नातेदारको नाम छनौट नभएपछि कर्मचारीमाथि धम्की

सुर्खेत, ८ साउन ।

नर्स छनौटमा आफ्नो नातेदारको नाम छनोट नभएको भन्दै असन्तुष्ट व्यक्तिहरु कार्यालयमा आएर धम्की दिएका छन् । कार्यालयको काम गरिरहेको अवस्थामा कार्यस्थलमै ती असन्तुष्ट व्यक्तिहरुले धम्की दिएको वीरेन्द्रनगर नगरपालिकाका प्रशासकीय अधिकृत दिपेन सुवेदीले बताए । नगरपालिकामा विद्यालय नर्स कार्यक्रमका लागि २० जना नर्सको पदपुर्तिको लागि आवेदन खुल्ला गरिएको थियो ।

उक्त पदमा आफ्नो नातेदारहरु नपरेको भन्दै असन्तुष्ट पक्षहरुले कर्मचारीलाई धम्की दिएका हुन् । ‘तपाइहरुले हामीलाई वाइपास गरेर अगाडी बढ्नुभएको छ, हामी पनि हेरौला’ ती व्यक्तिहरुको भनाई उद्धत गर्दै सुवेदीले भने, ‘म कार्यालयको काम गरिरहेको बेलामा आएर धम्की दिनुको साथै गाली गलौज समेत गरियो ।’ ती व्यक्तिहरुले विभिन्न अनलाईन मिडियामा गलत प्रचार समेत गरेको उनले बताए ।

नर्स छनौटको लागि वीरेन्द्रनगर नगरकार्यपालिकाको बैठकले असार १४ गते नै प्रमुख प्रशासकीय अधिकृत टिकाराम ढकालको संयोजकत्वमा तीन सदस्यीय छनौट समिति गठन गरेको थियो । जसमा विज्ञ सदस्यको रुपमा कर्णाली प्रदेश अस्पतालका डा. केशर बहादुर ढकाल र नगरपालिकाका शिक्षा शाखा प्रमुख ललित विक्रम सिंह रहेका थिए । यही तीन सदस्यीय समितिले नै करार स्टाफ नर्सको छनोट गरेका थिए ।

‘नर्सको करार पदपूर्तिको लागि छनौट समितिमा बसेको थिएन र यसमा मेरो कुनै भूमिका थिएन’ प्रशासकीय अधिकृत सुवेदीले भने, ‘छनौट समितिले गरेको निर्णय अनुसार दरखास्त स्वीकृती गर्ने र समितिले तयार गरेको नतिजालाई बाहिर प्रकाशन गर्ने लगायतका प्रशासनिक जिम्मेवारी मात्र मेरो थियो ।’ यस विषयमा आफ्नो मात्र नाम जोडिनु कर्मचारीमाथिको दुव्र्यवहार भएको उनको भनाई थियो ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टिकाराम ढकालले कार्यविधिमा रहेर २० जना नर्स छनौट गरेर नियुक्ति दिइसकेको बताए । अहिले उनीहरुलाई आइसोलेसनमा खटाइएको छ । विद्यालय सञ्चालन भएपछि उनीहरुलाई विद्यालयको काममा खटाइने ढकालले बताए । २० जनाको नर्सिङ्ग पदको लागि एक सय २६ जनाको दरखास्त परेको थियो । दरखास्त दिएका १२६ जना मध्ये उम्मेदवारहरुको शैक्षिक योग्यता,स्थायी ठेगाना र अनुभवका आधारमा सबैभन्दा बढी अंक ल्याएका ४३ जना अन्तरवार्ताका लागि छनौटमा परेका थिए । सो मध्ये ४२ जना मात्र अन्तरवार्तामा सहभागी भए । उम्मेदवारमध्ये एक जना उम्मेदवारले कार्यअनुभव सम्बन्धी नक्कली प्रमाणपत्र पेश गरेको र अर्को उम्मेदवारको प्रमाणपत्रको म्याद समाप्त भएको पुष्टि भएपछि अन्तरवार्तामा सहभागी भए पनि उनिहरुको परिक्षा नै रद्द गरियो । त्यस्तै अर्को एक जना उम्मेदवार अन्तरवार्तामा उपस्थित नभएको नगरपालिकाले जनाएको छ ।

संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले निर्माण गरेको ‘विद्यालय स्वास्थ्य तथा नर्सिङ्ग सेवा कार्यक्रम सञ्चालन कार्यविधि, २०७६’ बमोजिम नर्स छनौट गरिएको नगरपालिकाले जनाएको छ । ‘कार्यविधिमा व्यवस्था भएबमोजिम नै छनौटको काम गरेका थियौ’ कार्यालय प्रमुख ढकालले भने, ‘हामी कर्मचारीले मापदण्ड अनुसार काम गर्ने हो त्यो हामीले गरेका छौ ।’

तपाईको प्रतिक्रिया