सुर्खेत, १० साउन ।
सुर्खेतको पञ्चपुरीमा २०७४ चैत १३ गत एक बालिकाको बलात्कारपछि हत्या भयो । पञ्चपुरी नगरपालिका–३ चौरकी बालिका गोरीकला रोकायाको बलात्कारपछि भएको हत्यामा प्रहरी नै संलग्न थिए । एसइई दिनका लागि बाबियाचौरमा कोठा भाडामा बस्दै आएकी उनको बलात्कार र हत्यामा प्रहरी जवान हरिप्रसाद कोइराला लगायतको संलग्नता रहेको अदालतले पुष्टि गरिसकेको छ । घटनापछि तीन जनाले हाल जन्मकैदको सजाय भोगिरहेका छन् ।
यस्तै कालिकोटको तिलागुफा नगरपालिका–५ खल्लागाउँकी बालिका मनशोभा न्यौपानेको २०७४ भदौं १७ गते बलात्कारपछि हत्या भयो । सुर्खेतबाट कालिकोट जानेक्रममा दैलेखको आठबीस नगरपालिका–४ खिड्कीज्यूँलाको एक होटलमा उनलाई बन्धक बनाएर बलात्कार गरिएको थियो, बालिकाले यो घटनाबारे प्रहरीमा उजुरी दिने बताएपछि बालिकालाई बिष खुवाएर हत्या गरिएको थियो । २०७२ माघ ४ गते रुकुमपश्चिमको चौरजहारी नगरपालिका–१२ खोलागाउँकी बालिका सुस्मिता शाहमाथि स्थानीयबाटै बलात्कार भयो ।
जंगलबाट दाउरा लिएर फर्कदै गर्दा गाउँकै तीन जना युवाले उनीमाथि सामूहिक बलात्कार गरेका थिए । बलात्कारपछि हत्या गरेको अवस्थामा सुस्मिताको शव फेला परेको थियो । उनको बलात्कार र हत्यामा पनि गाउँकै आफन्त र चिनेजानेकाहरु नै थिए । २०७२ सालको चैत १४ गते सल्यानको कालागाउँमा १० वर्षीया बालिका मिना कुमाइको हत्या भयो । हत्याको कारण बलात्कार नै थियो । जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार यी बालिकाको बलात्कार र हत्यामा पनि गाउँकै युवाको संलग्नता थियो ।
माथि उल्लेखित घटनाहरु कर्णालीमा पछिल्लो १० वर्षको अवधिमा बालिकाको बलात्कारपछि हत्या गरिएका केही प्रतिनिधिमुलकमात्र हुन् । पछिल्लो समय कर्णालीमा धेरै बालिकाको बलात्कार पछि हत्या भएको पाइएको छ । पछिल्ला वर्षमा भएका घटनाहरुलाई केलाउँदा कर्णालीमा बालिकाहरु आफन्त, चिनेजानेका व्यक्ति र सुरक्षाकर्मीबाटै बढी असुरक्षित देखिएका छन् । कतिपय यस्ता घटनाहरु समुदायमै मिलापत्र गर्ने, आर्थिक प्रलोभवनमा मिलाउने र प्रहरीसम्म उजुरी नआउने भएका कारण संख्या कम देखिएको हुन सक्ने प्रहरीको भनाइ छ ।
सुर्खेतमा दश वर्षको अवधिमा बलात्कारपछि मारिए चार बालिका
कर्णालीको राजधानी सुर्खेतमा मात्र पछिल्लो १० वर्षको अवधिमा बलात्कारपछि चारजना बालिकाको हत्या भएको छ । ‘घटनालाई केलाउँदा अधिकांश घटनामा बालबालिकालाई ललाइफकाई बलात्कार गरेर हत्या गरिएको पाइएको छ’ सुर्खेतका डीएसपी रामप्रसाद घर्तीमगरले भने, ‘पछिल्लो दश वर्षको अवधिमा सुर्खेतमा चारजना बालिकाको बलात्कारपछि हत्या गरिएको छ ।’
बालिकाहरुलाई प्रलोभनमा पारेर आफन्त र चिनजानकै व्यक्तिहरुले बलात्कार र हत्या गर्ने गरेको उनको भनाइ छ । जिल्लामा बलात्कारका घटनाहरुको लामो सुची नै छ । बलात्कारपछि हत्या भएका बालिकाको संख्या चार जना रेकर्डमा भए पनि महिलामाथि बलात्कार भएका घटना धेरै रहेको जिल्ला प्रहरी कार्यालयको भनाइ छ ।
त्यस्तै पछिल्लो १० वर्षमा अवधिमा रुकुमपश्चिममा मात्र ४० वटा बलात्कारका घटना भएका छन् । डीएसपी ठगबहादुर केसीका अनुसार जिल्लामा पाँच वटा यौन दुव्र्यवहारका घटना भएको छ ।
