मुगु, ८ साउन ।
सडक विस्तारका नाममा सडक डिभिजन कार्यालय जुम्लाले अन्नबालीका साथै स्याउ बगैंचामा स्काभेटर तथा डोजर चलाएको छ । सडक डिभिजन कार्यालय जुम्लाले गमगढी–ताल्च सडकखण्ड अन्तर्गत पर्ने ताल्च मैतु कागथला झागोठ सडकखण्डमा पर्ने जग्गामा लगाइएका सयौं स्याउका बिरुवा तथा बर्षे बालीहरु नष्ट पार्दै स्काभेटर चलाएको हो ।
छायानाथ रारा नगरपालिका–५ का सिङ बुढाले सडक विस्तारका नाममा आफ्ना तीनसय वटा स्याउका विरुवा नष्ट भएको बताए । उनले भने, ‘सबै लगानी डुब्यो, अब के गर्ने होला एक हजारवटा भन्दा बढी फलफूलका रुख बिरुवाहरु नष्ट भएका छन् । सडक खन्ने क्रममा फलफूलका बिरुवाहरु नष्ट भएपछि किसानहरुले सम्बन्धित निकायमा क्षतिपूर्तिको माग समेत गरेका छन् ।
यसैगरी सडकको तलमाथि लगाइएका बर्षे बाली कोदो, आलु समेत सडक खन्दा क्षति पुगेको छ । यता सडक डिभिजन कार्यालय जुम्लाले प्रभावित कृषकहरुको क्षतिको वास्तविक परिमाण आएमा क्षतिपूर्ति दिने आश्वासन दिएको छ । सडक डिभिजन कार्यालय जुम्लाका प्रमुख लिलाबहादुर भण्डारीले जति विरुवाको क्षति भएको छ, त्यति स्याउका विरुवा बितरण गर्ने र अन्नबालीको हकमा क्षति भएको कृषकको लागि दुई तीन लाख रुपैयाँ बराबरको चामल खरिद गरेर पीडितलाई दिने बताए ।
युग संवाददाता । । ८ श्रावण २०७७, बिहीबार ०८:३७