भोलिबाट सार्वजनिक यातायात चलाउन व्यवसायी तयार

काठमाडौं, ४ साउन ।

सरकारको निर्णयअनुसार सोमबारबाट सार्वजनिक यातायात सञ्चालन गर्न व्यवसायीहरु तयार भएका छन् । सरकारले असार २६ गते सवारी सञ्चालन गर्ने निर्णय गरेपछि विभिन्न माग राख्दै आएका व्यवसायीहरु भोलीबाट यातायात सञ्चालन गर्न तयार भएका हुन् ।

आज (आइतवार) यातायात व्यवस्था विभागमा भएको छलफलमा व्यवसायीहरु सवारीसाधन सञ्चालनका लागि तयार भएका हुन् । सरकारी निर्णय अनुसार व्यवसायी र यातायात मजदुरहरुका प्रतिनिधिहरुसँगको छलफलपछि उनीहरु सञ्चालन गर्न तयार भएको यातायात व्यवस्था विभागले जनाएको छ ।

सार्वजनिक यातायात केन्द्रीय महासंघका वरिष्ठ उपाध्यक्ष किरणकुमार रिजालले व्यवसायीहरुले उठाउँदै आएका मागहरु मौद्रिक नीतिमार्फत समेटिएकाले यातायात सञ्चालन गर्ने निर्णय भएको बताए । अहिले अन्तर जिल्लामा मात्रै यातायात सञ्चालन हुनेछन् । उपत्यकाको हकमा काठमाडौं, ललितपुर र भक्तपुरमा सञ्चालन हुनेछन् ।

साझा यातायात, मयुर यातायात, सुन्दर यातायात र संयुक्त यातायात लगायत माइक्रो र टेम्पुहरु यसअघि नै सञ्चालनमा रहेका छन् । व्यवसायीहरुले लामो दुरीको सवारी सञ्चालनका लागि समेत तयारी भइरहेको बताएका छन् ।

(इमेजखबरबाट साभार)

तपाईको प्रतिक्रिया