रुकुमपश्चिम, ८ साउन ।
आठबीसकोट नगरपालिका सहित जिल्लाका २ गाउँपालिकामा बजेट अपुग भएपछि गत वर्षको आर्थिक दायित्व यस वर्ष सरेको छ । बाँफिकोट र सानीभेरी गाउँपालिकाले पनि गत आर्थिक वर्षमा सम्पन्न गरेका योजनाको भुक्तानी यस वर्ष दिने भएका हुन् ।
३ वटै स्थानीय तहले गत वर्षका सबै विकास योजनाको भुक्तानी दिन सकेनन् । आठबीसकोटले नौ करोड, बाँफिकोटले दुई करोड ४० लाख र सानीभेरीले एक करोड ७९ लाख रुपैयाँ गत आर्थिक वर्षमा भुक्तानी गर्न नसकेका हुन् । गत आर्थिक वर्षमा विकास निर्माण, तलब–भत्ता लगायतको रकम अपुग भएको सानीभेरी गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत भूपालसिङ विष्टले बताए ।
उनका अनुसार संघ तथा प्रदेशबाट आउनुपर्ने राजस्व नआएका कारण पनि विकास योजनाको भुक्तानी दिन समस्या भएको हो । अघिल्लो आर्थिक वर्ष २०७५÷७६ मा पनि केही स्थानीय तहको बजेट अपुग भएको थियो । ‘गत आर्थिक वर्ष कोरोनाका कारण आउनुपर्ने पनि बजेट आएन,’ आठबीसकोट नगरपालिका प्रमुख गोर्खबहादुर केसीले भने, ‘अघिल्ला वर्षहरुमा पनि आउनुपर्ने बजेट नआउँदा समस्या हुँदै आएको थियो ।’
जिल्लाका ६ स्थानीय तहमध्ये मुसीकोट र चौरजहारी नगरपालिकामा भने गत आर्थिक वर्षको आर्थिक दायित्व सरेन । त्रिवेणी गाउँपालिले सबै खर्चको हिसाब हुन बाँकी रहेको जनाएको छ । चौरजहारी नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत रामबहादुर केसीले बजेट नआउने निश्चित भएपछि नगरपालिकाले बजेट संशोधन गरेका कारण समस्या नआएको बताए । काम गर्ने क्रममा केही रकम नगरपालिकाकै र केही रकम प्रदेशको सञ्चित कोषमा फिर्ता भएको उनले जानकारी दिए ।
युग संवाददाता । । ८ श्रावण २०७७, बिहीबार ०७:५४