कोरोना नियन्त्रणमा खेलाँची क्वारेन्टाइन र आइसोलेसन खाली

दैलेख, ६ साउन ।

कर्णाली प्रदेशका १० जिल्लामध्ये कोभिड १९ को केन्द्र बनेको दैलेखमा महामारीमा मजाक जस्तै हुँदै आएको छ । ११ वटा स्थानीय तहमा संक्रमितको संख्या ८ सय बढी रहे पनि अहिले आइसोलेसनमा २० जना मात्र बसेका छन् ।

केही समयअघि सुर्खेत वा जुम्लाबाट पिसिआर परीक्षण गरिँदै आइए पनि अहिले भने जिल्लामै कोरोना परीक्षण हुन थालेको छ । तर जिल्लामै परीक्षण थालिए पनि कोरोना जाँचको दायरा भने खुम्च्याइएको छ । परीक्षणमा ढिलाइ गरिँदा क्वारेन्टाइनमा राखिएकालाई संक्रमण पुष्टिपछि घर पठाउने गरिएको छ। चैत ५ गते प्रदेशको पहिलो पटक दैलेखमा कोरोना संक्रमित भेटिएका थिए । सम्बन्धित निकायको खेलाँचीका कारण जिल्ला कोरोनामय बनेको छ । स्थानीय तहले कोरोनाका नाममा लाखौँ खर्च गरेको भए पनि कोरोनाका नाममा बनेका संरचना खाली छन् ।

जिल्लाभर क्वारेन्टाइन बेडको संख्या ९ हजार २ सय १३ रहेका स्वास्थ्य सेवा कार्यालयको तथ्याङ्कमा उल्लेख छ । आइतबारसम्म क्वारेन्टाइनमा बस्नेको संख्या ८२ छ । ७ सय ८२ आइसोलेसन वार्डमा रहेकामा अहिले २० जना मात्र छन् । लक्षण नदेखिएको भन्दै ६ सय ३७ लाई घर पठाइयो दैलेखमा आइतबारसम्म कोरोना संक्रमितको संख्या ८ सय ८ पुगेको छ । तर हालसम्म १ सय ७१ जनाले मात्र कोरोना जितेर घर गएका छन् । सामान्यसमेत लक्षण नभएका थप ६ हजार ६ सय ३७ जनालाई घर पठाइएको छ । स्वास्थ्य सेवा कार्यालय दैलेखका खोप अधिकृत थीरप्रसाद रेग्मीले सरकारको नीतिअनुसार सामान्य लक्षण नदेखिएकालाई घर पठाइएको बताए । तर होम क्वारेन्टाइनमा बस्न भनी घर पठाइएका कोरोनाका बिरामी हिँडिरहेका छन् ।

त्यसमाथि परीक्षणको दायरा घटाइनुले दैलेखमा कोरोना भुसको आगोझैं फैलने सक्ने खतरा बढेको स्थानीयहरु बताउँछन् । लाखौँ खर्चेको आइसोलेसन रित्तै जिल्लाका स्थानीय तह र सम्बन्धित निकायले कोरोना संक्रमण पुष्टि भएकालाई राख्न बनाएका आइसोलेसन बेड अहिले खाली छन् । तर संक्रमितलाई भने घर पठाइएको छ । जिल्लामा सबैभन्दा बढी कोरोनाका बिरामी रहेको नारायण नगरपालिकामा १ सय ९४ आइसोलेसन बेड बनाइएको छ । तर आइसोलेसनमा भने २ सय ४२ संक्रमितमध्ये ५ जनालाई मात्र राखिएको छ भने १ हजार ४ सय ३७ क्वारेनटाइन बेडमध्ये त्यहाँ १४ जनालाई मात्र राखिएको छ । १ सय १ जना कोरोनाका बिरामी रहेको दुल्लुमा १० जना मात्र क्वारेन्टाइनमा बसेका छन् ।

तर दुल्लुमा आइसोलेसन बेडको संख्या ४५ छ । १ हजार ३ सय २३ क्वारेन्टाइन बेड यहाँ खाली छन् । ९ सय ९७ क्वारेन्टाइन बेड रहेको चामुण्डाबिन्द्रासैनी नगरपालिकामा ३२ जना क्वारेन्टाइनमा छन् । ६ जना कोरोनाका बिरामी रहेको चामुण्डामा १५ वटा आइसोलेसन वार्ड खाली छन् । त्यस्तै आठबिस नगरपालिकामा २४ जना संक्रमित थिए, यहाँ २१ बेडको आइसलेसनमा जम्मा २ जनालाई मात्र राखिएको छ । ६ सय ६९ क्वारेन्टाइन बेडमा मात्र २२ जना बसेका छन् । १ हजार १७ बेड क्वारेन्टाइन र १५ बेड आइसोलेसन रहेको ठाँटिकाध गाउँपालिकामा सबै बेड खाली छन् । उक्त गाउँपालिकामा हालसम्म संक्रमितको संख्या ४ जना मात्र छ । १७ जना संक्रमित रहेको भैरवी गाउँपालिकामा ७ सय ४५ बेड क्वारेन्टाइन बनाइए पनि यहाँ ५ जना छन् भने १३ बेडको आइसोलेसन रित्तै छ ।

महाबु गाउँपालिकामा १ हजार ४ सय ३७ क्वारेन्टाइन बेड रहेकोमा सबै खाली छन् । १ सय ६६ कोरोनाका बिरामी भेटिएको यहाँ १ सय १० बेडको आइसोलेसन भए पनि यो पनि खाली नै छ । १ सय ५१ जना संक्रमित रहेको नौमुले गाउँपालिकामा २ सय ८० बेडको आइसोलेसनमा २ जनालाई राखिएको छ । ३ सय ३० बेडको क्वारेन्टाइनमा ८ जना मात्र बसेका छन् । १५ जना कोरोना संक्रमित रहेको भगवतीमाई गाउँपालिकामा २ सय ३८ बेडको क्वारेनटाइनमा हाल १ जनालाई मात्र राखिएको छ । १५बडको आइसोलेसन भए पनि जम्मा १ जना बसेका छन् । ७३ जना सक्रमित भेटिएको डुंगेश्वर गाउँपालिकामा ५ सय क्वारेन्टाइन बेड खाली छन् । यहाँ ५३ आइसोलेसन बेडसमेत खाली छन् । हालसम्म ९ जना कोरोनाका बिरामी फेला परेको गुराँस गाउँपालिकामा ५ सय २० क्वारेन्टाइन र १२ बेड आइसोलेसन खाली छन् ।

तपाईको प्रतिक्रिया