लालपुर्जा विनाको जग्गा

हुम्ला, ३० असार ।

ताजाँकोट गाउँपालिका– ३ मासपुरका मुङ्ग्या रोकाया उमेरले ८० काटिसके । मासपुर गाउँमा भएको मालपोत कार्यालयको मोडमा जग्गा दर्ता छ । तर, उनका हातमा लालपुर्जा छैन । २०५० साल ११ महिना १९ गते मासपुर गाउँँको मालपोत कार्यालय हुम्लामा जग्गा मोडमा दर्ता भएको १९ घरधुरी स्थानीयले अहिलेसम्म हातमा लालपुर्जा पाएका छैनन् ।

८० वर्षीय रोकाया पञ्चायतकालदेखि साबिकको मैला गाउँ विकास समिति– ७ बोदचौरमा एकमाना चामल, नुन लिएर जग्गाको तिरो तिर्न एक दिन पैदल हिँडेर आउने गरेको गुनासो गर्दछन् । अहिलेसम्म लालपुर्जा नपाउँदा आफ्नो नाममा भएको जग्गाको कुनै टुंगो नभएको रोकायाको भनाइ छ ।

मासपुर गाउँको जग्गाको पटकपटक नक्सा नापी नभएको पनि होइन । तर, उनीहरूले आस भने मारेका छैनन् । अर्का ८५ वर्षीय वृद्ध दलवीर रोकायाको गुनासो पनि उस्तै छ । ‘जग्गाको नापी–नक्सा भएको छ । गाउँलेले लालपुर्जा हातमा पाएका छैनौँ । उमेरले नेटो काट्न लाग्यो, हामीले लालपुर्जा नदेखे पनि छोराको नाममा देख्न पाए आनन्दले सास जाने थियो,’ उनी भन्छन् ।

चार दिन लाग्छ लालपुर्जा लिन जान


ताजाँकोट गाउँपालिका–३ मासपुर गाउँबाट हुम्ला जिल्लाको सदरमुकाम सिमकोट पुग्न चार दिन लाग्ने स्थानीयको भनाइ छ । हातमा लालपुर्जा नहुँदा प्रदेश सरकारले किसानलाई दिँदै आएको कृषि अनुदानबाट यहाँका नागरिक वञ्चित भएका छन् । सरकारले जिल्ला कृषि कार्यालयबाट लाखौँ रुपैयाँ कृषिका लागि अनुदान दिए पनि यहाँका नागरिक यस विषयमा जानकार नभएको बताउँछन् ।

मालपोत कार्यालय भन्छ– जग्गाधनी लालपुर्जा लिन आएनन्

जिल्ला मालपोत कार्यालय हुम्ला भने मोडमा दर्ता भएको जग्गाधनी लालपुर्जा लिन नआएको बताउँछ । ०५० साल ११ महिना १९ गते जिल्ला मालपोत कार्यालय हुम्लाको मोडमा दर्ता भएको मालपोत कार्यालय हुम्लाका निमित्त प्रमुख रवीन्द्र शाहीले बताए ।

ताजाँकोट गाउँपालिका अनुगमन गर्न जाँदा लालपुर्जा नपाएको थाहा पाएको निमित्त प्रमुख शाहीको भनाइ छ । ‘गाउँपालिकाबाट सिफारिस लिएर आएपछि प्रतिलिपि दिन्छु भनेको छु, त्यहाँबाट स्थानीय आएका छैनन्,’ शाहीले भने । मासपुर गाउँका स्थानीयले लालपुर्जा लिने चासो नदेखाउँदा समस्या आएको मालपोत कार्यालय हुम्लाले जनाएको छ । २७ वर्षदेखि भौगोलिक हिसाबले टाढा रहेको हुम्ला मासपुर गाउँका स्थानीय लालपुर्जाविहीन भएका छन् ।

(नयाँ पत्रिकाबाट साभार)


Leave a Reply

Your email address will not be published. Required fields are marked *


ताजा समाचार