अमर सुनार
दैलेख, २ साउन ।
काम गरेको रकम भुक्तानी नदिएको भन्दै दैलेखका निर्माण व्यववायी संघको अगुवाइमा नारायण नगरपालिका कार्यालयको कार्यालयमा तालाबन्दी गरिएको छ ।
नगरपालिकाले काम सम्पन्न भएका र प्राविधिकले मूल्यांकन गरेका योजनाहरुको भुक्तानी नपाएको कारण तालाबन्दी गरिएको निर्माण व्यवसायी संघका जिल्ला सचिव अशोक थापाले बताए ।
यसबारे प्रतिक्रिया माग्न नारायण नगरपालिकाका प्रमुख रत्नबहादुर खड्का, प्रमुख प्रशासकीय अधिकृत छबिलाल नेपाली र इञ्जिनियर हिक्मत रोकायलाई फोन गर्दा कल रिसिभ गरेनन् ।
निर्वाचन क्षेत्र विकास साझेदारी कार्यक्रमको दैलेख महाबु सडकका ६ वटा खण्ड र विद्यालय भवन निर्माण लगायतका १३ वटा योजनाको झण्डै ३ करोड बराबरको काम गरेको रकम फ्रिज गरिएको कारण तालाबन्दी गरिएको निर्माण व्यवसायी शैलेश श्रेष्ठको टिप्पणी छ ।
काम गरेको रकम पाउनुपर्ने भएर रकम फ्रिज गरिएको भए दुःखद भएको दैलेख प्रमुख जिल्ला अधिकारी युवराज कटेलले प्रतिक्रिया दिए । ‘प्राविधिकले एमबी भरेर बुझाइसकेपछि भुक्तानी रोकिएको भए कोही न कोहीले जिम्मेवारी लिनुपर्ने हुन्छ’ उनले भने ।
युग संवाददाता । । २ श्रावण २०७७, शुक्रबार ०७:३२