राष्ट्रसेवक

माविसम्म पढ्दा नयाँ किताव नै देख्न पाइँन

आर्थिक अभावकै कारण पढाइ पूरा गर्न पाइन भन्ने धेरै गुनासो सुनिन्छ । अर्थात आफूले चाहेको विषय पढ्न नपाएको धेरैको गुनासो हुन्छ । तर इच्छा भएको खण्डमा पढाइलाई आर्थिक अभावले रोक्न सक्दैन भन्ने धेरैले उदाहरण पनि दिएका छन् । यस्तै मध्येका एक हुन्, राष्ट्रिय परीक्षा बोर्ड कर्णाली प्रदेश कार्यालयका प्रमुख जीतबहादुर शाह विद्यालयको शुल्क तिर्न उनकी आमाले गहना नै बेच्नु प¥यो । खसी र बाख्रा बेचेको पैसाले नपुगेपछि विद्यालयको शुल्क तिर्न अभिभावकले ऋणको भारी बोक्न तयार भए । आर्थिक अवस्था कमजोर छ भन्दैमा उनले हिम्मत हारेनन् । अन्ततः शिक्षाविद्को रुपमा आफूलाई स्थापित गरेरै छोडे । शिक्षक, विद्यालय निरीक्षक, जिल्ला शिक्षा अधिकारी, शिक्षा विकास निर्देशक हुँदै हाल उनी राष्ट्रिय परीक्षा बोर्ड कर्णाली प्रदेश परीक्षा व्यवस्थापन कार्यालय सुर्खेतमा प्रमुख र सुर्खेत मेडिकल कलेज पूर्वाधार निर्माण आयोजना कार्यालय प्रमुखको नेतृत्व गरिरहेका छन् । प्रस्तुत छ, शिक्षाविद् शाहकै शब्दमा उनको जीवन भोगाइ र संघर्षको शारांसः

आमाले नाकको फुली नै बेच्नुभयो

विसं २०२० भदौ ८ गते सल्यानको कुमाख गाउँपालिका वडा नं. ५ मा मेरो जन्म भएको हो । आमा पशुपति र बुवा नरबहादुर शाहको पहिलो सन्तान हुँ । भिर पाखाहरुमा लुकामारी खेल्दै बाल्यकाल वित्यो । सानोमा गाईबाख्रा चराउने र बुवाआमालाइ सघाउने काम गर्थेँ । बुवाआमाले सामान्य खेती गर्नुहुन्थ्यो । आर्थिक अवस्था दयनीय थियो ।

तीन रुपैयाँ पढाइ शुल्क तिर्न पनि बाआमालाई धौँ–धौ पथ्र्याे । आमाबुवाले कहिले खसी बेचेर त कहिले साहुबाट ऋण ल्याएर स्कुलको शुल्क तिर्नुहुन्थ्यो । पढाइको शुल्क तिर्नकै लागि आमाले नाकमा लाउने फुली र बुलाखीसमेत बेच्नु परेको थियो । नयाँ किताव निकै महंगो पथ्र्याे । सधै पुराना किताव किनेर पढेको हुँ । माध्यमिक तहसम्म नयाँ किताव नै देख्न पाइँन ।

पढाइमा असफल हुनु परेन

पढाइको सन्दर्भमा भौगोलिक वातावरण मेरो लागि बाधक बन्यो । डरलाग्दा भिरपाखाकै कारण सानैमा विद्यालय जान पाइँन । छोरो भिरबाट लढ्छ की भन्ने डरले आमाबुवाले ठूलो भएपछि मात्रै स्कुल पठाउनु भयो । किनकी विद्यालय धेरै टाढा थियो । ८ वर्षको हुँदा अरणीको प्राथमिक विद्यालय कोटनाउलाबाट औपचारिक पढाइ सुरु गरँे । दुःखद कुरा कक्षा १ मै तीन वर्ष पढ्नु प¥यो । दुइ वर्षसम्म परीक्षा दिने समय नै थाहा पाइँन । अरणीकोमा कक्षा ६ सम्मका पढाइ पुरा गरेँ । ऊबेला गाउँमा कक्षा ६ भन्दा माथिल्लो तहमा पढाइ हुने स्कुलहरु थिएनन् ।

