कुमालको सांस्कृतिक झलक दर्शाउने मोडल अर्थात दाएरामा प्रर्दशनीमा राखिएको छ ।

पछिल्लो समयमा प्रदेश संग्रहालय सुर्खेत एउटा अनौपचारिक शैक्षिक केन्द्रको रुपमा स्थापित हुन पुगेको छ । प्रदेश संग्रहालयको महत्व र यसको वहुआयमिक प्रयोजनको बारेमा प्राज्ञिक छलफल र वहसको विषय बन्न थालेको छ । संग्रहालय केवल प्राचीन वस्तुहरु संग्रह गर्ने र मनोरञ्जन प्रदान गर्ने स्थलमात्र नभइ ज्ञानवद्र्धक अध्ययन अनुसन्धान एंव ज्ञान हस्तान्तरण गर्ने एक महत्वपुर्ण थलो पनि भएको छ । यस प्रदेश संग्रहालयले संग्रहालय र नयाँ पुस्ताको सम्वन्धलाई विकास गर्न विद्यालयका विद्यार्थीलाई संग्रहालय सदस्यता वितरण गर्ने र संग्रहालयले आयोजना गरेका कार्यक्रममा उनीहरुलाई सहभागी गराउने कार्यको पनि थालनी गरेको छ ।  हाल यो प्रदेश संग्रहालय पर्यटकको महत्वपूर्ण गन्तव्य स्थल बन्दै गएको छ । यस संग्रहालयमा भ्रमण गर्ने आगन्तुकको संख्या क्रमिक रुपले वृद्धि भइरहेको छ । विगतका वर्षहरुमा भन्दा पछिल्लो वर्षमा यस संग्रहालयमा भ्रमण गर्ने संख्या विद्यार्थीको बढि देखिन्छ । विभिन्न आर्थिक बर्षको आगन्तुको भ्रमणदर यस ग्राफमा देखाइएको छ ।

नोट : विश्वमा फैलिएको कोभिड १९ का कारण आर्थिक वर्ष ०७६/०७७ फागुनसम्म संग्राहलयमा भ्रमण गरेका व्यक्तिको मात्रतथ्यांक समावेश गरिएको छ । यस संग्राहलयमा भ्रमण गर्ने विदेशी आगन्तुकको संख्या न्यून भएकाले उक्त संख्या ग्राफमा समावेश गरिएको छैन ।

प्रदेश संग्रहालय सुर्खेतलाईआधुनिकरण गरी आजको युवा पुस्तालाई प्राचीन संस्कृति तथा सम्पदाहरुको बारेमा बोध गराई कर्णाली प्रदेशको इतिहास तथा संस्कृति प्रति गर्भ गर्न सक्ने वातावरणको सृजना गर्नुसक्नुपर्ने आजको आवश्यकता देखिन्छ । अहिले संग्रहालय सुनसान छ । कर्मचारी नियमित पुगेर रेखदेख तथा संरक्षणको कार्य भइरहेको छ । संग्रहालय आगन्तुकको पर्खाइमा छ । सरकारको निर्देशिका पछि संग्रहालय खुला गरिने छ ।

तपाईको प्रतिक्रिया