कोरोना जितेकालाई समुदायमा पुर्नस्थापना हुनै मुश्किल

सुर्खेत, २ साउन ।

कर्णालीमा कोरोना जितेकाहरु समुदायमा दुव्र्यवहार भोगिरहेका छन् । कोरोना संक्रमणपछि आइसोलेशनमा उपचार गराएर डिस्चार्ज भएकाहरु आफन्त र छिमेकीबाटै हिंसा र दुव्र्यवहार भोग्न बाध्य छन् । यसले आफूहरुलाई समुदायमा पुर्नस्थापना हुन कठिन भएको पीडितको गुनासो छ ।

कोरोना जितेर घरमा पुगे पनि आफूहरुमाथि छोइछिटो, सार्वजनिक स्थलमा दुव्र्यवहार, सामाजिक काममा बहिस्कार, सामुहिक खेतीमा सहभागि हुन नदिने र परिवारका सदस्यहरुलाई समेत मानसिक रुपमा हिंसा भइरहेको उनीहरुले बताएका छन् । कोरोना निको भएर समुदायमा पुगे पनि छिमेकी र आफन्तको व्यवहारका कारण आफूहरुमाथि थप पीडा हुन थालेको उनीहरुले गुनासो गरेका छन् । कोरोना जितेर पनि समुदायमा आफूहरु सामाजिक रुपमा पराजित हुनु परेको पीडितको दुखेसो छ ।

मजदुरीका लागि भारत गएका कालिकोटको शुभकालिका गाँउपालिका वडा नं. ५ का शिवप्रसाद अधिकारी कोरोना कहरपछि गाउँ फिर्ता भए । क्वारेन्टाइनमा बसेको १३ दिनमा उनको पिसिआर रिपोर्ट पोजेटिभ आयो । कोरोना देखिएपछि उनलाई जिल्ला सदरमुकाम मान्ममा रहेको आइसोलेसनमा भर्ना गरियो । १५ दिनको उपचारपछि उनी निको भए । कोरोना नदेखिएपछि उनलाई डिस्चार्ज गरेर घर पठाइयो । कोरोना जितेर खुशी हुँदै गाउँ पुगेका उनलाई छिमेकी र आफन्तले नै छोइछिटो गर्न थाले । कोरोना लागेको भन्दै आफन्तबाटै दुव्र्यवहार भोगिरहेका उनी भन्छन्,‘कोरोनालाई जितेर भारतबाट फर्किएको ३३ दिनपछि घर पुगेँ, मृत्युलाई जितेर घर पुग्दा निकै खुशी थिएँ । तर गाउँमा आएपछि छिमेकीको व्यवहारले दुखी बनाएको छ, अहिले पनि मलाई नजिक पर्न दिदैनन् ।’

गाँउमा खेतीको समय भए पनि आफूलाई पर्ममा सामेल नगराइएको उनको दुखेसो छ । उनले भने, ‘घरमा सबैको अवस्था सामान्य छ, कसैलाई पनि संक्रमण छैन । तर पनि गाउँलेले हामीलाई कोरोना लागेका मान्छे भन्दै छोइछिटो गर्छन्, सामाजिक काममा पनि बहिस्कारमा परेका छौं ।’ स्थानीयले कोरोना जितेकाहरु सँगै बस्न त के उनीहरु हिँडेको बाटोमासमेत हिँड्दैनन् । गाउँलेले छोइछिटो गरेकै कारण यसपालीको रोपाइँ आफ्नो परिवारले एक्लै गरेको अधिकारीले बताए । अधिकारी मात्र होइनन्, शुभकालिका गाँउपालिकाकै डम्बर शाही, रमेश जैसी लगायतका १२ जनाले कोरोना जितेर गाउँ पुगेका छन् । तर उनीहरु गाउँमा विभिन्न प्रकारका मानसिक हिंसा र दुव्र्यवहार सहन बाध्य छन् ।

कोरोना जितेर गाउँ पुगेका रमेश जैसीले भने, ‘अचेल हामीलाई देखेपछि गाउँलेहरु टाढैबाट भाग्छन्, कुनै काममा पनि सहकार्य गर्दैनन् । समाजमा बसेर पनि एक्लिएका छौं, हामीलाई देखेर गाउँलेहरु तर्सिन्छन् ।’ कर्णालीमा कोरोनाको मारमा सबैभन्दा बढी पीडित दैलेख भएको छ । प्रदेशमा सबैभन्दा धेरै संक्रमित दैलेखमा भएका छन् । संक्रमणसँगै निको हुनेको संख्या पनि बढ्दो छ । तर कोरोना जितेर निको भएकाहरुलाई गाउँमा घुलमिल हुन भने सहज छैन । दुल्लु नगरपालिका–२ नाउलेकटुवालका १७ बर्षीय नविन थापा पनि भारतबाट फर्किदा कोरोना संक्रमित भए । कोरोना जितेर घर फर्के पनि गाउँलेको व्यवहारले असहज भएको उनको पीडा छ ।