चौरजहारीको शितल माध्यमिक विद्यालयबाट कक्षा ७ देखि १० सम्म अध्ययन गरेँ । २०३९ सालमा एसएलसी प्रथम श्रेणीमा पास भएँ । ३० जनामध्ये ६ जना मात्रै पास भएका थियौँ । रुकुमपश्चिमकै मुसिकोट क्याम्पसबाट आइएड, सानोठिमी भक्तपुरबाट विएड, त्रिभुवन विश्वविद्यालय केन्द्रिय क्याम्पस कीर्तिपुरबाट स्नातकोत्तर र काठमाडौं विश्वविद्यालयबाट एमफीलसम्मको अध्ययन पुरा गरेको छु । बाआमाले मलाई पढाउन गरेको संघर्षकै कारण सानैदेखि पढाइमा म अब्बल थिए । कक्षा १ देखि एसएलसीसम्म सधै प्रथम भएँ । उच्च शिक्षामा पनि कहिले असफल हुनु परेन ।

हेडसरले जागिर खोजी दिनुभयो

म पढाइमा अब्बल थिएँ । घरको आर्थिक अवस्था सरहरुलाई पनि थाहा थियो । जसकाकारण एसएलसी दिएपछि हेडसर (डिल्लीराज खनाल) ले जागिर खोजीदिनु भयो । एसएलसी दिएपछि त्रिवेणी गाउँपालिका रुकुमको एउटा स्कुलमा शिक्षक भएर पढाउन थालँे । ऊबेला तीन सय ८६ रुपैयाँ तलव थियो । त्यही तलवबाट पढाइ, घरखर्च र व्यक्तिगत इच्छाहरु पुरा गर्नुपथ्र्याे ।

केही महिनापछि गाउकै कोटनाउलामा शिक्षक बनेँ । एसएलसीको रिजल्ट आएपछि जीवन चलाउन सहज भयो । किनकी प्रथम श्रेणीमा पास भएपछि जु सुकै विद्यालयमा पनि शिक्षक हुन पाइन्थ्यो । यसरी २०४० सालदेखि २०५० सालसम्म शिक्षक पेसामा विताएँ ।

लोकसेवा पास भएको विश्वास नलागेपछि…

२०५० सालको कुरा हो । ऊबेला गाउँमा फोनहरु थिएनन् । केही खबर पु¥याउनु प¥यो भने आकाशवाणीकै भर पर्नुपथ्र्याे । म लोकसेवा पास गरेर विद्यालय निरीक्षक बनेको खबर पनि आकाशवाणीबाटै आएको थियो । तर मलाइ विश्वास नै लागेन । विश्वास नलागेपछि लोकसेवाको कार्यालय दाङमै पुगँे । साँचिक्कै म पास भएछु । धेरैले मौखिक पास गर्न एक÷दुइ लाख रुपैयाँ घुस खुवाउनुपर्छ भने । मसँग त्यतिधेरै पैसा थिएन । मन नलागे पनि मौखिक परीक्षा दिएँ ।

अन्ततः सफल भएँ । २०५० साल फागुनमा विद्यालय निरीक्षक भएर जाजरकोट पुगेँ । २०५३ देखि ५५ सम्म दैलेख र पुनः ५५ देखि ५९ सम्म जाजरकोटमा विताएँ । दुइ वर्षको अध्ययन २०६१ सालमा शैक्षिक तालिम केन्द्र नेपालगञ्जमा फर्किएँ । २०६५ देखि ०२६ सम्म जुम्ला, ६८–७१ सम्म दाङ ७१ देखि ७३ सम्म बर्दिया र २०७३ देखि ०७५ सम्म सुर्खेतको जिल्ला शिक्षा अधिकारीको रुपमा नेतृत्व गरँे ।

