थुनुवाको सम्पर्कमा आएका थप दुई प्रहरीमा कोरोना पुष्टि

सुर्खेत, ३० असार ।

भारतबाट आउनेहरुको संख्या घटे पनि कर्णाली प्रदेशमा कोरोना भाइरसबाट संक्रमित हुनेहरुको संख्या घट्न नसकिरहेका बेला कोरोनाका कारण जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरीहरु जोखिमपूर्ण अवस्थामा काम गर्न बाध्य भएका छन् ।

जबरजस्ती करणी गरेको आरोपमा पक्राउ परेका ३६ वर्षीय एक थुनुवामा तीन दिन अघि शनिबार कोरोना भाइरस संक्रमण देखा परेकोमा उनको सम्पर्कमा आएकाहरुको स्वाब परीक्षण गर्दा सोमबार थप दुईजना प्रहरीमा कोरोना पुष्टि भएको छ । ती दुवै प्रहरीको हाल प्रदेश अस्पताल सुर्खेतको कोरोना विशेष अस्पतालको आइसोलेसनमा राखेर उपचार गरिएको छ ।

हाडनाता करणीको आरोपमा यही असार १४ गते पक्राउ परेका युवाको आरडिटी परीक्षण गर्दा रिपोर्ट ‘नेगेटिभ’ आएपछि उनलाई हिरासतमा राखिएको थियो। तर हिरासतमा रहेका थुनुवाहरुको अनिवार्य पीसीआर परीक्षण गर्न अदालतको आदेश अनुसार २० गते ती युवाको स्वाब परीक्षण गर्दा रिपोर्ट ‘पोजेटिभ’ आएको थियो । तत्कालै उनलाई पनि वीरेन्द्रनगरपालीद्वार सञ्चालित आइसोलेसनमा राखेर उपचार थालिएको थियो ।

ती युवाको सम्पर्कमा आएका १४ जना प्रहरी, ६ जना थुनुवा र उनीहरुका तीनजना आफन्तको स्वाब संकलन गरी परीक्षण गरिएकोमा सोमबार बिहान दुई प्रहरीमा कोरोना पुष्टि भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी रामप्रसाद घर्तीले देशसञ्चारलाई बताए । उनका अनुसार हिरासतमै र प्रहरीमा कोरोना पुष्टि भएपछि उच्च सर्तकताका साथ काम अघि बढाइएको छ। कोरोनाका कारण काम प्रभावित त भएको छैन भन्ने प्रश्नमा डिएसपी मगरले भने,‘कोरोनाका कारण हाम्रो काम प्रभावित हुँदैन। गर्न पनि मिल्दैन तर उच्च सावधानी भने अपनाउनु पर्ने देखिएको छ।’ कार्यालयले आफ्ना हिरासतमा रहेका सबै थुनुवाहरुलाई हिरासतमा राख्नु भन्दा पहिले आरडिटी गरेको थियो ।

डीएसपी मगरका अनुसार हाल कोरोना पुष्टि भएका दुई जना प्रहरीमा कोरोनाको कुनै पनि लक्षण भने देखिएको छैन । तर दुईजना प्रहरीको सम्पर्कमा आएका ६ जना प्रहरीलाई क्वारेन्टिनमा राखिएको छ । यसअघि सुर्खेतको छिन्चुमा इन्सपेक्टरलाई कोरोना भाइरस संक्रमण देखा परेको थियो । यस्तै मेहलकुनामा एक, विद्यापुरमा दुई, बाबियाचौरमा एक जनामा कोरोना पुष्टि भएको थियो । उनीहरु पाँचैजना निको भएर काममा फर्किसकेका छन् ।

तपाईको प्रतिक्रिया