ट्रमा सेन्टर सार्न मेयरदेखि सभामुखको चलखेल

सुर्खेत, ९ साउन ।
सरकारले कर्णाली प्रदेशका दुई स्थानमा ट्रमा सेन्टर स्थापना गर्ने निर्णय गरेको छ । संघीयको सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सुर्खेत–जुम्ला (कर्णाली राजमार्ग) को राकम र छिन्चु–जाजरकोट–डोल्पा सडक खण्ड सिम्ता राकमको जामुने बजारमा ट्रमा सेन्टर स्थापना गर्ने निर्णय गरेको थियो । कर्णाली प्रदेशमा पर्ने दुई ठुला राजमार्गमा यात्रा गर्ने सवारी साधानहरु दुर्घटना भएमा तत्काल उद्दार गरी स्वास्थ्य उपचार गर्ने उद्देश्यले विशेषज्ञ डाक्टरसहितको ट्रमा सेन्टर स्थापनाको तयारी गरिएको हो ।

नितिगत निर्णय भएपछि पूर्वाधारको लागि सम्बन्धित स्थानमा पर्ने स्थानीय तहहरुले आवश्यक पूर्वाधार निर्माणको सम्भाव्यता, जग्गा, भौतिक पूर्वाधारको अवस्थाका बारेमा तयारी गरिसकेका छन् । कर्णाली राजमार्गको राकममा पर्ने आठविस नगरपालिका र छिन्चु–डोल्पा राजमार्गको राकम जामुने बजारमा पर्ने सिम्ता गाउँपालिकाले आवश्यक तयारी गरेका हुन् ।

कर्णाली राजमार्गमा पर्ने आठविस न.पा.–४ को राकम कर्णालीमा स्थापना गर्ने तयारी गरिएको ट्रमा सेन्टर अन्यत्र सार्न चलखेल सुरु भएको छ । राकम स्वास्थ्य चौकीलाई स्तर बृद्धि गर्ने योजना हो । कर्णाली प्रदेश सरकारका सभामुख राज बहादुर शाही, आठविस नगरपालिकाका मेयर खड्गराज उपाध्याय, सांसद हिम बहादुर शाहीसहितले ट्रमा सेन्टर सार्न चलखेल गरेका हुन ।

आठबिस न.पा.–४ को राकम कर्णालीमा कर्णाली राजमार्गमा सम्भावित सवारी दुर्घटनाका घाइतेहरुको तत्काल राहत र उपचारका लागी स्थापना गर्ने भनिएको अत्याधुनिक सुविधायुक्त ट्रमा सेन्टरमा पनि अस्वभाविक चलखेल सुरु भएको छ । राजमार्गदेखि टाढा सार्न खोजिएपछि स्थानीयहरुले विरोध जनाएका छन् । राजमार्गमा हुने दुर्घटनाहरुलाई ध्यान दिएर खोल्न थालिएको ट्रमा सेन्टर धेरै टाढा पुरयाउँदा सेवा प्रवाह प्रभावकारीता नहुने भन्दै सरोकारवाला तथा स्थानीयले विरोध जनाएका छन् ।

सभामुख शाहीको आग्रहमा, सभामुखकै कार्यकक्षमा नगर प्रमुख (मेयर) खड्गराज उपाध्यायको अध्यक्षतामा सरोकारवालाको बैठक बसेको छ । सभामुख शाहीको रोहवरमा भएको छलफलमा प्रदेशका सामाजिक विकास मन्त्री दल रावल, नगरपालिकाका उपप्रमुख दिपा बोहरा, प्रदेश सांसद हिम बहादुर शाहीसहित सरोकारवालाको उपस्थिति रहेको थियो ।

बैठकमा ट्रमा सेन्टर आठविस नगरपालिका वडा नं. ८ को तिलेपाटा डाँडामा सार्ने विषयमा छलफल भएको स्रोतले जानकारी दिएको छ । मुख्य राजमार्गदेखि करिव १५ किलोमिटर भित्र नयाँ स्थान तिलेपाटामा ट्रमा सेन्टर सार्न छलफल गरिएको हो । राजमार्गसंगै जोडिएको राकम कर्णालीमा ट्रमा सेन्टरका लागि आवश्यक जग्गा र भौतिक पूर्वाधार भएपनि राजनीतिक नेतृत्वको चलखेलले अन्यत्र सार्न छलफल चलाइएको स्रोतले जानकारी दिएको छ ।

