सुर्खेत, ४ साउन ।
कर्णाली प्रदेशमा आइतवार एक जनामा मात्र कोरोना संक्रमण पुष्टी भएको छ । प्रदेश अस्पताल, पशुपन्छी अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको परीक्षणमा सल्यान बनगाड कुपिण्डे नगरपालिकाका ३५ वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको स्वास्थ्य महाशाखाका प्रमुख डा. लक्ष्मीनारायण तिवारीले जानकारी दिए । कर्णालीमा यो संगै कोरोना संक्रमितको संख्या एक हजार ७ सय ३८ पुगेको छ ।
कर्णालीमा आइतवार एक जना कोरोना संक्रमणमुक्त भई घर फर्किएका छन् । डोल्पाको मुड्केज्युला गाउँपालिकाको आइसोलेसनबाट एक जना निको भई घर फर्किएको डा. तिवारीले बताए । योसंगै कर्णालीमा कोरोना संक्रमणमुक्त भई घर फर्किनेको संख्या एक हजार ५ सय ११ पुगेको छ ।
२ सय २१ जना सक्रिय संक्रमितको विभिन्न अस्पताल र आइसोलेसनमा उपचार भइरहेको छ । कर्णालीमा हालसम्म ६ जनाको कोरोना संक्रमणबाट मृत्यु भइसकेको छ ।
युग संवाददाता । । ४ श्रावण २०७७, आईतवार १५:५५