जिल्लाको नारायण नगरपालिका–३ का उदयबहादुर नेपाली भन्छन्,‘मलाई कुनै लक्षण देखिएको थिएन्, आइसोलेसनबाट डिस्चार्ज भएपछि गाउँमा आएका छु । तर पनि गाउँघरमा मेलापात जाने र भेटघाट गर्ने वातावरण बनेको छैन, हामी गाउँ फर्किदा सबै त्रसित बनेका छन् ।’ कोरोना निको भएका महाबु गाउँपालिका–२ का सन्दिप खत्री भन्छन्,‘गाउँघरमा हामीलाई हेर्ने दृष्टिकोण राम्रो छैन, आफ्नै परिवारसँग पनि खुलेर रमाईलो गर्न पाएका छैनौं । कोरोना लागेको भन्दै मेलापात जान पनि बञ्चित गरिएको छ, खेतीको काममा सहयोग गर्नेहरु पनि अचेल नजिक आउँदैनन् ।’ कर्णालीका अधिकांश जिल्लामा यस्तै समस्या छ । कोरोना निको भएर अस्पताल र आइसोलेसनबाट डिस्चार्ज भएकाहरु समुदायमा पुनसर््थापना हुन सकिरहेका छैनन् ।

चौध सयभन्दा बढी डिस्चाज

कर्णालीमा पछिल्लो समय कोरोना जितेर डिस्चार्ज हुनेहरुको संख्या पनि बढेको छ । सामाजिक विकास मन्त्रालयका अनुसार बिहीबारसम्म साढे १४ सयभन्दा बढीले कोरोना जितेर डिस्चार्ज भएका छन् । सामाजिक विकास मन्त्रालय अन्तर्गतको स्वास्थ्य सेवा महाशाखाका प्रमुख डाक्टर लक्ष्मीनारायण तिवारीले कुल संक्रमितको संख्या धेरै देखिए पनि धेरैजना डिस्चार्ज भइसकेकाले अब संक्रमित थोरै रहेको उनको भनाइ छ । कर्णालीमा हालसम्म कोरोनोबाट मृत्यु हुनेको संख्या ६ पुगेको छ ।

यसैबीच कोरोना जितेर डिस्चार्ज भएकाहरुलाई समुदायमा दुव्र्यवहार हुन थालेपछि उनीहरुमा मानसिक समस्या देखिन चिन्ता बढेको छ । मनोविमर्शकर्ता रमा श्रेष्ठले यतिबेला संक्रमण जितेका र संक्रमितहरुलाई मनोसामाजिक परामर्श आवश्यक रहेको बताइन् । ‘थुप्रै समस्या झेल्दै मानिसहरु जन्मथलो आएका छन्, कोरोना जितेर घरमा जाँदा पनि सहजै घुलमिल हुनसक्ने वातावरण छैन’ श्रेष्ठ भन्छिन्,‘ समाजमा पुगेपछि उनीहरुमाथि थप हिंसा भइरहेको छ, तत्काल मनोपरामर्श सेवा दिन नसके डिप्रेसनको समस्या आउन सक्छ ।’

दुव्र्यवहार गरे कारबाही गर्ने प्रशासनको चेतावनी

जिल्ला प्रशासन कार्यालय सुर्खेतले कोरोना जितेर घर गएकाहरुमाथि विभिन्न हिंसा र दुव्र्यवहार भइरहेको भन्दै कारबाही गर्ने चेतावनी दिएको छ । प्रशासनले विज्ञप्ति निकालेर क्वारेन्टाइन आसपासका समुदायले कोरोना प्रभावितलाई दुव्र्यवहार गर्ने, कोरोना जितेर घर फर्किसकेका व्यक्तिलाईसमेत घृणा गर्ने गरिएको भन्दै प्रशासनले यस्ता अपमानजनक व्यवहार नगर्न सबैमा अपिल गरेको हो ।

प्रशासनले जारी गरेको विज्ञप्तिमा भनिएको छ,‘संक्रमित र संक्रमण जितेका व्यक्तिमाथि घरपरिवारका सदस्य, छिमेकी तथा अन्य व्यक्तिहरुले होच्याउने, अपमानित गर्ने, घृणा गर्ने, दुव्र्यवहार गर्नेजस्ता अमानवीय कार्य हुनु कानुन विपरित छन् । यस्ता दण्डनीय कार्य गर्नेविरुद्ध गाउँ÷नगरपालिका, प्रहरी वा प्रशासन कार्यालयलाई समयमै सूचना उपलब्ध गराई पीडितलाई न्याय प्रदान गर्नका लागि सबैसँग सहयोगको अपेक्षा गर्दछौँ ।’ प्रशासनले कानून विपरीत यस्ता कार्य गर्ने जोकोहीलाई प्रचलित कानूनबमोजिम कारवाही गरिने चेतावनी दिएको हो ।

तपाईको प्रतिक्रिया