कालिकोटमा बाढीपहिरोबाट दश जनाको मृत्यु

कालिकोट, १५ साउन ।
लगातारको वर्षाका कारण कालिकोटमा बाढीपहिरोले जनधनको क्षति पुगेको छ । मंगलबार राती पहिरो जाँदा नरहरीनाथ गाउँपालिकाको वडा नम्बर ७ बागामा एकै परिवारका सात जनाको मृत्यु भएको छ । स्थानीय गंगे बुढाको घरमा पहिरो खस्दा उनीहरुको मृत्यु भएको हो ।
मृत्यु हुनेमा गंगेसहित उनकी पत्नी ६२ वर्षीया मैना बुढा, २४ वर्षीया बुहारी उषा बुढा, १८ बर्षिया विमला बुढा, १० वर्षीय नातीनी चन्द्रिका बुढा, नातीहरु ७ वर्षीय राम बुढा र डेढ वर्षीय चरित्र बुढा रहेको जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रमुख डिएसपी श्यामबाबु ओलियाले जानकारी दिए ।

उनकाअनुसार पहिरोमा परेर गम्भीर घाइते भएकी विमला बुढाको उपचारको क्रममा मृत्यु भएको हो । यस्तै नरहरीनाथ गाउपालिकाकै वडा नं ४ गोठीमा पहिरो जाँदा बले बुढाको घर पुरिएको छ । त्यसक्रममा बले बुढा र उनकी पत्नी मना बुढाको ज्यान गएको छ । त्यस्तै रास्कोट नगपालिका १ चोक्टेबगरमा टेके टमटाको घर बगाउँदा सान्नीत्रिवेणी गाउँपालिका–७ की केश्पुरा शाहीको मृत्यु भएको छ । रास्कोट वडा नं. १ कै जयबहादुर शाहीको घर बगाउँदा उनीसहित छोरीहरु संगिता, अस्मिता, कौशी र छोरा नविन शाही बेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय कालिकोटका अनुसार जयबहादुरको एउटा खुट्टा मात्रै भेटिएको छ ।

त्यस्तै मंगलबार नै तीलागुफा नगरपालिका वडा नं. ८ का टाकुल्ला खोलाको बाढीले बगाएर अविसरा शाही पनि बेपत्ता भएकी छिन् । खाडाँचक्र नगरपालिका वडा नं. ५ की शाही छोरीलाई भेटेर घर फर्कदै गर्दा बाढीमा परी वेपत्ता भएकी हुन् । त्यस्तै साउन १२ गतेको खुलालुमा गएको पहिरोमा परी नगरहरी नाथ गाउँपालिका वडा नं. ८ का पारश भण्डारा पनि बेपत्ता भएका छन् । बेपत्ताहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

यस्तै सान्नीत्रिवेणी गाउँपालिकाको वडा नं २ मा पहिरो खस्दा एक घर पुरिएको छ । बाँकी ८ घर जोखिममा परेका छन् । मानवीय क्षेतीको विवरण प्राप्त भएको छैन । नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली घटनास्थल जाँदैछ । यस्तै सान्नीत्रिवेणी गाउपालिका वडा नं ७ क्यूरीको बस्ती पनि पहिरोको जोखिममा परेको छ । स्थानीय मनराज सिम्खडाका अनुसार गाउँको दुवैतिर पहिरो गएको छ । गाउँ बीचमा परेको छ ।

तपाईको प्रतिक्रिया