काँक्रेविहारमा वृक्षारोपण

सुर्खेत, १२ साउन ।

काँक्रेविहार संरक्षित क्षेत्रमा टीमुरका विरुवा रोपिएको छ । वीरेन्द्रनगर नगरपालिका वडा नम्बर ९ लाटिकोईलीका युवाहरुको सक्रियतामा टीमुरको विरुवा रोपिएको हो । गुँरास गाँउपालिकाबाट प्राप्त दुई सय टिमुरका विरुवा उक्त क्षेत्रमा पहिलो पटकको परिक्षणको रुपमा रोपिएको हो । उक्त क्षेत्रमा विरुवा रोप्नका लागि गुँरास गाउपलिकाकाद्वारा निःशुल्क उपलब्ध गराइएको हो ।

काँक्रेविहार युवा क्लवको माग अनुसार कृषि विकास फर्म र गुराँस गाउँपालिकाको साझेदारीमा उत्पादन गरिएको टिमुरको विरुवा वितरण गरिएको गाउँपालिकाका अध्यक्ष खेमराज वलीले बताए । ‘तराईका र भित्री मधेशका भुभागमा टिमुर खेतीका लागि परिक्षणको रुपमा क्लवले माग गरेअनुसार विरुवा दिइएको हो’ अध्यक्ष वलीले भने, ‘काँक्रेविहार कर्णाली प्रदेशकै पर्यटकीय क्षेत्र एवंम् संरक्षित क्षेत्र भएकोले त्यहाँ विभिन्न जडिबुटीहरु उत्पादन गर्न सके यसको महत्व बढ्ने हाम्रो विश्वास छ ।’

सोमबार एक कार्यक्रमको आयोजाना गरी समाजसेवी दलबहादुर खत्री र शिक्षक संघ सुर्खेतका अध्यक्ष गोविन्द्र गिरीसहितको सहभागितामा विरुवा रोपिएको हो । अहिले देश तथा विदेशमा नेपाली टिमुरको माग बढ्दै गएकाले व्यवसायीक रुपमा टिमुर खेति गर्नेहरु पनि बढ्दै गएको छ ।

पहाडी क्षेत्रमा उत्पादन हुने टिमुर काँक्रेविहारमा पहिलो पटक परिक्षणको रुपमा रोपिएको स्थानिय युवा सनम गिरीले बताए । रोपिएका विरुवाहरु काँक्रेविहार मञ्च नजिक, बरकुना र पातलगंगा नजिकको जंगलमा रोपिएको छ । रोपिएका यी टिमुरका विरुवाहरु सफल भए आगामी दिनमा काँक्रेविहारको खाली जमिनमा थप विरुवा रोपिने स्थानिय युवा बसन्त गिरी र नविन गिरीको भनाई छ । बृक्षारोपण कार्यक्रममा अनमोल श्रेष्ठ, सुशान्त गिरी, राजन गिरी,

प्रदिप रोकाय, रुद्ध खत्री र अनिल दाहल नरेश शर्मा लगायतका ४० जना युवाहरुको सहभागिता रहेको थियो । वृक्षारोपण कार्यक्रममा लाटीकोईलीका युवाहरुलाई सहयोग गर्न कैँची ग्याङ्ग युवाहरु पनि सहभागी भएका थिए ।

तपाईको प्रतिक्रिया