दुर्गा विसी ।
सल्यान, ४ साउन ।
सल्यानको बनगाड कुपिण्डे नगरपालिकामा समुदाय स्तरमा कोरोना फैलिएको छ । सल्यान पश्चिममा सुरु देखि नै कोरोनाको उच्च जोखिममा थियो । कोरोना संक्रमित घटेपनि समुदायमा कोरोना फैलिएको छ ।
कोरोना पीसीआर टेष्ट, आरडीटी र कोरोना पोजेटिभ निको भएर घर फर्केकाहरु होम क्वारेन्टाइनमा नबस्दा समुदाय स्तरमा कोरोना फैलिएको बनगाड कुपिण्डे नगरपालिकामा कोरोना नियन्त्रणमा खटिउका सरुवा रोग विशेषज्ञ डाक्टर इन्द्र थापाले जानकारी दिए ।
तीन दिन अघि सुरक्षा कर्मी, बनगाड कुपिण्डे नगरपालिकाका कर्मचारीहरु, स्वास्थ्यकर्मी गरी ७२ जनाको पीसीआर चेकजाँच भएको थियो । उक्त चेकजाँचमा नगरका एक जना कार्यलय सहयोगीको पोजेटिभ रिपोर्ट आएपछि आइसोसेलनमा राखिएको छ । कार्यलय सहयोगीको रिपोर्ट पोजेटिभ आएपछि नगरपालिकामा त्रास बढेको छ ।
आइसोलेसन र क्वारेन्टाइनबाट घर फर्केका नागरिक होम क्वारेन्टाइनमा नबस्दा समुदाय स्तरमै कोरोना पोजेटिभ देखिन थालेका छन् । सबैलाई सचेत र सुरक्षित रहन डाक्टर थापाले आग्रह गरेका छन् ।
युग संवाददाता । । ४ श्रावण २०७७, आईतवार १६:५५