चार महिनापछि चले सार्वजनिक गाडी, सावधानी अपनाउँदै, यात्रा गर्दै

सुर्खेत, ९ साउन ।

कोरोना महामारीका कारण चार महिनासम्म सार्वजनिक गाडी चल्न पाएनन् । तर लकडाउन खुलेसँगै बिहीबारबाट सार्वजनिक गाडीहरु सञ्चालनमा आएका छन् । यद्यपी भदौ १ गतेसम्म जिल्लाभित्र मात्र गाडी चल्न पाउनेछन् ।

सार्वजनिक गाडीहरु चल्न थालेपछि सर्वसाधारणलाई कामका लागि गन्तव्यमा जान सहज भएको छ । त्यस्तै लामो समयपछि गाडी चलाउन पाउँदा यातायात व्यवसायीले पनि राहत महशुस गरेका छन् । कोरोनाबाट बच्न आवश्यक सुरक्षा सावधानीहरु अपनाएर सार्वजनिक गाडी चलाउन थालिएको हो । सिट संख्याको आधामात्रै यात्रु बोक्ने र पहिलेकोभन्दा दोब्बर भाडा लिन पाउने भएपछि सार्वजनिक गाडी सञ्चालन भएका हुन् । अब सार्वजनिक गाडीमा यात्रा गर्दा यात्रुले मास्क र सेनिटाइजर तथा यातायात मजदुरले मास्क, सेनिटाइजरका साथै पञ्चाहरु प्रयोग गर्नुपर्नेछ ।

लकडाउन अघि मध्यपश्चिम जीप यातायात प्रालिले वीरेन्द्रनगरबाट सुर्खेत र छिमेकी जिल्लाहरुमा दैनिक ४०÷५० वटा गाडीहरु चलाउँथ्यो । गाडीलाई यात्रु बोक्न भ्याइनभ्याई हुन्थ्यो । तर लकडाउनपछि आधा यात्रु बोकेर गाडी चलाउन थालेको छ । ‘कोरोनाको त्रासका कारण सिट क्षमताभन्द्या आधामात्र यात्रु बोक्न पाउँछौ’ मध्यपश्चिम जीप यातायात प्रालिका सञ्चालक गणेशबहादुर गुरुङ्गले भने, ‘दोब्बर भाडा लिएका छौँ, यात्रु नहुँदा एकजना मात्र यात्रु बोकेर भए पनि गाडी चलाएका छौँ । सामान्य अवस्था नहुँदासम्म पैसा कमाउनेभन्दा पनि सेवा गनुपर्ने देखिन्छ ।’ सुर्खेतमा बिहीबार वीरेन्द्रनगरदेखि बडिड्चौर, गुराँसे, रानीघाट लगायतका स्थानमा गाडी सञ्चालन भए ।

त्यस्तै सुर्खेत काँक्रेविहार प्रालिले पनि बिहीबार पहिलो दिन भएको यात्रुको चाप कम भएकाले सात वटा गाडी मात्रै चलायो । यात्रु थोरै भए पनि वीरेन्द्रगनर–छिन्चु–बोटेचौर– धारापानी र बबईसम्म गाडीहरु चलाएको प्रालीले जनाएको छ । ‘लकडाउन अघि दैनिक ४० भन्दाबढी गाडीहरु छुट्थे, तर बिहीबार पहिलो दिन भएकाले यात्रु कम आए’ सुर्खेत काँक्रेविहार यातायात प्रालिका कर्मचारी भूषण रोकायाले भने, ‘छोटो रुट भएका कारण हामीले टिकट नै काटेका छैनौँ, दुइचार दिन त यात्रु नपाए पनि गाडी चलाउनु पर्नेछ ।’

यात्रामा लापरबाही गरे कारबाही

सार्वजनिक यातायात संचालन भए पनि कोरोनाको जोखिम कायमै छ । कोरोना संक्रमणबाट जोगिन यात्रामा यात्रु र यातायात व्यवसायीले स्वास्थ्य सतर्कता अपनाउनुपर्ने हुन्छ । तर यात्राका क्रममा आवश्यक सावधानी र सतर्कता नअपनाएमा प्रहरीले कारबाही गर्ने भएको हो । यात्रु र यातायात व्यवसायीले आवश्यक स्वास्थ्य सुरुक्षाका उपायहरु पालना गरे÷नगरेको विषयमा जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतले चेकजाँच र निगरामीमा कडाइ गरेको छ ।

