वीरेन्द्रनगरमा नर्स छनौटमा भद्रगोल

सुर्खेत, ३० असार ।

वीरेन्द्रनगर नगरपालिकाले गरेको विधालय नर्स नियुक्तिमा भद्रगोल देखिएको छ । नगरपालिकाले केहीदिन अघिमात्र २० जना नर्सका लागि आवेदन खुला गरेको थियो । हाल छोटो सुची र अन्तरवार्ताबाट २० जनालाई नियुक्त गरिएको छ । तर उक्त नियुक्तिमा स्वच्छ प्रतिस्पर्धा र योग्यताका आधारमा भन्दा पनि हचुवाको भरमा छनौट गरेको पाइएको छ ।

आवेदन दिएर पनि छनौटमा नपरेकाहरुले भने नगरपालिकाका कर्मचारीकै मिलेमतोमा नियुक्त गरिएको आरोप लगाएका छन् । प्रमाण नै नपुगेका उम्मेदवारहरुलाई पनि भनसुन र राजनीतिक चलखेलका आधारमा योग्य उम्मेदवारलाई छनौट नगरिएको उनीहरुको भनाइ छ । यस्तै केही कर्मचारीकै मिलेमतोमा कागजपत्र मिलाइ अनुर्तीण उम्मेदवारलाई रातारात मौखिक परीक्षाका लागि उर्तिण बनाइएको पाइएको छ । नगरपालिकाले असार १७ गते विधालय नर्सका लागि सुचना प्रकाशित गरेको थियो । नगरमा विद्यालय नर्सिङ कार्यक्रम संचालनका लागि विद्यालय स्वास्थ्य तथा नर्सिङ सेवा संचालन कार्यविधि २०७६ बमोजिम आवेदन मागिएको थियो ।

जसअनुसार एकसय २६ जनाले आवेदन दिए । त्यसमा ४३ जनालाई मात्र मौखिक परीक्षाका लागि छनौट गरियो । छनौटका लागि नर्सिङमा उर्तिण गरेको प्रतिशत, स्थानीय बासिन्दा र अनुभवलाई मुख्य आधार बनाइएको थियो । तर नगरपालिकाले नर्सिङ उर्तिण नै नगरेका उम्मेदवारलाई मौखिक परीक्षामा छनौट गरेको पाइएको छ । यद्यपी रातारात कागजपत्र नपुगेको भन्दै उनीहरुलाई अन्तरवार्ता दिनबाट बञ्चित गरिएको थियो ।

नगरपालिकाका सूचना अधिकारी दीपेन सुवेदीले भने कर्मचारीको मिलेमतोमा नर्स छनौट गरिएको आरोपलाई अस्वीकार गरे । तर छनौटमा नपरेका उम्मेदवाहरुले भने सुवेदीले नै हस्ताक्षर गरेको पत्रमा सुरुमा ४३ जना उम्मेदवारको नाम मौखिक परीक्षाका लागि छनौट गरिएको र उनकै मिलेमतोमा कम अंक प्राप्त गरेका र नेपाल नर्सिङ परिषद्बाट प्राप्त प्रमाणपत्रको म्याद सकिएर नविकरण नभएकाहरु पनि मौखिक परीक्षाका लागि छनौट गरिएको दाबी गरेका छन् ।

यसैबीच नगरपालिकाले सिफारिस गरेकाहरुमा समावेशी सिद्धान्तलाई लत्याइएको, दलितको प्रतिनिधित्व नभएको र हचुवाको भरमा छनौट गरिएको भन्दै दलित अधिकारकर्मीहरुले विरोध जनाएका छन् । साथै उनीहरुले तत्काल यसलाई सच्याउन माग गरेका छन् ।

तपाईको प्रतिक्रिया