सुर्खेत, १४ साउन ।
युरिया, डि.ए.पि. र पोटास लगायतको रासायनिक मल अभाव भएको छ । किसानले खेतबारीमा मल राख्ने बेला अभाव सृजना भएको हो । नेपाल सरकारको सहुलियत दरमा उपलब्ध हुने अनुदानको मल अभाव भएपछि कृषकका अगुवा संघ संस्थाहरुले ज्ञापन पत्र पेश गरेका छन् ।
मलको अभाव भई धानबाली पूर्णतया प्रभावित हुने कृषकको मेहनत र लगानी खेर गई प्रदेशमै भोकमरीको अवस्था सृजना हुने भन्दै कृषकका अगुवा संस्थाहरुको ध्यानाकर्षण भएको छ । बिउ, मल र कृषि प्रविधि राज्यको तर्फबाट सहुलियतमा उपलब्ध हुनुपर्नेमा मलको अभाव भएपछि सरोकारवालाको ध्यानाकर्षण भएको हो । जिल्ला कृषि सहकारी संघ लि., राष्ट्रिय कृषक महासंघ नेपाल, जिल्ला सहकारी संघ, नेपाल जडिबुटी व्यवसायी संघ सुर्खेतले ज्ञापन पत्र पेश गरेका छन् । जिल्ला प्रशासन कार्यालय सुर्खेतमा प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीलाई कृषकका अगुवाहरुले ज्ञापन पत्र बुझाएका थिए ।
जिल्ला कृषि सहकारी संघका अध्यक्ष पञ्चकला रावत, राष्ट्रिय कृषक समूह महासंघका केन्द्रीय उपाध्यक्ष शशिराम आचार्य, प्रदेश अध्यक्ष सन्त बहादुर केसी, जिल्ला सहकारी संघका व्यवस्थापक ढाकाराम न्यौपाने, जडिबुटी व्यवसायी संघका महासचिव मोतिराम शर्मा लगायतको उपस्थिति रहेको थियो ।
युग संवाददाता । । १४ श्रावण २०७७, बुधबार १८:०२