सडक निर्माणमा राज्यको ढुकुटीमाथि दोहन

हुम्ला, २९ असार ।

सिंगो कर्णाली प्रदेशका लागि बहुउपयोगी मानिएको कर्णाली करिडोर अन्तर्गत सिमकोट खार्पु खण्डको सडक निर्माणका लागि राज्यको ढुकुटी माथि चरम दोहन भएको छ । एउटै खण्डका लागि दुई डीपीआर निर्माण गरि सडक निर्माण गर्ने कार्य भैरहेकोले राज्यको ढुकुटीमा दोहन भएको हो ।

आर्थिक वर्ष ०७०÷०७१ बाट तत्कालीन जिल्ला विकास समिति अन्तर्गत ड्रिल्प प्रोजेक्टबाट कर्णाली करिडोरको सिमकोट(खार्पु खण्डको डीपीआर तयार गरि सडक निर्माण गरेर हाल आन्तरिक रुपमा सडक सञ्चालन भैरहेको छ । १० किलो मिटर लम्बाई भएको सडक निर्माण गर्न १८ करोड लागत लागेको छ । चार देखि पाँच मिटर चौढा सडकलाई सिमकोट र खार्पुनाथ गाउँपालिकाले पनि दुई वर्ष अगाडि मर्मत समेत गरेका थिए ।

उक्त खण्डको सडक निर्माण गर्दा ३० घरधुरीको नौ हजार वर्ग मिटर जमिन गएको छ । सो जग्गा न्यूनतम क्षतिपूर्ति पाएर सडकको नाममा जग्गा पास भएको हो । हाल पनि उक्त खण्डको सडक विस्तारका लागि पूर्वाधार विकास कार्यालयले चालु आर्थिक वर्षमा सडक मर्मत संहार समूह लगाएर सडक सफा गर्ने र टेण्डर आव्हान गरेर ३५ लाखमा सोही सडकको विस्तार गर्ने कार्य भैरहेको पूर्वाधार विकास कार्यालयका प्रमुख देवी ऐडीले बताए ।

कार्यालयले अब सो सडकका लागि बर्सेनि रुपमा मर्मत तथा विस्तारका लागि काम गर्नेछ । डीपीआर तयारी खर्च, सडक निर्माण र मर्मत तथा विस्तारका लागि खर्च भैरहेको सोही खण्डमा हिल्सा सिमकोट सडक आयोजनाले उक्त डीपीआरलाई नमान्ने भन्दै नयाँ र गोप्य डीपीआर सेवाग्राहीहरुलाई समेत छलफल र जानकारी नदिएर तयार गरि कार्यान्वयनमा ल्याएको सिमकोट गाउँपालिका वडा नम्बर ५ का बासिन्दा तीर्थराज रोकायाले बताए । आयोजनाले सो डीपीआरलाई कार्यान्वयन गर्न भन्दै अन्यत्रबाट सडकको लोकेशन दिएर १२ किलो मिटर लम्वाई पुर्याएको छ ।

जब कि यस अघि ड्रिल्पी कार्यक्रमबाट निर्माण गरिएको सडक १० किलो मिटर मात्र रहेको छ । उक्त सडकलाई सडक विभागले मान्यता नदिएको भन्दै आयोजनाले नयाँ डीपीआर कार्यान्वयनमा ल्याएको जनाएको छ ।

तपाईको प्रतिक्रिया