सम्पादकीयः छोरीको सुरक्षा

समाज बदलिदो छ । मानव स्वभावहरु परवर्तन हुँदैछन् । कुनैबेला मानिसहरु व्यक्तिगत थिए । अर्थात उनीहरु आफ्नो मात्र स्वार्थ पूरा गर्दथे । तर विस्तारै मानव समुदायमा रुपान्तरण हुँदै गयो । एक आपसमा मिलेर बस्न थाले । परिवार र छिमेकमा रुपान्तरण भयो मानव । यतिबेला मानव समुदाय सूचना र प्रविधिमा जेलिएको छ । सूचना प्रविधिको प्रयोगले एकातिर मानव समुदायलाई सहज बनाएको छ भने अपराधमा पनि बृद्धि भएको छ । नेपाली समाजमा छोरीलाई पूजा गरिन्छ । परापूर्व कालदेखि यो चल्दै आएको पनि छ । तर पछिल्ला दिनमा छोरीहरु आफ्नैबाट असुरक्षित हुन थालेका छन् । अर्थात छोरीहरुमाथि आफ्नै र चिनेजानेका व्यक्तिहरुबाट बलात्कार र हत्या हुने गरेको छ । छोरीहरुको सुरक्षामा गम्भिर प्रश्न खडा भएको छ । आफ्नै बाबु, दाई, काका र शिक्षकबाट नै बालिका र किशोरीहरु सुरक्षित छैनन् । विभिन्न बहानामा बालिकाहरु बलात्कृत हुने र हत्या हुने क्रम रोकिएको छैन । पछिल्लो दश वर्षको तथ्याकं केलाउँदा कर्णालीमा धेरै बालिकाहरु आफन्तबाटै बलात्कारको शिकार बनेका छन् । विश्वास गरेका र सुरक्षा दिनुपर्नेहरुले नै बालिकामाथि बलात्कार गरेका घटनाहरु धेरै छन् ।

बालिकाहरु जोगाउन समस्या र चुनौतीहरु देखिएका छन् । अशल शिक्षा दिने शिक्षकबाटै बालिकाले अस्मिता गुमाउनु पर्ने अवस्था छ । यतिमात्र होइन, जन्म दिने बाबुबाटै धेरै बालिकाहरु यौनहिंसा सहन बाध्य छन् । अर्कोतर्फ छिमेकमा चिनेजानेका र आफन्तहरुप्रति नै विश्वास गुमेको छ । किनकी जसलाई विश्वास गरिएको छ, उनीहरुबाटै बलात्कारमा पर्ने गरेका छन् छोरीहरु । हाम्रो समाजमा अहिले पनि चेतनाको अभाव छ । अशिक्षा र अज्ञान भन्ने मात्र हुन् । कतिपय शिक्षित र जानेबुझेकाहरुबाटै छोरीमाथि विभेद हुने गरेको छ । कतिपय अवस्थामा छोरीहरुमाथि गर्भमै विभेद हुने गरेको छ । गर्भमा छोरा भए जन्माउने र छारी भए भ्रुण हत्या गर्ने परिपाटी अहिले पनि छ । यसले गर्दा अधिकांश छोरीहरु गर्भमै मारिन्छन् । यस्तै धर्तीमा जन्म लिएको अवस्थामा पनि छोरीहरु समाजमा सुरक्षित रुपमा हिँडडुल गर्न नपाउने अवस्था छ । कारण कतिबेला बलात्कार वा हत्या हुने भन्ने सुरक्षाको वातावरण छैन । यसकारण पनि छोरीहरुको सुरक्षा र आत्मसम्मानमा चुनौती देखिएका छन् ।


केहीवर्ष पहिला सुर्खेतमा एउटा बलात्कारको घटना भयो । त्यो घटनामा प्रहरी नै संलग्न थिए । अर्थात सुरक्षाको जिम्मेवारी लिएका प्रहरीबाटै किशोरी बलात्कृत भइन् । त्यतिमात्र होइन, उनको हत्या पनि भयो । यसरी हेर्दा सुरक्षाकर्मीबाट पनि छोरीहरु असुरक्षित रहेको देखिन्छ । यसको पछाडि हामीकहाँ भएको कानुनको कमजोर कार्यान्वयन नै हो । कानुनले अपराध भने पनि यस्तो कतिपय मुद्दाहरु सुमदायमा नै मिलाउने, मुद्दालाई कमजोर बनाउने, आर्थिक प्रलोभनमा पार्ने र पहुँच र शक्तिको आडमा पीडितलाई न्याय नदिने र दोषीलाई उम्काउने गरिन्छ । यसले पनि बलात्कार र यौन अपराधका घटनालाई बढवा दिएको छ । यसैले छोरीहरुको सुरक्षाका लागि अभिभावकमा चेतना, बालिकाहरुमा आत्मरक्षाको तालिम र कानुनको कडा कार्यान्वयन हुन आवश्यक छ ।

(२०७७ साउन १३ गते मंगलबार युगआह्वान राष्ट्रिय दैनिकमा प्रकाशित)


Leave a Reply

Your email address will not be published. Required fields are marked *


ताजा समाचार