हुम्ला, ५ साउन ।
बर्खा लागेसँगै हिमाल पारीको गाउँ लिमीको हल्जी गाउँ हिम पहिरोको उच्च जोखिममा परेको छ । हिउँदमा हिमपात धेरै भएको र बर्खा लागेसँगै हिउँ पगल्न थालेपछि उक्त गाउँ हिम पहिरोको बढी जोखिममा परेको हो । हिम पहिरोको जोखिम बढेपछि गाउँलेहरु रातभर पहरा दिन थालेका छन् ।
नाम्खा गउाँपालिका वडा नम्बर ६ को लिमीको हल्जी गाउँका स्थानीय फुर्बा तामाङले हिम पहिरोको उच्च जोखिममा रहेका कारण स्थानीय बासिन्दाहरु निक्कै त्रसित अवस्थामा रहेको बताए । पानी परिरहेकोले स्थानीय बासिन्दाहरु पहरा बस्न थालेको उनले बताए । गाउँमा हरेक वर्ष हिम परिहो आउने गरेको उनले बताए । वडा अध्यक्ष पाल्जोर तामाङले हल्जी गाउँका बासिन्दाले सधैँ पहिरोको त्रासमा बस्नु परिरहेको बताए ।
गाउँका युवाहरु पानी परेका बेला रातभरि पहिरो आएमा जानकारी दिन पहरा बस्ने गरेका छन् । ९६ घरधुरीका स्थानीय बासिन्दाहरु र विद्यालय भवन बढी जोखिममा रहेकोले वडाले सबै स्थानीयलाई सचेत रहन आग्रह गरेको छ । हल्जी गाउँको सिरानमा आईस जमेको हिमताल रहेको छ ।
युग संवाददाता । । ५ श्रावण २०७७, सोमबार ११:२४