होम्लु भोटलामा भाषाको व्याकरण तयार

हुम्ला, ११ साउन ।

नाम्खा गाउँपालिकाले होम्लु भोटलामा भाषाको व्याकरणको प्रारम्भिक खाका तयार गरेको छ । गाउँपालिकाका सबै विद्यालयमा मातृभाषाको रुपमा होम्लु भोटेलामा भाषाको पठन पाठन सुरु गर्न गाउँपालिकाले व्याकरण तयार गरेको हो ।

वडा नम्बर २ केमीका स्थानीय कुन्जोक लामाले आठ महिना लगाएर होम्लु भोटलामा भाषाको व्याकरणको प्रारम्भिक खाका तयार गरेको बताए । भाषा आयोगको समन्वय र गाउँपालिकाको सहयोगमा लामाले व्याकरणको प्रारम्भिक खाका तयार पारेका हुन् । उनले गत मंसिरमा सो कामको सुरुवात गरेका थिए । व्याकरणमा १०३ अक्षरलाई समेटेर तयार गरिएको छ । उनले पाँच अनुच्छेदमा तयार पारिएको व्याकरणले सिंगो नाम्खा गाउँपालिकामा बस्ने १७ बस्तीका लामा समुदायले बोल्ने मातृ भाषाको संरक्षण हुने बताए ।

स्थानीय स्तरका विज्ञहरुको सुझाब संकलन गरि समेटिएको व्याकरणलाई भाषा आयोगले छानबिन र अध्ययन पश्चात मान्यता दिएपछि मात्र यसले कार्यान्वयन पाउने छ । गाउँपालिका अध्यक्ष विष्णु बहादुर लामाले गाउँपालिकामा रहेका सबै विद्यालयमा एक एक कक्षामा मातृ भाषाको पठन पाठन कार्य सुरु गर्नका लागि होम्लु भोटलामा भाषाको व्याकरण तयार गरिएको बताए ।

तपाईको प्रतिक्रिया