जुम्लामा सलह देखिएपछि प्रतिकार्य योजना बन्दै

जुम्ला, ३१ असार ।

जुम्लाको पूर्वी भेग पातारासी गाउँपालिका हुँदै चन्दननाथ नगरपालिकामा सलह किरा देखिएपछि यसको रोकथाम तथा नियन्त्रण र प्रतिकार्य योजना बनाउन थालिएको छ । कृषि तथा खाद्य सुरक्षा समितिको बैठकले सलह नियन्त्रण तथा प्रतिकार्य योजना बनाउने निर्णय गरेको हो ।

जुम्लामा सलह पुगेपछि बालीमा क्षति हुन नदिन प्रशासनमा आकस्मिक बसेको बैठकले यस्तो निर्णय लिएको प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापाले बताए । उनले भने, ‘बैठकमा सलहको विषयमा कृषि विज्ञसँगको राय, सल्लाह, सुझावसहित क्षति कम गर्ने तयारी भइरहेको छ ।’ कृषि तथा खाद्य सुरक्षा समितिका संयोजक तथा कृषि कार्यालयका प्रमुख बालकराम देवकोटाले सलहको परिचयसहित यसले पु¥याउने क्षतिको विषयमा कृषिविज्ञले सरोकारवालालाई जानकारी दिइने बताए ।

बैठकमा सलह किरा डोल्पा हुँदै जुम्ला पुगेको जानकारी दिइयो । उनले फिल्डमा समेत अनुगमन भइसकेकाले किसान आफैँले बाजा बजाउने, थाल बजाउने र आगो बालेर भगाउने काम भइरहेको जानकारी दिए । जुम्ला पुगेको सलहले भने कुनै बालीमा बसेमा पूरै सखाप पार्ने गरेको छ । स्याउ सुपरजोन जुम्लाका प्रमुख तथा वरिष्ठ कृषि विकास अधिकृत नवराज भण्डारीका अनुसार जुम्लामा आएको सलह लाखौंको नभई हजारौँको संख्यामा छ ।

नेपालमा यसले खासै धेरै क्षति नपु¥याएको भएपनि तयारी हुनुपर्ने बताइएको छ । उनका अनुसार रातभरी केही गर्दैन बिहान घाम लाग्ने बित्तिकै बाली खोज्दै जाने यसको विशेषता छ । नेपालमा आइरहेको सलह समूह छुट्टै आइरहेको र कमजोर हुँदै गएको छ । कृषि अनुसन्धान कार्यालय जुम्लाका निर्देशक डा.तीर्थ रिजालले जुम्लामा आठदेखि दश हजार सलह आइरहेको देखिएको बताए । उनले यसको उत्तम उपाय मेकानिकल उपाय रहेको जानकारी दिए ।

यसका साथै यो जता जान्छ त्यहाँ किसान र सरोकारवाला निकाय सचेत हुन जरुरी रहेको उनले जानकारी दिए । विज्ञले समेत बाजा बजाउने, आगोको धुवाँ बाल्ने र भगाउनु नै यसको उपाय भएको जानकारी दिएका छन् । जिल्ला कृषि विकास कार्यालयमा सलहको सूचना आदानप्रदान गर्न सूचना केन्द्र स्थापना गरिने भएको प्रमुख जिल्ला अधिकारी थापाले जानकारी दिए । सलहको क्षतिबाट बच्न सञ्चारमाध्यममा सूचना प्रकाशन तथा प्रसारण गरिने, विषयगत कार्यालयले योजना बनाउने बताइएको छ । विशेषज्ञको सल्लाहअनुसारनै स्थानीय सुहाउँदो विधि पद्धतिअनुसार रोकथाम जनचेतनाका काम गर्नुपर्ने निर्णय गरिएको छ । प्रजिअ थापाले सलहबाट बाली जोगाउन एकातिर नागरिक र अर्कोतिर सरोकार निकाय समयमै सचेत हुन अनुरोध गरे ।

यसका साथै स्थानीय तहलाई बढी जिम्मेवारी बनाउन आवश्यक रहेको छ । अहिले जुम्लामा आएको सलहले धान, आलु, मकै, सिमी, स्याउमा क्षति पु¥याउन शुरु गरेको छ । यहाँको पातारासी, गुठीचौर गाउँपालिका र चन्दननाथ नगरपालिकाको पूर्वी भेगतिर बालीमा क्षति पु¥याएको छ । यहाँको पातार ासी गाउँपालिकामा सलहले मकै, गहुँ र आलु बारीमा क्षति पु¥याउन थालेपछि गाउँपालिकाले सलह मारेर ल्याउनेलाई प्रतिकिलो दुईसय उपलब्ध गराउने निर्णय गरेको छ । बालीमा सलह किराबाट जोगाउन कृषक अहिले आफैं लागिपरेका छन् ।

जुम्ला अर्गानिक जिल्ला घोषित भएकोले रासायनिक विषादी प्रयोग गर्ने गरिएको छैन । सलहले हरियो वनस्पतिलाई छोटो समयमा पात र डाँठसमेत खाएर नष्ट पारिदिन्छ । जेठदेखि असोजसम्म बढी प्रकोप हुने सलह एकै दिनमा एकसय ५० किलोमिटरभन्दा टाढासम्म पुगेर बालीनालीमा क्षति पु¥याउन सक्ने विज्ञ बताउन्छन् । भारतको विभिन्न प्रान्त हुँदै नेपाल भित्रिएको सलह जुम्लामा पनि पसेको छ ।

तपाईको प्रतिक्रिया