विपद जोखिम न्युनिकरण ऐन परिमार्जित गर्ने प्रतिबद्धता

सुर्खेत, ९ साउन ।

वीरेन्द्रनगरनगरपालिकाका कार्यवाहक प्रमुख मोहनमाया ढकालले नगरपालिकाले निमार्ण गरेको विपद जोखिम न्युनिकरण ऐन २०७६ लाई आवश्यकताका आधारमा परिमार्जन गर्ने प्रतिबद्धता जनाएकी छिन । इन्सेक कर्णाली प्रदेश कार्यालय सुर्खेतले भर्चुअल मार्फत साउन ८ गते आयोजना गरेको वीरेन्द्रनगर नपा विपद जोखिम न्युनिकरण तथा व्यवस्थापन ऐन २०७६ को समिक्षा र सुझाव संकलन विषयक कार्यशालामा प्रमुख ढकालले यस्तो प्रतिबद्धता जनाएकी हुन ।


सहभागीहरुले दिएको सुझाव तथा समिक्षामा ऐनमा देखिएका कमी कमजोरीहरुलाई नगरसभामा लगी आवश्यकताका आधारमा परिमार्जन गरिने र नगरपालिकामा हुने सबैखाले विपद जोखिम न्युनिकरण तथा व्यवस्थापन गर्न वीरेन्द्रनगर नपा तयार रहेको प्रमुख ढकालले बताए । ऐनलाई प्रभावकारी र सक्षम बनाउन समिक्षा कार्यशालाबाट आफुहरुलाई सहयोग मिलेको प्रमुख ढकालले औंल्याए ।

वीरेन्द्रनगर नपाका प्रमुख प्रशासकीय अधिकृत टिकाराम ढकालले यस समिक्षा तथा सुझाव संकलन कार्यशालाबाट नगरपालिकाको विपद जोखिम न्युनिकरण तथा व्यवस्थापन ऐनलाई मजबुत बनाउन सहयोग पुगेको बताए । कार्यक्रममा वीरेन्द्रनगर नपाका वरिष्ठ अधिकृत प्रकाश पौडेलले एृनले समेटन नसकेका विषयबस्तुलाई नियमावलीले समेटने हुदाँ नियमावली निमार्णका लागि यस समिक्षा फलदायी बनेको उल्लेख गरे ।

कार्यक्रमको उद्देश्य माथि प्रकाश पार्दै इन्सेक कर्णाली प्रदेश कार्यालय सुर्खेतका संयोजक नारायण सुवेदीले वीरेन्द्रनगर नपाले निमार्ण गरेको नगर विपद जोखिम न्युनिकरण तथा व्यवस्थापन ऐनलाई प्रभावकारी तथा सबल बनाउन सबै पक्षको सहकार्यको आवश्यकता रहेको बताए ।

इन्सेक कर्णाली प्रदेश कार्यालय सुर्खेतका मानव अधिकार अधिकृत सोमप्रसाद चौधरीले सहजीकरण तथा अधिवक्ता पिताम्बर ढकालले समिक्षा प्रतिवेदन प्रस्तुत गरेको कार्यक्रममा वीरेन्द्रनगर नपाका जनप्रतिनिधी, कानुन व्यावसायी, सञ्चारकर्मी, विपद जोखिमको क्षेत्रमा कार्यरत सरकारी तथा गैरसरकारी संघसंस्था र नागरिक समाजका प्रमुख एवम प्रतिनिधीहरुको उपस्थिती रहेको थियो ।

तपाईको प्रतिक्रिया