बाल बिवाह गराउँदा देवर–भाउजु पक्राउ

कालिकोट, १३ साउन ।

जिल्ला प्रहरी कार्यालय कालिकोटले बालबिबाह मुद्दामा देवर भाउजूलाई पक्राउ गरेको छ । जिल्लाको नरहरीनाथ गाँउपालिका वडा नं. ६ का २० वर्षीय दिनेश विक र उनकी भाउजु ३० वर्षीय तारा विकलाई प्रहरीले पक्राउ गरेको हो ।

नरहरीनाथ गाँउपालिका –६ का २० दिनेशले भाउजू तारा विकको सहयोगमा खाँडाचक्र नगरपालिका–२ की १२ वर्षीया बालिकालाई चोरी विवाह गरेको आरोपमा प्रहरीले दुवैलाई पक्राउ गरेको हो । वनमा गाई चराउन गएकी बालिकालाई दिनेशकी भाउजू ताराले ललाइफकाइ गरी ल्याएर देवर दिनेशसँग विवाह गराइ दिएको जिल्ला प्रहरी प्रमुख डीएसपी श्यामबाबु ओलीयाले जानकारी दिए ।

बालिकालाई यही साउन ८ गते भगाइएको थियो । प्रहरीलाई १० गते जानकारी गराएपछि ११ गते दुवैलाई पक्राउ गरी मुद्दा दर्ता गरिएको डीएसपी ओलीयाले बताए । उनका अनुसार किशोरीलाई प्रहरीले आफन्तको जिम्मा लगाएको छ ।

बालिकाका बाबुले प्रहरीकहाँ जाहेरी दिएपछि प्रहरीले नरहरीनाथ गाँउपालिका वडा नं. ६ माल्कोट पुगेर दिनेश र उनकी भाउजु तारालाई पक्राउ गरी सदरमुकाम ल्याएको ओलियाको भनाइ छ ।

तपाईको प्रतिक्रिया