७३ हजार क्वीन्टल खाद्यान्न माग

हुम्ला, ८ साउन ।

जिल्ला खाद्य व्यवस्थापन समितिले हुम्लाका लागि ७३ हजार क्वीन्टल खाद्यान्न माग गर्ने निर्णय गरेको छ । जिल्ला समन्वय समितिका प्रमुख दानबहादुर रावतको अध्यक्षतामा बसेको बैठकले खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडका लागि यस वर्ष खाद्यान्न माग गर्ने निर्णय गरेको हो ।

बैठकले सिमकोटस्थित शाखा कार्यालय र ग्रामीण क्षेत्रका डिपोहरुका लागि यस वर्षको कोटा निर्धारण गरेको कम्पनीका शाखा प्रमुख रामबहादुर विष्टले बताए ।

उनका अनुसार सिमकोटका लागि ३५ हजार, श्रीनगरका लागि ६ हजार, सर्केगाडका लागि ८ हजार, ताजाकोटमा ६ हजार, यालबाङमा ६ हजार र याङ्चुका लागि ६ हजार क्विन्टल खाद्यान्न माग गर्ने निर्णय गरिएको छ । दसैं–तिहारका लागि चाहिने खाद्यान्न हवाइमार्गबाट ढुवानी गर्ने निर्णय गरिएको जिसस प्रमुख रावतले बताए ।

उनका अनुसार ताजाकोटको छप्रेला तथा यालवाङमा डिपो स्थापनाका लागि केन्द्रीय खाद्य व्यवस्था समितिसँग माग गर्ने निर्णयसमेत गरिएको छ । कम्पनीका अनुसार सिमकोट शाखामा अहिले ६ हजार क्विन्टल चामल मौज्दात छ । हुम्लामा सरकारले ढुवानी अनुदानमा चामल विक्री–वितरण गरिरहेको छ ।

तपाईको प्रतिक्रिया