स्वास्थ्यकर्मीले जोखिम भत्ता पाएनन्

मुगु, ६ साउन । 

कोरोना महामारी नियन्त्रणमा खटिएका सोरु गाउँपालिकाका स्वास्थ्यकर्मीले अझै जोखिमपूर्ण भत्ता पाएका छैनन् । गाउँपालिकाले स्थापना गरेका हेल्प डेस्क,क्वारेन्टाइन र आइसोलेसनमा खटिएका ३५ पुरुष र ३ महिला स्वास्थ्यकर्मीले गत चैतदेखि असार मसान्तसम्मको भत्ता नपाएका हुन् ।


गत चैत तेस्रो साता बसेको गाउँ कार्यपालिका बैठकले कोराना नियन्त्रणमा खटिने स्वास्थ्यकर्मीलाई खाना र खाजाबापत प्रतिदिन १ हजार रुपैयाँका दरले जोखिम भत्ता दिने निर्णय गरेको थियो । निर्णय भएको ४ महिना बितिसक्दा पनि भत्ता पाउन नसकेको नरेघाट हेल्थ डेस्कमा खटिएका स्वास्थ्यकर्मी टक्क शाहीले बताए । ‘भत्ता आउँछ भनेर २४ सै घण्टा खटिएका थियौं,’ उनले भने, ‘भत्ता नआउँदा खाना खर्च र कोठाभाडा तिर्न मुस्किल भयो ।’

उनी चैतदेखि हेल्थ डेस्क नजिकै कोठा भाडामा लिएर बसिरहेका छन् । गाउँपालिकाले चैतमा नरेघाटसहित तारापानी, पैमा, बालुकुना, गुल्मामा हेल्थ डेस्क स्थापना गरेको थियो भने नार्थुपमा आइसोलेसन निर्माण गरिएको छ । बजेट अपुग भएपछि स्वास्थ्यकर्मीलाई जोखिम भत्ता दिन नसकिएको गाउँपालिका अध्यक्ष लोकबहादुर शाहीले बताए । चालू आर्थिक वर्षको बजेटबाट भत्ताबापतको रकम प्रदान उनले जानकारी दिए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *


ताजा समाचार