काठमाडौं, ७ साउन ।
एसईई परीक्षाको परीक्षाफल ढिलो प्रकाशित हुने भएको छ । करिब ३० जिल्लाबाट प्राप्ताङ्क नआइपुगेका कारण ढिलो हुने भएको हो । निरन्तर बाढी पहिरोका कारण कर्णाली प्रदेशका ९ जिल्लाका कुनै पनि विद्यालयको प्राप्ताङ्क पनिकामा पुग्न सकेको छैन ।
सुदूरपश्चिम र प्रदेश १ को पहाडी जिल्लाका केही जिल्लाका विद्यालयले अहिलेसम्म प्राप्ताङ्क उपलब्ध नगराएका कारण परीक्षाफल प्रकाशित हुन ढिलो हुने भएको छ । परीक्षा नियन्त्रण कार्यालयले करिब ३० जिल्लाबाट प्राप्ताङ्क नपठाएका कारण ढिलो हुने देखिएको छ ।
परीक्षा नियन्त्रक रामराज खकुरेलले अहिलेसम्म करिब ४५ जिल्लाबाट प्राप्ताङ्क आइपुगेको जानकारी दिए । जिल्ला शिक्षा समन्वय समितिले प्राप्ताङ्क पठाउनुपर्ने व्यवस्था छ । तर बाढीपहिरोका कारण कर्णाली प्रदेशका कुनै पनि जिल्लाबाट नम्बरसहितको कागजात आएको छैन ।
‘साउन १५ गतेभित्र परीक्षाफल प्रकाशित गर्ने तयारी गरिरहेका छौं, अहिलेसम्म केही जिल्लाबाट प्राप्ताङ्क नआएकाले समस्या परेको छ’ –परीक्षा नियन्त्रक खकुरेलले भने । पनिकाले सबै समन्वय समितिले प्राप्ताङ्क पठाएपछि विद्यालयको कोड, सिम्बोल नम्बर र सबै विषयको प्राप्ताङ्क इन्ट्री गरेर परीक्षाफल प्रकाशित गर्ने प्रक्रिया शुरु गर्ने जनाएको छ ।
विद्यालयले तीन पटक सञ्चालन गरेको परीक्षाको अन्तिम मूल्याङ्कन गरी त्यसको आधारमा अंक दिने र त्यसलाई इकाइले प्रमाणित गरी पनिकामा पठाउने व्यवस्था छ ।
नेपाल समाचारपत्र दैनिकबाट
युग संवाददाता । । ७ श्रावण २०७७, बुधबार ०७:४३