यात्राका क्रममा कोरोना संक्रमण नहोस् भन्नका लागि आफूहरुले चेकजाँचमा कडाइ गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । ‘यात्रुले आवश्यक स्वास्थ्य सुरक्षाका उपायहरु अपनाएका छन् कि छैनन् भनेर ठाउँठाउँमा चेकजाँच गरेका छौँ’ सुर्खेतका ट्राफिक प्रहरी प्रमुख उदयसिंह सिजापतिले भने, ‘प्रशासनसँग भएको सहमति पालना नगर्ने र यात्रुको स्वास्थ्यमा खेलवाड गर्नेलाई कारबाही हुन्छ ।’ उनका कोरोना जोखिमबाट बच्नका लागि गाडीमा आधा मात्र यात्रु बोक्नुपर्नेछ भने जिल्लाभित्र मात्र गाडी संचालन गर्नुपर्नेछ । यस्तै सुरक्षाका उपायहरु (दुरी कायम गरेर बस्ने, मास्क लगाउने र सेनिटाइजरको) प्रयोग नगर्नेलाई कारबाही गरिने उनको भनाइ छ ।

यात्रुलाई मास्क र सेनिटाइजर अनिवार्य

सार्वजनिक यातायातमा यात्रा गर्दा यात्रुलाई कोरोना संक्रमण हुन नदिनका लागि विभिन्न नियमहरु अपनाइएको छ । जसमा यात्रुलाई मास्क र सेनिटाइजर प्रयोग अनिवार्य गरिएको छ । गाडीमा यात्रा गर्दा यात्रुले अनिवार्य रुपमा मास्क लगाउनुपर्ने छ । यस्तै सेनिटाइजर प्रयोग गरेपछि मात्रै गाडीमा प्रवेश गर्न पाइने नियम बनाइएको छ ।

बुधबार यातायात व्यवसायी र जिल्ला प्रशासन कार्यालयबीच भएको सम्झौताअनुसार संचालन हुने गाडीलाई दैनिक सेनिटाइज गर्ने, सिट क्षमताको ५० प्रतिशतमात्रै यात्रु बोक्नुपर्ने लगायतका ११ बुँदे सावधानी अपनाउने उल्लेख छ । जिल्लाभित्र मात्रै गाडी चलाउनुपर्ने, आधाभन्दा बढी यात्रु बोकेको खण्डमा कारबाही गरिने र चेकजाँचमा कडाइ गरिने निर्णय गरिएको छ । यद्यपी कोरोना भाइरसको संक्रमणबाट बच्न यात्रु नै बढी जिम्मेवार हुनुपर्ने यातायात व्यवसायी बताउँछन् ।

‘संकटमा सेवा गरौं, सहज भए कमाउँला’

सार्वजनिक यातायात संचालन भए पनि यात्रुको भिडभाड कम छ । यात्रु भए पनि अहिले गाडीभरी यात्रु बोक्न पाइँदैन । आधामात्र यात्रु राखेर दोब्बर भाडा लिन पाउने सरकारले भनेका छ । यस्तै भदौ १ गतेसम्म लामो रुट अर्थात जिल्लाभन्दा बाहिर गाडी चलाउन पाइँदैन । जसलेगर्दा तत्कालका लागि यातायात व्यवसायीले भनेजति कमाउन पाउने अवस्था छैन । ‘सरकारले आधामात्रै यात्रु बोक्नु भनेको छ, अहिले त आधा यात्रु पनि पाउन गाह्रो छ’ यातायात व्यवसायी नवल विकले भने ‘महामारीमा कमाउने भन्दा पनि आज सेवा दिने हो, भोलिका दिनमा कमाउँला भनेर गाडी चलाएका छाँै ।’

अहिले भाडा दोब्बर भएको यात्रुले थाहा नपाएका कारण कतिपयले भाडा उठाउँदा नराम्रो व्यवहार गर्ने गरेको उनको भनाइ छ । ‘जोखिम मोलेर सेवा दिएका छौँ, सरकारले पनि दोब्बर भाडा लिनु भनेको छ । तर यात्रुले पुरानै भाडाको कुरा गर्छन्’ उनले गुनासो गरे, ‘खाना खान र तेल भर्न पैसा उठाउन सकिएको छैन, केही समय सेवा गरौँ भनेर गाडी चलाएका छौँ ।’ यद्यपी लामो समयपछि गाडी चलाउन पाउँदा थोरै भए पनि राहत महशुस भएको उनको भनाइ छ ।

तपाईको प्रतिक्रिया