इलाका प्रशासन कार्यालय आठ महिनादेखि प्रमुखविहीन

सल्यान, १३ साउन ।

बागचौर नगरपालिकामा रहेको इलाका प्रशासन कार्यालय आठ महिनादेखि प्रमुखविहीन बनेको छ । ग्रामीण क्षेत्रका नागरिकलाई गाउँमै सेवा दिने उद्देश्यले स्थापना भएको कार्यालयमा प्रमुख नहुँदा सेवाग्राही मर्कामा परेका छन् ।

कार्यालयबाट नागरिकताको प्रमाणपत्र, नाबालक परिचयपत्र, प्रमाणित (थर प्रमाणित, आदिवासी जनजाति, दलित)लगायतका सिफारिसका सेवाहरु प्रदान गर्दै आइरहेको थियो। तर, पछिल्लो समय शााखा अधिकृत नहुँदा सेवा बन्द भएको कार्यालयका नायब सुब्बा हरि सापकोटाले बताए । कार्यालयमा प्रमुख विहिन हुँदा काम गर्नसमेत समस्या भएको कार्यालयका नायव सुब्बा हरि सापकोटाले बताए । आठ महिनादेखि प्रमुख नहुँदा वडा अध्यक्षहरुलाई जिल्लाको सिफारिस दिन आग्रह गरिएको उनले बताए । अहिले अभिलेख भिडाउन मात्र सेवाग्राही आउने गरेको सापकोटाको भनाइ छ ।

इलाका प्रशासन कार्यालयबाट प्राप्त हुने सेवाका लागि सदरमुकाममा रहेको जिल्ला प्रशासन कार्यालयमा धाउनुपर्ने बाध्यता रहेको सेवाग्राहीको गुनासो छ । बागचौर नगरपालिका, दार्मा गाउँपालिका र कुमाख गाउँपालिकाका सेवाग्राहीलाई मध्यनजर गरी बागचौरमा २०७२ सालमा इलाका प्रशासन कार्यालय स्थापना गरिएको थियो । प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले इलाका प्रशासन कार्यालय सल्यानबाट कार्यालय प्रमुखको सरुवा भएलगत्तै कर्मचारी पठाइदिन पटक पटक गृह मन्त्रालयलाई पत्राचार गरेको गरेको बताए ।

तपाईको प्रतिक्रिया