बजेटमा कार्यपालिका सदस्यको असन्तुष्टि

दैलेख, १ साउन ।

डुङ्गेश्वर गाउँपालिकाले ल्याएको बजेटप्रति कार्यपालिका सदस्य र गाउँसभा सदस्यले असन्तुष्टि जनाएका छन् । उनीहरुले बजेट अध्यक्ष केन्द्रित भएको आरोप लगाएका छन् । गाउँपालिकाको बजेट जनचाहना अनुरुप र व्यवहारिक नभएको भन्दै संशोधन गर्नुपर्ने माग गरेका छन् ।

गाउँपालिकाले असार २६ गते आगामी आर्थक वर्ष २०७७÷०७८ का लागि बजेट गाउँ सभामा पेश गरेको थियो । गाउँसभाले ३४ करोड ३२ लाख बराबरको बजेट पारित गरेको थियो । असार ८ गते कार्यपालिकाको बैठकले तयार पारेको बजेटको खाकालाई फेरबदल गरेर पेश गरिएको, छलफलबिनै बजेट पारित गरिएको असन्तुष्ट गाउँसभा सदस्यले आरोप लगाएका छन् ।

गाउँसभामा कुनै पनि लिखित निणर्य नगरेर अध्यक्षले जर्बजस्ती बजेट पारित भएको घोषणा गरेको डुङ्गेश्वर गाउँपालिका–१ का वडाध्यक्ष लोकबहादुर डाँगीले बताए । ‘मनोमारी तरिकाले बजेट पारित भयो, बजेट जनमुखी नभइ वितरणमुखी भयो’, वडाध्यक्ष डाँगीले भने, ‘बजेट परिमार्जन गरी कार्यान्वयन हुनुपर्छ ।’

उनले बजेट व्यवहारिक नभएकोले सन्तुलित बनाउन माग गरे । ‘आर्थिक वर्ष २०७६÷०७७ मा समपुरक कोषमा विनियोजित एक करोड ५० लाखबाट सन्तोषजनक काम भएनन्, आर्थिक वर्षको अन्त्यमा पनि काम सुरु भएको छैन, आगामी आर्थिक वर्षका लागि पनि एक करोड ८४ लाख ६५ हजार रुपैयाँ विनियोजन गरिएको छ । यो मान्य हुँदैन ।’, वडाध्यक्ष डाँगीले भने, ‘यसमध्ये एक करोड रुपैयाँ वडाबाट माग भइ आएका योजना निर्माण हुनुपर्छ ।’ गाउँपालिकाले गाडी, मोटरसाइकल र एम्बुलेन्स खरिद गरी प्रयोगमा ल्याए पनि आगामी आर्थिक वर्षमा पुनस् गाडी खरिदमा २८ लाख रुपैयाँ विनियोजन गरेर अनुत्पादक क्षेत्रमा बजेट खर्च गर्न खोजेको असन्तुष्ट पक्षको आरोप छ ।

उनीहरुले गाडी खरिदको बजेट कटौती गरेर विपन्न कृषकको जीविकोपार्जनमा सघाउँ पु¥याउने कार्यक्रम सञ्चालन गर्नुपर्ने माग राखेका छन् । गत वर्ष सञ्चालन गरिएको डुङ्गेश्वर महोत्सवमा पाँच लाख रुपैयाँ खर्च भए पनि पुनस् चालु शीर्षकमा तीन लाख विनियोजन भएको वडाध्यक्ष डाँगीले बताए । उक्त बजेट कटाएर विपन्न लक्षित कार्यक्रम गरिनुपर्ने उनको माग छ । गाउँपालिकामा रहेको कोटदेवल क्याम्पस र कृषि क्याम्पसको स्तरवृद्धिका लागि प्रत्येक वर्ष रकम विनियोजन हुने गरेको भए पनि शिक्षकको तलबमा खर्चिएको उनले बताए । रकमको सही सदुपयोग हुन नसकेको बेला आगामी आर्थिक वर्षमा पनि १८ लाख रुपैयाँ विनियोजन भएको भन्दै वडाध्यक्ष डाँगीले सशर्त अनुदानबाट क्याम्पस सञ्चालन हुनुपर्ने माग गरे। असन्तुष्ट पक्षले गत वर्ष नै निर्माण भएका तर गत वर्षको भुक्तानी दिने उद्देश्यले विभिन्न सडकका लागि ६५ लाख बढी बजेट विनियोजन भएको प्रति आपत्ती प्रकट गरेका छन् ।

