छोरी खाताका लागि बजेट अपुग

रुकुमपश्चिम, ८ साउन ।

सानीभेरी गाउँपालिका–११ की पिमता ओलीले ९ महिनाकी छोरी प्रशिक्षाको नाममा बैंकमा खाता खोलिन् । गाउँपालिकाको सहजीकरणमा खाता खोलिए पनि प्रदेश सरकारले जम्मा गर्नुपर्ने रकम अझै जम्मा भएको छैन । सोही गाउँपालिका–१ का सुदर्शन थापाकी छोरी एसियाको खातामा पनि प्रदेश सरकारको रकम आइपुगेको छैन ।

दुवै बालिकालाई गाउँपालिकाले १ हजार रुपैयाँ दिएर खाता खोल्न सहजीकरण गरेको थियो । सानीभेरीमा मात्रै ६२ जना छोरीको खातामा रकम जम्मा भएको छैन । आमा वा बाबु संरक्षक रहेर खोलिएका खातामा हरेक महिना ५ सय रुपैयाँका दरले रकम पठाउने प्रदेश सरकारले निर्णय गरेको थियो । मुसीकोट र चौरजहारी नगरपालिकामा पनि केही छोरीका नाममा खाता खोलिए पनि रित्तै छन् । आठबीसकोट नगरपालिका, त्रिवेणी र बाँफिकोट गाउँपालिकामा भने खोलिएका खातामा रकम जम्मा भएको छ । कर्णाली सरकारले ‘बैंक खाता छोरीको, सुरक्षा जीवनभरिको’ कार्यक्रमका लागि गत आर्थिक वर्षमा ६ स्थानीय तहमा ६ लाख रुपैयाँका दरले बजेट पठाएको थियो । उक्त बजेट ३ स्थानीय तहमा अपुग भएको छ ।

गत वर्षको साउन महिनायता जन्मेका हरेक छोरीको बैंकमा खाता हुने र २० वर्षसम्म हरेक महिना ५ सयका दरले रकम जम्मा गरिदिने कार्यविधि बनाइएको छ । खाता खोल्दा १ हजार रुपैयाँ जम्मा गरिन्छ । कार्यक्रमअनुसार जिल्लाभरी ८ सय ३६ छोरीको खाता खोलिएको छ । सानीभेरी गाउँपालिकाका बाल अधिकार अधिकृत मानवीर ओलीले बजेट पर्याप्त नभएपछि रकम जम्मा हुन नसकेको बताए । एकसय ९८ जनाको खाता खोलिएकोमा ६२ बालिकाको खातामा रकम जम्मा नभएको उनको भनाइ छ ।

कार्यक्रमअन्तर्गत सानीभेरीमा १ सय ९८, त्रिवेणीमा १ सय २४, बाँफिकोटमा ९७, मुसीकोटमा १ सय ५४, चौरजहारीमा १ सय ३५ र आठबीसकोटमा १ सय २८ खाता खोलिएको छ । बजेट नपुगेपछि सबैको खातामा रकम जम्मा गर्न नसकिएको मुसीकोट नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत नरवीर खड्काले बताए । यो खातामा जम्मा भएको रकम २० वर्षपछि ती छोरीले पाउनेछिन् । यसबीचमा पढाइ छाडे वा २० वर्ष नपुग्दै बिहे गरे उनीहरु यो सुविधाबाट वञ्चित हुने कार्यविधि बनाइएको छ । छोरीको सबलता र सफलताका लागि यो कार्यक्रम सुरु गरिएको कर्णाली प्रदेश सरकारकी प्रवक्ता विमला केसीले बताइन् ।

तपाईको प्रतिक्रिया