खाद्यान्न सामग्रीसहित मन्त्री बस्नेत जाजरकोटमा

सुर्खेत, २८ असार ।

जाजरकोटको बारेकोट गाउँपालिका–४ सार्कीटोलका पहिरो विस्थापितहरुलाई कर्णाली सरकारले थप राहत सामग्री पठाएको छ । वन तथा वातावरण मन्त्री शक्ति बस्नेत र कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको टोलीले आइतवार अत्यावश्वक खाद्यान्न र गैर खाद्यन्न सामग्रीहरु लिएर बारेकोट पुगेका हुन् ।

मन्त्री बस्नेतले जाजरकोट जानु अघि गरिएको पत्रकार सम्मेलनमा बाढी पहिरोले देशभर जनधनको क्षती भएको बताए । उनले जाजरकोटको बारेकोट भौगोलिक हिसावले विकट भएका कारण पहिरोको उच्च जोखिममा रहेको बताए ।

प्रदेश सरकारले चामल, त्रिपाल, कम्मल लगायतका थप सामग्रीहरु नेपाली सेनाको हेलिकोप्टरबाट पठाइएको आन्तरिक मामिला तथा कानून मन्त्रालयका सूचना अधिकारी कृष्णबहादुर रोकायाले जानकारी दिए । उनका अनुसार पहिरो विस्थापितहरुलाई तत्काल आवश्यक पर्ने राहतहरु पठाईसकिएको छ । बिहीबार राति आएको पहिरोले जाजरकोटको बारेकोट–४ सार्कीटोलका दुई घर बगाउँदा नौ जनाको मृत्यु भएको छ भने तीन जना अझै बेपत्ता छन् ।

पहिरोले गाउँ बगाउन थालेपछि बारकोटमा पाँच सयभन्दा बढी घरपरिवार विस्थापित भएका छन् । घरनजिकैबाट पहिरो जान थालेपछि बारेकोट–४ जिरीका ३२ घर, गोठगाउँका आठ घर, मैनागाउँका ५० भन्दा बढी घरपरिवार विस्थापित भएका छन् ।

तपाईको प्रतिक्रिया