२०७५ असोजदेखि बुटवलमा शिक्षा विकास निर्देशक र २०७६ जेठदेखि राष्ट्रिय परीक्षा बोर्ड कर्णाली प्रदेश परीक्षा व्यवस्थापन कार्यालय सुर्खेतमा कार्यालय प्रमुखको रुपमा कार्यरत छु । यसका साथै सुर्खेत मेडिकल कलेज पूर्वाधार निर्माण आयोजनामा कार्यालय प्रमुख (आयोजना निर्देशक) को जिम्मेवारी निभाइ रहेको छु ।

प्रधानाध्यापकलाई अधिकार दिनुपर्छ

करिव एक दशक सामुदायिक विद्यालयको शिक्षक भएँ । करिव २७ वर्षदेखि प्रत्यक्ष रुपमा सामुदायिक विद्यालयको मिलेर काम गर्दै आएको छु । मेरो अनुभवले अहिलेसम्म सामुदायिक विद्यालयलाईले अभिभावक पाएको जस्तो लाग्दैन । विद्यालय निरीक्षकदेखि शिक्षा निर्देशकसम्मको भूमिका अझै स्पष्ट हुन सकेको छैन । शिक्षकले काम गरे÷नगरेको मूल्याङ्कन गर्ने र दण्ड÷पुरस्कारको व्यवस्था छैन । अर्काेतिर काम नगर्ने शिक्षकलाई जागिरबाट बरखास्त गर्ने व्यवस्था छैन ।

पहुँच हुनेहरु सुविधा सम्पन्न ठाउँमा थुप्रिन थाले । तीन तहका सरकारले सामुदायिक विद्यालयमा लगानी गर्न सकेका छैनन् । यसरी हेर्दा सामुदायिक विद्यालयको मालिक (हेड सर, विद्यालय व्यवस्थापन समिति, सरकार वा अभिभावक) को हो भनेर स्पट भएको छैन । जसकाकारण आज सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर दयनीय छ । यसको सुधारका लागि हेडटिचरलाई पावरफूल अधिकारी दिनुपर्छ । विद्यालय व्यवस्थापन समितिलाई निर्णय गर्ने र हेडसरलाई कार्यान्वयनको जिम्मेवारी दिनुपर्छ ।

अनि विद्यार्थी लड्डु बोकेर अफिसमा आए…

म बर्दियाको जिल्ला शिक्षा अधिकारीको रुपमा कार्यरत थिएँ । एक दिन शैक्षिक सुधारका लागि बाँसगढीमा विद्यार्थी, अभिभावक र शिक्षकसँग भव्य भेला थियो । मैले शैक्षिक गुणस्तर सुधार्ने विषयमा बोल्दै गर्दा एकजना अभिभावक मेरा दुइवटा छोरामध्ये एउटा रातीसम्म पढ्छ र पढाइमा राम्रो छ । तर अर्काे पढ्न मान्दैन र खाना खानेवित्तिकै सुत्छ । उसलाई सुधार्न के गर्नुपर्ला भनेर प्रश्न गर्नुभयो । एसएलसी नजिकै आएका कारण अभिभावकले विद्यार्थीको चिन्ता व्यक्त गर्न स्वभाविक थियो ।

अविभावकले भनेअनुसार अध्ययनमा रुचि नराख्ने विद्यार्थीलाई सामान्य सम्झाइ बुझाएँ । एसएलसीको नतिजा आउँदा प्रश्न गर्ने अभिभावक र पढ्न रुचि राख्दैन भनिएको विद्यार्थी लड्डु बोकेर कार्यालयमा भेट्न आए । अनि विद्यार्थीलाई सम्झाउन जान्ने हो भने त्यसले जीवनमा ठूलो प्रभाव पार्दै रहेछ भन्ने लाग्यो । जुन जीवनमा अस्मरणीय क्षण हो । यसका साथै एसएलसी प्रथम श्रेणीमा सफल हुँदा र विनी पदमा नाम निकाल्दा जीवनमा खुशी मिलेको थियो ।

(२०७७ साउन ४ गते आइतबार युगआह्वान राष्ट्रिय दैनिकमा प्रकाशित)

तपाईको प्रतिक्रिया