सभामुखको कार्यकक्षमा भएको बैठकका विषयमा नगरका उप प्रमुख दिपा बोहराले नगरपालिकामै हुनुपर्ने बैठक प्रदेश सभामा राखिनु आश्चर्य लागेको बताउनुभयो । उहाँले भन्नुभयो ‘राकममा नगरसभाबाट पास गरेर यस अघि तोकिएको जग्गा अब नहुने भयो भन्ने विषय राखिएको थियो तर ट्रमा सेन्टरनै सार्ने विषयमा छलफल भएको जानकारी छैन ।’ सभामुखको पहलमा भएको बैठकमा भने ट्रमा सेन्टर स्थापना गर्न नगरपालिकाको, स्वास्थ्य विज्ञान प्रतिष्ठान, सामाजिक विकास मन्त्रालय र संघीय सरकारको विषयमा छलफल भएको उहाँको भनाई थियो ।

सय शैयाको ट्रमा सेन्टर बनाउने सम्झौता
जुम्ला सडक खण्डको बीच भागमा पर्ने आठबीस नगरपालिका–४ राकम कर्णालीमा १ सय शैयाको ट्रमा सेन्टर बनाउन नगरपालिका र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाबीच केही महिनाअघि १३ बुँदे सम्झौता भएको थियो ।  सम्झौतासँगै राकम कर्णालीमा बढीमा डेढ हप्ताभित्र एमबीबीएस डाक्टरले बिरामीको उपचार गर्न शुरू गर्ने भएका छन् ।

सम्झौतामा आठबीस नगरपालिकाका तर्फबाट नगर प्रमुख खड्गराज उपाध्याय तथा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको तर्फबाट निर्देशक धर्मराज गोसाइंले हस्ताक्षर गरेका छन् । सम्झौतामा सय शय्याको ट्रमा सेन्टर अस्पताल निर्माणको लागि नगरपालिका र प्रतिष्ठानबीच समन्वय र सहकार्य हुनुपर्ने बताइएको छ । अस्पताल निर्माण र सञ्चालन हुँदा २ पक्षबीच शर्तको पालना गर्नुपर्ने गरी सम्झौता भएको छ ।

प्रदेश र संघीय सरकारसँग समन्वय गरी २ पक्षले अस्पताल निर्माण र सञ्चालन गर्ने, सर्बसुलभ विशेषज्ञ सेवा उपलब्ध गराउने उद्देश्यका साथ सम्झौता भएको नगर प्रमुख उपाध्यायले बताए । उनका अनुसार ‘एक्सरे मशिन, ल्याब, लगायतका सामाग्री र डाक्टरको फिल्ड भत्ताको व्यवस्था नगरपालिकाले गर्ने भएको छ भने प्रतिष्ठानले डाक्टर र तलबको व्यवस्थापन गर्नेछ ।

‘अस्पताल भवनको लागत इस्टमेट सहितको डीपीआर नयाँ शहर आयोजनाले गर्नेछ,’ प्रमुख उपाध्यायले भने, ‘शिक्षण अस्पताल निर्माण भई सञ्चालनमा आए अछाम, दैलेख, कालिकोट लगायत जिल्लाका नागरिकहरू प्रत्यक्ष रुपमा लाभान्वित हुने अपेक्षा गरेका छौं ।’ नगरपालिकाले अस्पतालका लागि ‘राकम कर्णालीमै कुन्टामा १०५ रोपनी सार्वजनिक जग्गा गत माघ २६ गतेको नगर सभाबाट नाममा गरिदिन नेपाल सरकारसँग माग गरी आवश्यक निर्णय पठाइसकिएको उनले बताए ।

तपाईको प्रतिक्रिया