गाउँपालिकामा कार्यरत कर्मचारीको कार्यसम्पादन मूल्यांकनका आधारमा भत्ता तोक्नुपर्ने भए पनि मनोमानी ढंगबाट प्राविधिकतर्फका कर्मचारीका लागि मात्रै फिल्ड भत्ता तोकिएको डुङ्गेश्वर गाउँपालिका–२ का वडाध्यक्ष राजुकुमार खत्रीले बताए । उनले अन्य कर्मचारी र स्वास्थ्यकर्मीको उपेक्षा गरिएको आरोप लगाए। लघु उद्यमी प्रोत्साहन कार्यक्रमका लागि एकलाख रुपैयाँ मात्रै विनियोजन भएको भन्दै उक्त बजेट बढाउनुपर्ने उनको माग छ । ‘हामीले चाहेको सन्तुलित विकास हो, तर बजेट सन्तुलित र वैज्ञानिक भएन’, वडाध्यक्ष खत्रीले भने, ‘अनावश्यक बजेट तत्काल कटौती गर्नुपर्छ ।’ वडा सदस्य तेजबहादुर थापाले अध्यक्षले एकलौटी रुपमा गाउँसभा सदस्यलाई छलेर बजेट विनियोजन गरेको भन्दै सन्तुलित रुपमा विनियोजन हुनुपर्ने माग गरे । विवादमा अध्यक्ष विकास कोष र गर्भवती उपाध्यक्ष भेटघाट आर्थीक वर्ष २०७६÷०७७ बाट सुरु भएको अध्यक्ष विकास कोष कार्यक्रम विवादमा परेको छ ।

गत वर्ष उक्त कोषमा विनियोजन भएको २५ लाख मध्ये तेस्रो चौमासिकमा कोरोना भाइरस रोकथाममा पाँच लाख रुपैयाँ रकमान्तर भएको थियो । बाँकी बीस लाख रुपैयाँ खर्च हुन नसकेर आर्थिक वर्षको अन्त्यमा मनोमानी रुपमा वितरण गरिएको असन्तुष्ट पक्षको आरोप छ । यस्तै उपाध्यक्ष गर्भवती भेटघाट कार्यक्रम व्यवहारिक नभएको गाउँसभा सदस्यहरुको भनाइ छ। उक्त कार्यक्रमका लागि पाँच लाख रुपैयाँ विनियोजन भएको छ । वडासदस्य कमलाकुमारी केसीले यो कार्यक्रमले वडामा महिला सदस्यलाई उपेक्षा गरेको भन्दै कार्यक्रमको शीर्षकलाई परिमार्जन गरी गर्भवती महिलासँग वडा महिला सदस्य राखिनुपर्ने माग गरिन् ।

यता गाउँपालिकाका अध्यक्ष नगेन्द्रबहादुर मल्लले आगामी आर्थीक वर्षका लागि महत्वकांक्षी योजना ल्याउन नसकेको जिकिर गरे । ‘आवश्यकताका आधारमा बजेट व्यवस्थापन गरिएको छ’, अध्यक्ष मल्लले भने । समय अभावका कारण बजेट माथि छलफल हुन नसकेको अध्यक्ष मल्लले स्वीकारे । वडामा मोटरसाइकल, गाउँपालिकामा गाडी र एम्बुलेन्स भए पनि स्वास्थ्य, शिक्षा र कृषिका सामग्री ढुवानीमा वर्षेनी १५ लाख रुपैयाँ खर्च हुने अवस्था आएपछि एउटा बोलेरो जीप खरिदका लागि २८ लाख रुपैयाँ विनियोजन गर्नुपरेको उनले बताए ।

तपाईको प्रतिक्रिया