दैलेखमा पनि पछिल्लो पाँच बर्षमा ४८ वटा बलात्कार र १९ वटा यौन दुव्र्यवहारका घटना भएका छन् । जुम्लामा दश वर्षको २८ वटा बलात्कारका घटना भएका छन् । डीएसपी लालबहादुर धामीकाअनुसार जुम्लामा आठ वटा बालयौन दुव्र्यवहारका घटना भएका छन् । त्यस्तै दश वर्षको अवधिमा कालिकोटमा १८ वटा बालिका बलात्कार घटना भएको सूचना अधिकारी यक्षराज जोशीले जानकारी दिए ।
जनचेतनामुलक कार्यक्रमलाई प्राथमिकता
कर्णालीमा बलात्कारका घटनाहरु बढ्दै गएपछि प्रहरीले अनुसन्धान र जनचेतनामूलक कार्यक्रमलाई प्राथमिकतामा राखिएको जनाएको छ । बालिकालाई बलात्कारबाट बचाउन समुदाय प्रहरी साझेदारी कार्यक्रम, स्कूल–स्कुलमा सचेतनामूलक कार्यक्रम तथा जनप्रतिनिधि र बालकालिकाको क्षेत्रमा काम गर्ने विभिन्न संघसंस्थासँगको समन्वयमा जनचेतनामूलक कार्यक्रमलाई प्राथमिकता दिइएको प्रदेश प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । ‘अधिकाँश घटनामा आफन्तबाटै बालिकाहरु बलात्कृत हुने र हत्या गरिएका छन्’ प्रदेश प्रहरी कार्यालयका एसएसपी राजेशनाथ बास्तोलाले भने, ‘बालिकालाई सुरक्षित राख्न सचेतना फैलाउनु पर्छ, अपराधीलाई कानुनी कारबाहीका लागि प्रहरीले तत्काल रेस्पोन्स गर्दै आएको छ ।’
बलात्कार जघन्य अपराध भएको भन्दै अनुसन्धानको पाटोलाई थप बलियो बनाउँदै गएको उनको भनाइ छ । आफन्तबाटै बालिकाहरु असुरक्षित हुन थालेकाले पनि समस्या भएको प्रहरीको भनाइ छ । यस्ता घटना रोक्न अभिभावकहरु सचेत हुनुपर्ने र बालिका तथा किशोरीहरुलाई आत्मरक्षा सम्बन्धी तालिम दिनुपर्ने अधिकारकर्मीहरुको भनाइ छ ।
सुरक्षाकर्मी नै संलग्न
बलात्कार लगायतका अपराध रोक्ने काम सुरक्षाकर्मीको हो । अझ भनौं यस्ता अपराधमा पीडित भएकाहरुलाई न्याय दिलाउन प्रहरीको भूमिका महत्वप्ुार्ण हुन्छ । तर नागरिकलाई सुरक्षा दिने सुरक्षाकर्मी नै बलात्कार र हत्याका घटनामा संलग्न हुने गरेको पाइएको छ । केही वर्षअघि सुर्खेतमा बलात्कारपछि हत्या गरिएकी बालिका गोरीकला रोकायाको हत्यामा प्रहरीको नै संलग्नता हुनुले पनि यसलाई पुष्टि गरेको छ । कतिपय बालिकाहरु आफन्तबाटै बलात्कृत हुने गरेका छन् ।
चिनेजानेका र आफन्त भनिएकाहरुबाटै ललाइफकाई गरी बलात्कार गर्ने गरिएका धेरै घटना छन् । बलात्कार गर्ने र त्यसपछि हत्या गर्नेक्रम रोकिएको छैन । कर्णालीका विभिन्न जिल्लामा बलात्कारपछि हत्या भएको घटना धेरै छन् । पछिल्ला वर्षमा सुचना प्रविधिको पहुँच र फेसनका कारण पनि बलात्कारका घटनाहरु बढ्दै गएको प्रहरीको भनाइ छ । प्रहरीका अनुसन्धान अधिकारीहरुका अनुसार सामाजिक संजालको बढ्दो पहुँचले किशोरीहरुले अपरिचितलाई पनि तत्कालै विश्वास गर्ने र त्यही विश्वासका कारण घात हुँदा बलात्कारमा पर्ने गरेका छन् ।
प्रिन्सिपलविरुद्ध प्रहरीमा उजुरी
निजी स्कुलका एक प्रिन्सिपलले १४ वर्षीया बालिकामाथि बलात्कार गरेको आरोपमा प्रहरीमा उजुरी दर्ता भएको छ । सल्यानको बागचौर नगरपालिकामा रहेको एक बोर्डिङ स्कुलका प्रिन्सिपलले आफ्नै १४ वर्षीया विद्यार्थीलाई बलात्कार गरेको पीडितको भनाइ छ । बागचौरमा रहेको एक निजी स्कुलका प्रिन्सिपल ३६ वर्षीय रामचन्द्र केसीले बालिकामाथि बलात्कार गरेको भन्दै पीडित परिवारले इलाका प्रहरी कार्यालय थारमारेमा उजुरी दिएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रमुख डीएसपी ढकेन्द्र खतिवडाले जानकारी दिए ।
युग संवाददाता । । १० श्रावण २०७७, शनिबार १३:२६