किन झ्याप–झ्याप गइरहन्छ सुर्खेतमा बत्ती ?

पुराना ट्रान्समिटरले लोड थेग्न सकेनन् 

सुर्खेत, ३१ असार ।

नेपालमा लोडसेडिङमुक्त भएको झण्डै दुईवर्ष भइसकेको छ । हाल केन्द्रीय विद्युत प्रशारणलाइन पुगेका ठाउँमा कुनै पनि ठाउँमा लोडसेडिङ छैन । हिजोआज वर्षाको समय भएका कारण पनि विद्युत उत्पादन झनै बढेको छ । तर पनि सुर्खेतमा विद्युत नियमित छैन ।

दिनमा सयौं पटक झ्याप–झ्याप जाने बत्तीका (विद्युत लाइन) कारण सर्वसाधारण आजित बनेका छन् । रातीको समयमाभन्दा प्रायद्य दिनमा विद्युत लाइन अनियमित धेरै हुने गरेको छ । पटक–पटक बत्ती जाँदा सर्वसाधारणदेखि उद्योगी व्यवसायीहरु निकै हैरान हुँदै आएका छन् । बारम्बार बत्ती जाँदा बइलेक्ट्रोनिक्स सामानहरु बिग्रीएर हैरान भएको स्थानीयको पीडा छ । सर्वसाधारणहरु हैरान भए पनि विद्युत प्राधिकरणको सुर्खेतस्थित कार्यालयले यसबारे सुचना दिएको छैन ।

अघोषित रुपमा बारम्बार बत्ती जाने समस्याले स्थानीयहरु हैरान छन् । वर्षाैदेखि वीरेन्द्रनगरमा जडान भएका ट्रान्समिटरहरुको स्तरोन्नती अर्थात अपग्रेट नहुँदा यो समस्या आएको विद्युत प्राधिकरणले जनाएको छ । साथै प्राधिकरणले यो समस्या तत्कालै समाधान नहुने जनाएको छ । ‘वीरेन्द्रनगरका ट्रान्समिटरहरु वर्षाै पुराना छन्, जसकाकारण लोड धान्न नसकेर बारम्बार लाइन जाने गरेको हो’ विद्युत प्राधिकरण सुर्खेतका कार्यालय प्रमुख टंकराज गिरीले भने, ‘स्थानीयले ट्रान्समिटर राख्ने जग्गा नदिँदा नयाँ ट्रान्समिटर अपटेड गर्न सकिएको छैन ।’ प्राधिकरणका अनुसार वीरेन्द्रनगरका सबै ट्रान्समिटरहरु अपग्रेट गर्नुपर्ने अवस्थामा पुगेका छन् । ‘

पहिले थोरै घरहरु थिए, सानो क्षमताको ट्रान्समिटरले धान्थ्यो । तर अहिले घरहरु बढेका छन्, अब सबै ठाउँमा ठूलो क्षमताको ट्रान्समिटर राख्नुपर्छ’ गिरीले भने, ‘प्राधिकरणलाई ट्रान्समिटर अपग्रेट गर्न कुनै समस्या छैन, तर जग्गा नपाउँदा ट्रान्समिटर अपग्रेट गर्न सकेका छैनौँ ।’ ट्रान्समिटर अपग्रेट गर्न नपाएकै कारण प्रायः साँझ र विहान लाइन झ्याप झ्याप जाने गरेको प्राधिकरणको भनाइ छ । ‘लोड धान्न नसकेर पटक–पटक ट्रान्समिटरको फ्यूज जान्छ, कहिले लाइन काट्नुपर्ने हुन्छ’ उनले थपे, ‘फ्यूज परिवर्तन गर्न र लाइन जडान गर्दा केही समय लाइन जाने गरेको हो ।’

वीरेन्द्रनगरका सबै टान्समिटरहरु अपग्रेट नहुँदासम्म बत्ति जाने समस्याबाट मुक्ती नपाउने उनी बताउँछन् । विद्युत खपतकोदर बढेसँगै टान्समिटरहरु अपग्रेट गर्नुपर्न उनको भनाइ छ । विद्युतीय सामग्रीका प्रयोगकर्ताहरु र उद्योगधन्दाहरु दिन प्रतिदिन बढ्दै गएका कारण ट्रान्समिटरहरु अपग्रेट गर्नुपर्ने अवस्था आएको विद्युत प्राधिकरणको भनाइ छ ।

उद्योगी पनि हैरान

बारम्बार विद्युत जाने समस्याका कारण सुर्खेतका उद्योगी तथा व्यवसायीले ५० प्रतिशत मात्रै काम गर्न पाएका छन् । ‘एक दिनमा ५० देखि एकसय पटकसम्म विद्युत जान्छ’ सुर्खेत उद्योग वाणिज्य संघका अध्यक्ष धनबहादुर रावलतले भने, ‘विद्युतको समस्या कारण ५० प्रतिशत मात्रै काम भएको छन्, मेसनरी सामान बिग्रिएर हैरानी भएका छौँ ।’

