जाजरकोट, ३० असार ।
जाजरकोटको बारेकोटमा पहिरोबाट पीडित विस्थापितले तत्काल खानेकुरा, त्रिपाल र कम्मलको माग गरिरहेका छन् तर सरकारले भने पठाउन सकेको छैन । वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेत, कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही लगायतका जिल्लाका साँसदहरुको टोली हेलिकोप्टरमा केही राहत सामग्री लिएर आएपनि उक्त सामग्री अप्रयाप्त भएको गाँउपालिका अध्यक्ष महेन्द्र शाहले बताए ।
बारेकोटका जिरी, तल्लो जिरी , धौलाकोट, मैना, तोलखाना, कालाखोली, भैलोखाना, धुमा, धौलाकोट, कोट्ली लगायतका गाँउका आठ सय बढी परिवार विस्थापित भएका छन् । तत्काल पाँच सय परिवारलाई त्रिपाल र कम्मलको आवश्यकता छ । केही दिनमै भोकमरीको अवस्था सिर्जना हुँदैछ । गाँउपालिका एक्लैले विपदको सामना गर्न सक्ने अवस्था छैन ।
विस्थापितलाई खान बस्नको लागि निकै समस्या छ । तर प्रदेश सरकार र संघिय सरकार गम्भीर भएनन् । बारेकोटवासीलाई परेको विपत्तीमा अहिलेसम्म सहयोग पाईएन उनले गुनासो गदै भने ‘यातायात र सञ्चार सम्पर्कबाट विच्छेद हुँदा पनि पहिरो प्रभावितलाई सहयोग तथा राहतमा समस्या भएको छ । राहत सामग्रीका लागि हवाई मार्ग बाहेकको विकल्प छैन । तर केन्द्र सरकार सुन्दैन । बारेकोटका एक गाँउबाट अर्को गाँउ जान र एक वडाबाट अर्को वडा जान कम्तिमा ५ देखि ६ घण्टा लाग्ने भएकोले पनि तथ्यांक संकलनमा समस्या भएको हो ।’ बारेकोटमा प्रहरीको सञ्चार सेटले समेत काम नगरेपछि थप समस्या भएको छ ।
मन्त्रीहरु, साँसदहरु हेलिकोप्टरमा बाढीपहिरो प्रभावितको हवाई निरीक्षण गरेर फर्कन्छन तर हामीले अहिले सम्म एउटा त्रिपाल र कम्मल समेत पाउन सकेका छैनौ बारेकोट ५ कालाखोलीका दलबहादुर थापाले भने ‘न खाने खास छ न ओत लाग्ने ठाँउ छ । विद्यालयको चुहिने छाना मुनि रात काट्न विवस छौ ।’ विस्थापित परिवार सँग खाने अन्न छैन । खाद्य डिपो रित्तै छ । गहँ मकै, कोदो पिस्ने घट्ट बाढीले बगाईदिएको छ । किनेर खाने बजार छैन । बाटोघाटो अवरुद्ध छ ।
यतिवेला बारेकोटी जनता निकै समस्यामा छन । तत्काल सरकारले खाद्यन्न लगायतका राहत सामग्री पठाउनुपर्छ । बारेकोटमा यतिवेला स्थलमार्गबाट खाद्यन्न ढुवानी गर्न सक्ने अवस्था छैन । तसर्थ हेलिकोप्टरका माध्यामबाट ढुवानी त्रिपाल, कम्मल र खाद्यन्न पठाउनु पर्छ जिल्ला समन्वय समितिका उपससंयोजक ज्ञानीप्रसाद शर्माले भने ‘सरकारले समयमा ध्यान दिएन भने बारेकोटमा भोकमरी र अर्को महामारी निम्तन सक्छ ।’ पानी निरन्तर परिरहेकोले जमिन भासिने र पहिरो जाने क्रम नरोकिदा पहिरो जाने डरले घर छोडेका स्थानियहरु विद्यालय, आफन्त, गोठ र सार्वजनिक चौरहरुमा त्रिपाल हालेर बसिरहेका छन् ।
धेरैजसो विस्थापितहरु स्थानिय विद्यालयमा बसिरहेका छन् । उनीहरु त्रिपाल पाए चौरमै बस्न चाहन्छन । तर त्रिपाल नहुँदा कोरोना लगायतको जोखिम मोलेरै सयौको संख्यामा कोेचिएर बस्न विवस भएको गाँउपालिका उपाध्यक्ष ओमा शाहीले बताईन । केही दिनमै खाद्यन्न ल्याउन नसके विस्थापितहरु भोकभोकै पर्ने अवस्था रहेको उनको भनाई छ । उनले ‘हेलिकोप्टरबाट तत्काल खाद्यन्न लगायतका राहत सामग्री पठाउन केन्द्र सरकार सँग माग गरिन ।
युग संवाददाता । । ३० असार २०७७, मंगलवार १०:४३