पटक–पटक वत्ति जाँदा हैरानी भएपछि व्यवसायीहरुले विद्युत प्राधिकरण सुर्खेतलाई ज्ञापनपत्रसमेत बुझाएका छन् । ‘वीरेन्द्रनगरका उद्योग व्यवसायीले वर्षाैदेखि विद्युतको समस्या झेल्दै आएका छन्, हप्ता दिनअघि मात्रै विद्युतको कार्यालयमा ज्ञापनपत्र बुझाएका छौँ’ अध्यक्ष रावतले भने, ‘उद्योगीहरुले १३२ केभिए प्रशारण लाईन मागेको बर्षाैं भइसक्यो, भएको लाइनसमेत पटकपटक गएर हैरानी व्यहोरेका छौँ’ उनले भने, ‘ व्यवसायीका दुःख न राज्यले बुझ्छ, न त प्राधिकरणले नै ।’

एक वर्षभित्रै कालिकोटमा विद्युत पु¥याउने दाबी

साविक कर्णालीका जिल्लामा हालसम्म विद्युतको राष्ट्रिय प्रशारणलाइन पुग्न सकेको छैन । तर अब कालिकोटसम्म नयाँ आर्थिक वर्ष भित्रमा विद्युतको केन्द्रीय प्रसारण लाइन पुग्ने अपेक्षा गरिएको छ ।

नेपाल विद्युत प्राधिकरणको प्रादेशिक कार्यालय सुर्खेतका प्रमुख सुरेन्द्र अग्रहरीले कालिकोटमा विद्युत प¥याउनका लागि हाल दुल्लु–कालिकोट खण्डमा काम भइरहेको बताए । ‘१०÷१५ किलोमिटर विद्युत प्रसारण लाइन तानिएको छ’ अग्रहरीले भने, ‘नयाँ आर्थिक वर्षमै कालिकोटमा विद्युत पु¥याउने लक्ष्य लिएका छाँै ।’

यस्तै सुर्खेतको पश्चिम क्षेत्रमा भने वन जंगल र वीरेन्द्रनगरका स्थानीयले लाइन तान्न नदिँदा प्रसारण लाइन पु¥याउन समस्या भएको छ । ‘वीरेन्द्रनगरदेखि बाँगेसिलका स्थानीयले लाइन तान्न अवरोध गरेका छन्, पश्चिम क्षेत्रका धेरै ठाउँमा जंगल कटान गरेर मात्रै लाइन तान्नुपर्ने अवस्था छ’ उनले भने, ‘स्थानीय र जंगलको समस्या समाधान भएको खण्डमा तीन महिनाभित्रै लाइन पश्चिम क्षेत्रमा पु¥याउन सकिन्छ ।’ प्रदेश राजधानी भएसँगै पुराना पोलमा लाइन तान्न र स्टेशन राख्न स्थानीयले अवरोध गर्दै आएको उनको भनाइ छ ।

‘१३२ केभिए प्रसारण लाइन नहुँदासम्म समस्या भइरहन्छ’

तत्कालका लागि ट्रान्समिटर अपग्रेट (स्तरोन्नती) गरेर वीरेन्द्रनरमा बारम्बार विद्युतको लाइन जाने र विजुली अनियमित हुने समस्यालाई समधान गर्न सकिन्छ । तर यो दिर्घकालिन समस्या भने होइन । दीर्घकालिन समस्या साधानका लागि १३२ केभीए प्रसारण लाइन नै विस्तार गर्नुपर्ने विद्युत प्राधिकरणले जनाएको छ ।

‘अहिले त हावा लाग्ने वित्तिकै लाइन जान्छ, भोल्टेज जबढी कम र बढी आउँदा ट्रान्समिटरमा समस्या आउँछ’ विद्युत प्राधिकरण सुर्खेतका कार्यालय प्रमुख टंकराज गिरीले भने, ‘ट्रान्समिटर अपग्रेट गर्दा तत्काल विजुली जाने समस्या समाधान हुन्छ, तर दीर्घकालिन समस्या समाधानको लागि १३२ केभीए प्रशारण लाइनको विस्तार नै अन्तिम विकल्प हो ।’ वीरेन्द्रनगर प्रदेशको राजधानी भएपछि जनघनत्व र उद्योग धन्दाहरु बढ्दै गएका कारण अब १३२ केभिए प्रसारणलाइन नहुँदासम्म यहाँ विद्युतको समस्या आइरहने उनको भनाइ छ ।

तपाईको प्रतिक्रिया